नेविसंघको ‘चिनौँ सिमाना, जोगाऔँ माटो अभियान’ कैलालीमा
धनगढी, : नेपाल विद्यार्थी संघद्वारा सञ्चालित ‘चिनौँ सिमाना, जोगाऔँ माटो अभियान’ कैलालीमा पुगेको छ ।
अभियान अन्तर्गत ‘कोरौँ नेपालको वास्तविक नक्सा’ कार्यक्रम कैलालीको अत्तरियामा पुगेर समापन भएको हो । संघीय राजधानी काठमाडौँ बसन्तपुरबाट सुरु भएको अभियान कैलालीमा पुगेर समापन भएको विद्यार्थी संघले जानकारी दिएको छ ।
अत्तरिया चोकमा संघका विद्यार्थीलाई नेपालको वास्तविक नक्सा कोर्न लगाइ नक्सा समेत सार्वजनिक गरेका हुन् । अभियान समापन कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले सातओटै प्रदेशका विद्यार्थीले नेपालको वास्तविक नक्सा कोरेर राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको बताए ।
उनले नेपालमा पटक–पटक गरेको जनगणना, सर्वेक्षणले लिम्पियाधुर, लिपुलेक र कालापानी नेपालको भएको उल्लेख गरे । ‘नेपालमा मिचिएको भूमि फिर्ता नहुँदा सम्म यस्ता अभियान निरन्तर हुनुपर्ने छ । मिचिएको भूमि भारतले फिर्ता नगरे संयुक्त राष्ट्र संघमा पुर्याउने छौँ ।’