टेकोमुनि भूकम्प सुरक्षा दिवस

टेकोमुनि भूकम्प सुरक्षा दिवस

भक्तपुर : भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालयको भवन अझै टेकोमा अडिएको छ। भूकम्पले क्षति पुर्‍याएपछि भवनमा टेको लगाइएको हो।

उक्त भवन मल्लकालीन सिंहध्वाका दरबार हो। १९९० सालको भूकम्पमा पनि उक्त दरबार भत्किएको थियो। भूकम्पपछि पुनर्निर्माण गरिएको उक्त दरबार चार वर्षअघिको भूकम्पले पनि क्षति पुर्‍याएपछि टेकोले अड्याइएको हो।

भूकम्प आएको चार वर्षपछि बिहीबार त्यही दरबारमा लगाइएको टेकोमुनि राष्ट्रिय भूकम्प दिवस मनाइएको छ। २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह बिहीबार भक्तपुर दरबार क्षेत्रस्थित सिंहध्वाका दरबारको टेकोमुनि आयोजना गरिएको हो।

गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रम चल्दै गर्दा सहभागी सर्वसाधारण सिंहध्वाका दरबारमा लगाइएको टेकोमुनि निर्धक्क बसिरहेका थिए। कार्यक्रममै भूकम्प आउँदा सुरक्षित हुने विधि ‘घुँडा टेकी गुडुल्की, ओत लागी समात’ प्रदर्शन गरिएको थियो।

पुरातत्व विभाग र भक्तपुर नगरपालिकाबीच कुरा नमिल्दा उक्त दरबार टेकोमै अडिएको हो। विभागले उक्त दरबार पुनर्निर्माणका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेर ठेकेदारसमेत छनोट गरिसकेको थियो। विभागले दरबारको पश्चिमी र भक्तपुर नपाले पूर्वीभाग पुनर्निर्माण गर्ने सहमति गरेका थिए। भक्तपुर नपाले आफ्नो जिम्मामा परेको पूर्वीभाग मल्लकालीन शैलीमै बनाउने भने पनि पश्चिमी भागको पुनर्निर्माण रोकिएको छ। दरबारको पूर्वीभाग १९९० को भूकम्पपछि पुनर्निर्माण गर्ने क्रममा युरोपेली शैलीमा निर्माण गरिएको थियो। पश्चिमी भाग भने मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको थियो।

भक्तपुर नपाले पश्चिमी भागको पुनर्निर्माण ठेक्कामा नदिई उक्त रकम आफ्नो खातामा राख्न जोड दिएपछि उक्त दरबारको टेको हट्न नपाएको हो। भक्तपुर नपाले भने बजेट अभावको कारण आफ्नो जिम्मामा परेको पूर्वीभाग पुनर्निर्माण गर्न नसकेको बताउँदै आएको छ।

कमजोर संरचनाले बढी क्षति

२२आंै भूकम्प सुरक्षा दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कमजोर निर्माणको कारण नै भूकम्पमा बढीभन्दा बढी क्षति हुने गरेको बताए।

उनले विगतका भूकम्पको सिकाइबाट आत्मसमीक्षा गर्दै सुरक्षित निर्माण अबको आवश्यकता भएको स्पष्ट पारे।

‘विपद् व्यवस्थापन नीति, ऐन, नियम, कार्यविधि लागू भइसकेको छ। स्थानीय तह सञ्चालन ऐनमा समेत विपद् व्यवस्थापनबारे स्पष्ट गरिसकेको छ’, गृहमन्त्री थापाले भने, ‘त्यसैले स्थानीय तहले भूकम्प प्रतिरोधात्मक संरचना र उत्थानशील समाज निर्माणमा विशेष ध्यान दिनुपर्छ।’

विपद्ले कुल गार्हस्थ उत्पादनमा १.५ प्रतिशत नोक्सानी गरिरहेको उनले बताए।

गृहमन्त्री थापाले भूकम्पपछिको पुनर्निर्माण करिब ७५ प्रतिशत सकिएको जानकारी दिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पबाट सुरक्षित घरको सुनिश्चित गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए।

उनले आफ्नो क्षेत्रभित्र बनेका संरचना अनुगमन गर्न स्थानीय तहलाई आग्रह गरे। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारी दुवै आवश्यक भएको बताए।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या विपद्को हिसाबले चुनौतीपूर्ण भएको बताए।

गुणस्तरीय एवं भूकम्प प्रतिरोधी निर्माणका लागि तीन तहका सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाइ थियो।

भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक भक्तपुर नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरले उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण गर्दै आएको जानकारी दिए। भक्तपुर दरबार क्षेत्रमा भएको मूल समारोहअघि भक्तपुरका दुई ठाउँबाट छुट्टाछुट्टै र्‍याली निकालिएको थियो। र्‍यालीमा सुरक्षाकर्मीको सांगीतिक ब्यान्ड, स्थानीय बाजागाजा टोलीको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.