पाटीमा सिमीको पातले लेख्थेँ

पाटीमा सिमीको पातले लेख्थेँ

भाइबहिनीहरू, मेरो नाम यश कुमार हो। तिमीहरूले मेरो गीत सुनेका होलाऊ। कसैकसैले त मेरो फिल्म पनि हेरेका छौ नि ? आज म तिमीहरूलाई मेरो बाल्यकालको संघर्षबारे बताउँछु है।

मेरो जन्म २०३५ सालमा सर्लाहीको बागमती भन्ने ठाउँमा भएको हो। मेरो पाँच दाजुभाइ हुनुहुन्छ। भाइबहिनीहरू मेरो बाल्यकाल पनि तिमीहरूको जस्तै रमाइलो थियो। सानोमा घर नजिकैको बागमती नदीमा साथीहरूसँगै पौडी खेल्न जान्थेँ। दर्शन गर्न आउने मानिसले चढाएको पैसाले आइसक्रिम किनेर खान्थेँ।

भाइबहिनी हो, तिमीहरू स्कुल जाँदा कापी र पेन्सिल बोक्छौ। तर, म सानोमा पाटी बोक्थेँ। गाउँमा बुवाले मलाई सिमलको काठबाट पाटी बनाइदिनुभएको थियो। सिमीको पातले मैले पाटीमा लेख्थें। स्कुल जाँदा सिमीको पात खल्तीमा राखेर जान्थेँ। किनकि सिमीको पातले लेखेपछि मेट्न सजिलो हुन्थ्यो। पाटीको माथि डोरी झुन्ड्याइएको हुन्थ्यो। पाटी पनि लगभग दुई केजीको हुन्थ्यो। म सानो मान्छेले दुई केजीको पाटी बोक्न धेरै गाह्रो हुन्थ्यो। मैले गाउँको स्कुलमा एक कक्षासम्म मात्र पढेको सम्झना छ।

गाउँमा हुँदा रेडियो सुन्थेँ। रेडियोमा आउने गीतसंगीतले मलाई तानिरहेको थियो। हिरो र चर्चित व्यक्ति हुनलाई सहर नै पस्नुपर्छ भन्ने लाग्थ्यो। फिल्मको हिरो देख्दा मलाई पनि हिरो नै बन्छु भन्ने लाग्थ्यो। फिल्ममा हिरोले गर्ने क्रियाकलाप देख्दा आनन्द आउँथ्यो।

सर्लाहीमा हाम्रो धेरै जग्गा थियो। २०४३ सालमा बागमतीमा बाढी आयो। त्यो बाढीले हाम्रो सबै जमिन बगाइदियो। त्यसपछि हामी सडकमा आइपुग्यौं। लाखौंको सम्पत्ति भएका हामीसँग त्यसपछि कौडी पनि बाँकी रहेन। १० वर्षको उमेरसम्म मात्र हामी त्यहाँ बस्यौं।

एकदिन मेरो साथी र म जंगलमा भैंसी चराउन गएका थियौं। खेलको सुरमा भैंसी हराएको हामीलाई पत्तो नै भएन। अब घर गए आमाबुवाले मार्छन् भन्ने हामीलाई लाग्यो। अनि काठमाडौं जाने भनेर भाग्यौं। त्यतिबेला बुवाको कोटबाट १६ रुपैयाँ पैसा चोरेको थिएँ। चन्द्रनिगाहापुरमा आयौं। त्यहाँ आउँदासम्म पैसा सकियो। भोक लागिरहेको थियो र काठमाडौं पनि जानु नै थियो। हामी होटल मालिकसँग भाडा माझ्छौं तपाईले हामीलाई खान दिनुहोस् भनेर सल्लाह गर्‍यौं। घरबाट हामी भागेको थाहा पाएछन्। पछि हाम्रो परिवारले हामीलाई चन्द्रनिगाहापुरमा खोज्दै आए र हामीलाई समाएर घर लगे।

पछि घर फिर्ता लगेपछि मेरो बुवाले गाउँमा बसेर प्रगति हुँदैन भन्ने अनुभव गर्नुभयोे। हामी त्यतिबेलासम्म गरिब भइसकेका थियौं। दाइहरू आआफ्नो कामतिर लागिसक्नु भएको थियो। अनि हामी काठमाडौं आइपुग्यौं।

मेरो माइला दाइ काठमाडौंमा बसेर संघर्ष गर्दै हुनुहुन्थ्यो। हामी सबैजना दाइकोमा आइपुग्यौं। हामी थपिएपछि दाइलाई गाह्रो भयो। त्यसपछि हामी आफ्नै तरिकाले गुह्येश्वरी पारीको कुमारी गाउँमा बस्न थाल्यौं। पशुपतिमा बाबा वाटिका भन्ने स्कुल थियो। त्यो स्कुलमा बुवाले मलाई भर्ना गरिदिनुभयो। त्यहाँको स्कुलमा म फ्रिमा पढ्थेँ। त्यहीँबाट काठमाडौंको मेरो पढाइ सुरु भयो।

त्यहाँ चार कक्षासम्म पढेँ। त्यसपछि शारदा माध्यमिक विद्यालयमा भर्ना भएँ। एकदिन म पर्खालमा चढेर हनुमानको मूर्तिमा ढोग्न प्रयास गर्दै थिएँ। पछाडिबाट एक जना मानिसले मलाई उचाले। उनले उचालेपछि म हनुमानको मूर्ति छुन सफल भएँ। पछाडि फर्केर हेरको त भारतीय हिरो अमिताभ बच्चन पो रहेछन्। उनलाई देखेर म छक्क परेँ। उनी नबोली पशुपति मन्दिर भित्र छिरे। म त्यतिबेला उनका अलिअलि फिल्म हेर्थेँं।

शारदा माविमा १० कक्षासम्म पढेँ। हाम्रो आर्थिक अवस्था कमजोर भएकोले १० कक्षापछि स्कुल जान पाइन। त्यसपछि हामी त्रिपुरेश्वरको सुकुमबासी बस्तीमा बस्न थाल्यौं। सुरुमा हिरो बन्न काठमाडौं जानुपर्छ भन्ने थियो। अब यहाँको गरिबीले मेरो दिमागमा हिरो भन्ने कुरा पूर्ण रूपमा हटिसकेको थियो। काठमाडौं भनेको सपनाको खेती गर्ने ठाउँ थियो। जहाँ अभाव छ त्यहाँ सपना सबै ओझेल पर्छन् भन्ने मैले बुझिसकेको थिएँ। मलाई कसरी हुन्छ पैसा कमाउने र दुई छाक पेटभरि खाने भन्ने ध्यान भयो।

तर, जतिसुकै अप्ठ्यारो भए पनि गुनगुनाउन भने छाडिन्। मैले प्रेसमा काम गर्न थालेँ। एसएलसीको प्रश्नहरू कस्तो हुने रहेछ भनेर मैले प्रेसमै देखेको थिएँ। भोक लाग्दा पनि खाजा खान पैसा हँुदैनथ्यो। मलाई सानैमा यो बन्नुपर्छ त्यो बन्नुपर्छ भन्ने करकाप भएन। किनकि धनी परिबारमा पो डाक्टर बन्ने इन्जिनियर बन्ने भन्ने हुन्छ। गरिबीमा त दैनिक छाक कसरी टार्ने भन्ने सोच्नुपथ्र्याे।

म दुई चार दिन घर जाँदैनथेँ। म हराएपछि घर जाँदा आमाको हातमा पैसा राखिदिन्थेँ। आमाले त्यो पैसाले दैनिक आवश्यकता पूरा गर्न राहत मिल्थ्यो। आमाको आवश्यकताको अगाडि मेरो दैनिक घर नजाने बानीमा पनि प्रश्न उठ्दैनथ्यो।

काम गर्दैगर्दा म गुनगुनाउँथे। बाँसुरी बजाउँथे। त्यसरी मेरो सांगीतिक यात्रा सुरु भएको रहेछ। त्यो कुरा मैले पछि मात्र बुझेँ। त्यसैले भाइबहिनीहरू दुःखमा आत्तिनु हँुदैन। आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्नुपर्छ। त्यसपछि एकदिन आफ्नो लक्ष्यमा अवश्य पुगिन्छ।

(गायक कुमारसँग सुनिता न्यौपानेले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.