थारू बस्तीमा माघी उल्लास
धनगढी : पश्चिम नेपालका थारू समुदायमा माघी पर्वको उल्लास छाएको छ। कैलाली, कञ्चनपुरलगायतका थारू बस्तीमा माघीको रमझम सुरु भएको हो। माघ सुरु नहुँदै थारू समुदायहरू पुसलाई बिदाइ गर्न सरसामान जोहो सुरु गर्न व्यस्त रहेका छन्।
थारू बस्तीमा घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्नमा व्यस्त छन्। थारू समुदायले माघीलाई विशेष पर्वको रूपमा लिने गर्दछन्।
माघी अर्थात् संक्रान्तिको दिनमा थारू समुदायमा महत्वपूर्ण निर्णय गर्ने गर्छन्। हप्ता दिनसम्म मनाइने माघी पर्वअन्तर्गत थारू समुदायले विभिन्न क्रियाकलाप गरी मनाउने गर्छन्। नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारू समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरेको धनगढीका स्थानीय फुलराम थारूले बताए। ‘माघेसंक्रान्ति आउनुभन्दा दुई दिन अगाडिदेखि नै थारू समुदायमा माघी पर्वले छोइसकेको हुन्छ’ उनले भने।
माघ १ गते अर्थात् माघीको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ। वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ। नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको थारू पत्रकार अभिनास चौधरीको भनाइ छ। माघीमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रहिआएको उनले बताए। ‘अरू बेला सित्तैमा नुहाउने गर्दछौं। तर, माघीमा पानी किनेरमात्रै नुहाउनुपर्छ भन्ने मान्यता छ।’
माघी नुहाइसकेपछि समुदायका व्यक्तिले नदीकिनारबाटै एकआपसमा शुभकामना आदानप्रदानका साथै, ‘सेवाढोग’ लाग्ने गर्दछन्। नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नुन, बेसारजस्ता सामग्री छुने परम्परा छ। त्यसपछि घरको सबैभन्दा पुर्खालाई सबैभन्दा पहिले ढोग गर्दै आशिष थाप्ने गर्दछन्। पुर्खा, मान्यजन सबैलाई उमेरको वरीयताअनुसार सेवाढोग गर्दै माघीको खुसीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ। यसलाई ‘सेवा लग्ना’ भनिन्छ। सेवाढोगको कार्य परिवार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ।
पुसको अन्तिम दिन घरघरमा सुँगुर काट्ने चलन थारू समुदायमा छ जसलाई जिता मरना भनिने गरेको थारू अगुवा माधव चौधरीले बताए। ‘यो दिन जिता मारेर हरेक घरमा मासु परिकार खाने खानपानको दिन हो’ उनले भने। माघ १ गते आपसी वैमनश्यतालाई त्यागेर खुसीयाली साटासाट गर्ने गरेकाले यसलाई थारू समुदायमा मेलमिलापको दिनको रूपमा पनि हेरिएको छ। परिवार र छरछिमेकमा जस्तोसुकै वैमश्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ। यो दिन देवीदेवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने गरेको अधिवक्ता जोहारीलाल चौधरीको भनाइ छ।
‘ढोगभेट, सेवा सलाम लाग्दा सम्बन्धमा सुधार हुन्छ’, उनले भने, ‘कसैकसैबीच मनमुटाव छ भने हृदयदेखि नै त्यसलाई महसुस गरेर हटाउने गरिन्छ।’ माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रहिआएको छ।
माघ २ गते पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ। यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसाबको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ। यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ। यहि दिनबाट एक वर्षको लागि परिवारको घरमूली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अंशबन्डालगायतका कार्यको थालनी गर्ने गरिन्छ। यसका साथै, गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरुवा चयन गरिन्छ। यिनीहरूको कार्यअवधि एक वर्षको रहने गर्दछ।
अचेल थारू समुदायको माघी पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आए पनि यसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व भने उत्तिकै रहेको छ। माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा निसराउ भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन्।