ज्येष्ठ नागरिकलाई घरमै उपचार
धनकुटा : सहिदभूमि गाउँपालिका-१ की ८८ वर्षीया दिलजिती राई घरको आँगनमा आराम गरेर बसिरहेकी थिइन्। गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राईसहितको स्वास्थ्यकर्मीको टोली घरमै पुग्दा उनी अचम्मा परिन्। स्वास्थ्यकर्मीको टोलीले उनको निःशुल्क स्वास्थ्य परीक्षण गरे। आफ्नो स्वास्थ्यको विषयमा स्वास्थ्यकर्मीले दिएको सुझाव उनले ध्यानपूर्वक सुनिन्। गाउँपालिका अध्यक्ष राईले उनलाई जाडो छल्न भन्दै ब्ल्यांकेट उपलब्ध गराए।
दिलजितीको घरभन्दा केही तल ९० वर्षीय फत्यबहादुर राईको घर छ। काठको तख्ती र टिनको छानो भएको घरभित्र फत्यबहादुर पत्नीसँग आगो ताप्दै थिए। गाउँपालिकाको टोलीले बोलाउँदा उनी घर बाहिर निस्किए। स्वास्थ्यकर्मीले पे्रसर जाँच्दै केही औषधि दिएपछि उनी खुसी भए। जाडोले रात कटाउन हैरान भएका बेला गाउँपालिका अध्यक्षले ब्ल्यांकेट दिएपछि उनले अध्यक्षसहितको टोलीलाई आर्शीवाद नै दिए।
गाउँपालिकाले जेष्ठ नागरिकप्रति स्थानीय तहको दायित्व अन्तर्गत ८५ वर्षमाथिका नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच र औषधि वितरण गर्न थालेको छ। गाउँपालिका भित्र रहेका एकसय ७० जना जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष राइले बताए। औषधिसँगै चिसोबाट बच्न एकथान ब्ल्यांकेट पनि वितरण गरिरहेको छ।
ज्येष्ठ नागरिक बढ्दो उमेर र शारीरीक अशक्तताका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने भएकाले घरमै उपचार गर्ने चालू आर्थिक वर्षको योजनामा कार्यक्रम नै राखिएको अध्यक्ष मनोज राईले बताए। चिकित्सकसहितको टोली घर-घरमा पुग्दा जेष्ठ नागरिक खुसी भएको उनले बताए। सहिदभूमी गाउँपालिका आफैंमा भौगोलिक रूपमा विकट छ। यहाँका अधिकांश सर्वसाधारण स्वास्थ्य चौकीसम्म पुग्न सक्दैनन्।
त्यसैमाथि जेष्ठ नागरिकको शारीरिक अवस्थाले साथ नदिने भएका कारण घरमै उपचार गर्न पुगेको गाउँपालिकाले जनाएको छ। घरमा आइपुगेका गाउँपालिकाको टोलीलाई ज्येष्ठ नागरिकले आफूले विगतमा भोगेका दुःख र समाजिक क्षेत्रमा गरेको योगदानसमेत सुनाएका थिए।