सेताम्मे हिउँमा थकाली संस्कृति
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा २ साताअघि भारी हिमपात भयो। हिमपातले मुस्ताङका डाँडाकाँढा सेताम्मे बने। हिउँ परेसँगै मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका युवायुवती हिउँ खेल्न बस्ती नजिकैको पाखोमा एकत्रित भए।
मुस्ताङमा हिउँ पर्नु अस्वभाविक होइन तर हिउँ पर्दा स्थानीयको उत्साह बेग्लै हुन्छ। घरपझोङ–५ ठिनी युवा र युवतीले केही फरक तरिकाले हिउँको मज्जा लिएका छन्। झन्डै १ सय घरधुरी रहेको ठिनी गाउँमा अधिकांश थकाली बस्ती छ। उनीहरूले थकाली कला संस्कृतिलाई हिउँसँग जोड्ने काम गरेका छन्। थकाली संस्कृतिको पहिचानलाई जिवन्तता प्रदान गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउन उनीहरुले थकाली पहिरनमा नै फोटो खिचाएका छन्।
ठिनी थकाली होमस्टेकी सदस्य जुमा थकालीले हिउँमाथि थकाली सभ्यताको पहिचान उजागर गर्न थकाली पोशाकमै फोटो खिचेको बताइन्। थकाली संस्कृति रहनसहन लगायतको जानकारी लिन ठिनी गाउँ उपयुक्त भएको उनको बुझाइ छ।
ठिनी गाउँ थकाली समुदायको उद्गम स्थल मानिन्छ। ठिनीमा थकाली समुदायका १३ घरधुरीले होमस्टे चलाएका छन्। उनीहरुले होमस्टेमा आएका पर्यटकलाई मौलिक थकाली कला संस्कृति पस्कने गर्छन् भने थकाली परिकारसमेत पर्यटकलाई पस्किएर पर्यटकको मन जित्ने गरेका छन्।
हिमाली रैथाने अर्गानिक खानाका परिकारहरु फापरको ढिडो, उवाको सातु, तिब्बतीयन चिया, फापरको, याक चौरी र भेडाच्याङ्ग्राका मासु, उवा र स्याउको रक्सी लगायतका परिकार होमस्टेको मुख्य विशेषता हो। ठिनीमा थकाली ऐतिहासिक संग्रालय, गुम्बा र स्नो लियोपार्ट र तालतलैया छन्। थकाली होमस्टे प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारलेसमेत आर्थिक सहयोग गरेको छ। पछिल्लो समय ठिनी गाउँ नजिकैको ढुम्बाताल पर्यटकको रोजाइ बनेको छ।