स्थायी बन्ध्याकरणको पासोमा महिला
झापा : उमेर ठ्याक्कै कति भयो उनलाई थाहा छैन । बच्चा भने ४ जना छन् । शारीरिक रूपमा एकदमै कमजोर देखिने नासिफा घरमा बच्चा स्याहार्ने, घर लिपपोत गर्ने घाँसदाउरा जोहो गर्ने काम गर्छिन् । फुसको घर छ । एक दिन पोतेन भने कमिलाले सबै माटो बोक्छ । ४ जना छोराछोरी १ वर्ष फरकका छन् । १ छोरा ३ छोरी छन् । नासिफा भन्छिन्, ‘बेटाको लागि ३ वटा बेटी जन्मियो ।’ पछिल्ला छोराछोरी जन्मिँदा रगत बढी गयो । परिवारले घरमै जन्मिएला भन्ने आसमा ढिला मात्र बनियानी स्वास्थ्य केन्द्रमा पुर्याए ।
झापा कचनकवलकी नासिफाले श्रीमान्लाई अस्थायी साधन प्रयोग गर्न प्रस्ताव राख्न पनि सकिनन् । ‘हाम्रो धर्मले दिँदैन । प्रयोग गरे पनि हामी श्रीमतीहरूले नै अस्थायी साधन प्रयोग गर्ने गरेका छौँ’, उनले भनिन् ।
अस्थायी साधनले उनलाई स्वास्थ्यमा त्यति राम्रो नगरेपछि हाल उनी परिवार नियोजन संघ झापाले आयोजना गरेको शिविरमा स्थायी बन्ध्याकरण गरेकी छन् ।
ठूला २ वटा बच्चा घरमै र सानी छोरी डेढ वर्ष र अर्को कान्छो छोरा ७ महिनाको अर्को नानी काखमा लिएकी उनकी आमा रमिया खातुन नासिफाको छेउमा थिइन् । नासिफा अर्धहोसमा बोल्दै थिइन् । २ वटा साना बच्चा अर्धहोसमा बोलेकी आमासँग टाँसिरहेका थिए । ‘बच्चा जन्माउँदा धेरै दुःख पाई छोरीले, कमजोरी छ’, आमा रमियाले भनिन्, ‘ज्वाइँ अटो चलाउँछन् । काम नगरी खान पुग्दैन ।’
त्यत्तिकैमा नासिफाका पति आफ्ताफ आउँछन् । ‘के गर्नु कमजोरी छ । मैले त २ वटा छोरीमै चित्त बुझाएको थिएँ, बुबा–आमा मान्नु भएन । अरू बच्चा जन्माउने क्रममा नासिफा कमजोर भइन्,’ आफ्ताफ भन्छन्, ‘हाम्रो समाजमा छोरा मान्छेलाई अप्रेसन गर्न दिइँदैन ।’
झापाका अधिकांश आदिवासी समाजमा पुरुषले स्थायी बन्ध्याकरण गर्दैनन् । झापाको दक्षिण भेगका अधिकांश आदिवासी समाजमा मुस्लिम बस्ती, राजवंशी समुदाय र सन्थाल बस्तीका पुरुषले स्थायी बन्ध्याकरण गर्ने जिम्मा श्रीमतीलाई नै दिएका हुन्छन् ।
कचनकवल गाउँपालिका–६ की स्वास्थ्य स्वयंसेविका मीरा घिमिरे नेपाल भन्छिन्, ‘घर छेउमा राजवंशी बस्ती छ । उक्त बस्तीबाट अस्थायी परिवार नियोजनका साधन महिला आफैं स्वास्थ्य केन्द्रमा गएर लगाउने गर्छन् ।’
स्थायी बन्ध्याकरण गर्न श्रीमान् र परिवारको सल्लाहमा श्रीमतीले नै गर्नुपर्ने उनले बताइन् । उनका अनुसार सामान्यतया घरबाहिर पैसा कमाउन जाने श्रीमान् नै भएको हुनाले उनीहरूलाई गाह्रो भयो भने घरमा आउने रासन पानी बन्द हुन्छ । बरु श्रीमती आफैंले कष्ट सहने प्रचलन छ ।
नेपाल भन्छिन्, ‘गाउँमा घरमा बस्ने श्रीमतीको कामको मूल्यांकन नै हुँदैन । उनीहरूलाई पनि गाह्रो हुन्छ । घरको काम गरेर थाक्छन् भन्ने पुरुषको सोचाइ नै हुँदैन ।’
भद्रपुर नगरपालिका–३ की पूर्णिका राजवंशीका ३ वटा बच्चा भए । बच्चा पुग्यो भन्ने भएपछि श्रीमान्ले उनलाई अब स्थायी परिवार नियोजन गरौँ भनेर सल्लाह गरे । प्रश्न उठ्यो, कसले गर्ने ?
पूर्णिकाका ३ वटै २ वटा जुम्ल्याहा र १ बच्चा अप्रेसन गरेर जन्मिएका थिए । वैदेशिक रोजगारीमा गएका श्रीमान्ले म अप्रेसन गर्छु भन्छन् कि भन्ने उनलाई झिनो आशा थियो । तर, उनले नै स्थायी बन्ध्याकरण गर्नुपर्यो ।
त्यस्तै, १५ दिनअघि मात्र स्थायी बन्ध्याकरण गरेकी सीमाका श्रीमान् अटो गाडी चलाउँछन् । सीमा भन्छिन्, ‘अब बच्चा पुगे, । श्रीमान्लाई कामको लोड बढी छ, कमजोरी हुनुहुन्छ त्यसैले म आफैंले स्थायी बन्ध्याकरण गरेँ ।’
मुस्लिम समुदायमा भने केही हदसम्म धर्मको पनि कुरा होला । झापाको बनियानी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी बन्ध्याकरणको शिविरमा करिब डेढ सय महिला आएकामा उक्त संख्यामध्ये १ जना पनि पुरुष नआएको नेपाल परिवार नियोजन संघ झापाकी प्रमुख सुजन काफ्लेले बताइन् ।
काफ्लेले भनिन्, ‘दक्षिण भेगका मुस्लिम र जनजाति समुदायमा यो समस्या पहिला पनि थियो । प्रविधिले यति फड्को मार्दा पनि उक्त समस्या ज्युँका त्युँ छ ।’