जन्ती बोकेको जिप दुर्घटना, दुलाहा दुलहीसहित १४ घाइते
सिन्धुली : सिन्धुलीमा दुलाह दुलही सहित जन्ती सवार जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । ५ जनाको अवस्था गम्भीर रहेको छ ।
बिहीबार जिल्लाको मरिण गाउँपालिका १ कटुन्जेबाट जन्ती लिएर हरिहरपुरगढी गाउँपालिकाको तामाजोरतर्फ जाँदै गरेको ना १ च १८६० नम्बरको रोयल कात्तिके यातायातको जिप हरिहरपुरगढी गाउँपालिका ५ को सिदुरगाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुलहा र दुलही सहित १४ जना घाइते भएको र ५ जनाको अवस्था गम्भीर रहेको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।
गम्भीर घाइते हुनेमा योगेश एस्माली, सानु खपाङ्गी, दिलबहादुर पुलामी, रुपेश मगर र एकबहादुर पुलामी रहेका छन् । ‘उनीहरूको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली सदरमुकामतर्फ पठाउने तयारी भएको छ,’ अध्यक्ष बम्जनले भने ।
दुलहा राजकुमार रखाल र दुलहीसहित अन्य घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुलहा रखाल र दुलहीको भने अवस्था सामान्य रहेको बम्जनको भनाइ छ ।
दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली र स्थानीयले उद्धार गरेका थिए । दुर्घटना के कति कारणले भएको भन्ने एकिन नभएपछि प्रहरीले अनुशन्धान थालेको जनाएको छ ।