थारु समुदायमा माघीको रौनक
दाङ : थारु समुदायको विशेष पर्व माघीको रौनक थारु बस्ती र समुदायमा बढेको छ । नयाँ वर्षको रुपमा समेत लिइने माघीले थारु समुदाय र वस्तीमा रौनक बढाएको हो । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारु गाउँमा यतिबेला माघीको उल्लाहस, रौनक र चहलपहल बढेको छ।
पुसको अन्तिमदेखि माघ महिनाको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गर्दछन्। थारु समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिने गरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलार्य विशेष रुपमा हेरिने गरेको थारु अगुवा तथा बुद्धिजीवि चूर्णबहादुर चौधरीले बताए ।
माघीलाई थारु समुदायमा आ-आफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको चौधरीले बताए ।
माघी आएसँगै थारुगाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ, थारु अगुवा चौधरीले भने, 'संकृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ । मुक्तिको पर्वको रुपमा पनि हेरिने माघी स्वतन्त्रताको अनुभूति गरेर धुमधामका साथ मनाउने गरिएको उनले बताए । कामबाट मुक्त भएर तथा स्वतन्त्ररुपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसको रुपमा पनि थारु समुदायले हेर्ने गरेको उनको भनाई छ ।
माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीतिथीति नयाँ अगुवा (भल्मन्स, मतहवा, बरघर) चुन्ने र नीति नियम निर्माण गर्ने पर्वको रुपमा रहेको चौधरीको भनाई छ । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लामा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ ।
गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्ष भरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाहलगायतका विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि थारु समुदायले लिने गरेको तुलसीपुर ६ मोतिपुरका थारु युवा अगुवा छोटिलाल चौधरीले बताए ।
थारु समुदायमा विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको प्रभाव देखिने गर्दछ । अहिले थारु गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा संकलन, पिसान कुटान, रंगरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका अन्य प्रकार निमार्ण भइरहेका छन् । माघीकै अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवको समेत आयोजन भएका छन् । मुख्य गरेर दाङको रिहार, बाह्रकुने लगायतका बराह क्षेत्रमा माघी विशेष मेला सञ्चालन हुँदै आएको छ ।
गाउँभरिका मानिस एकठाउँमा जम्मा भएर आगो बाली रातभर आगो तापेर रमाइलो गर्दछन् । राती आगो ताप्ने, भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्दछन् । नुहाएर आफूभन्दा ठूलासँग आशिर्वाद लिने र सानालाई स्नेह गर्ने चलन रहेको छ । २ गते भेला बोलाएर अगुवा छान्ने र नीति नियम बनाउने चलन छ ।
त्यसपछि केहि दिन नाचगान गरेर पर्व मनाउने चलन रहेको छ । माघीकै अवसरमा नाचिने माघी नाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाचलाई नयाँ नीतिका साथ गाउँगाउँमा गरिन्छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा समेत उठाउने चलन रहेको थारु मतहवा बुदिराम चौधरीले बताए । समुदाउमा युवा युवती माघी खेल्ने गरेका छन्।