हिउँ पर्ने याममा वर्षा
जोमसोम : हिउँ पर्ने मुस्ताङमा बिहीबार वर्षा भएको छ। बर्सेनि हिउँदयामको पुस र माघ महिना सधैँजसो हिमपात भइरहने मुस्ताङमा यसपटक हिउँ पर्न छाडी वर्षा भएको हो। यसअघि जारी सिजनको दुई पटक हिमपात भएको थियो।
बिहीबार हिउँ नपरी पानीको वर्षा भएको देखेपछि स्थानीय अचम्भित भएका छन्। मुस्ताङमा बिहानैदेखि निरन्तर आंशिक वर्षा भइरहेकाले जाडोसमेत अत्यधिक बढेको छ भने मौसम खराब छ।
जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बर्सेनि वृद्धि भइरहेकाले मौसमसमेत असमान हुँदै गएको जोमसोमका स्थानीय बताउँछन्। यसअघि हिउँदयाममा कहिल्यै वर्षा भएको नदेखेका नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले हिउँ पर्ने समयमा वर्षा हुनु हिमाली क्षेत्रका बासिन्दालाई शुभ–संकेत नभएको प्रतिक्रिया दिए। १० वर्षअघि यही समयमा भारी हिमपात भएको स्मरणः गर्दै नागरिक समाजका अगुवा थकालीले पछिल्ला वर्षमा असमान प्रकारको हिमपात हुने गरेको उल्लेख गरे। जलवायु परिवर्तनका कारण जमिनको तापक्रम बढेकाले मौसमसमेत स्थिर नभएको उनको बुझाइ छ।
यस्तै, जोमसोम खानेपानी उपभोक्ता समितिका अध्यक्ष भीषण थकालीले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रलाई परेको उल्लेख गरे। उनले जोमसोम बजारलाई खानेपानीको पहुँच पुर्याउन एउटै मुहानले पुग्ने गरेकामा पछिल्लो समय खानेपानीको स्रोत घटेकाले थप मुहानको स्रोत जुटाउनुपरेको जानकारी दिए। उनले हिमपात भए मुस्ताङको कृषि र पर्यटन क्षेत्रलाई योगदान पुग्ने भए पनि हिउँ पर्ने मौसममा पानी परेकाले पुराना घरमा जोखिम बढेको बताए।
विश्वमै बढ्दै गएको कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रभाव बढेको हो। गत वर्ष उपल्लो मुस्ताङको उत्तरी सीमावर्ती गाउँमा असमान हिमपात हुँदा सयांै संख्यामा याक, चौंरी, भेडा–च्याङ्ग्रालगायत पशु चौपाया मरेका थिए। यस्तै जारी सिजनमा उपल्लो मुस्ताङको भन्दा तल्लो मुस्ताङमा बढी हिमपात भएको हो। अग्लो उचाइमा कम र कम उचाइमा बढी हिमपात हुनु जलवायु परिवर्तनको असर भएको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालको भनाइ छ। पछिल्लो समय हिमाल फुस्रा देखिन थालेको उल्लेख गर्दै एक्याप प्रमुख दाहालले हिउँ पर्ने समयमा पनि हिमालको आकषण अझै वृद्धि हुन नसकेको स्पष्ट पारे।