वन मास्दा मुद्दा

वन मास्दा मुद्दा

मकवानपुर/सिन्धुली : मकवानपुरका दुई दर्जन सामुदायिक वनका पदाधिकारीसँगै तत्कालीन जिल्ला वन अधिकृत (डीएफओ)सहित १० कर्मचारी अदालत र अख्तियार धाइरहेका छन्।

बकैया गाउँपालिका–८ स्थित देउती खोला सामुदायिक वन उपभोक्ता समितिका १३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। डिभिजन वन कार्यालय र सरकारी वकिल कार्यालयले ८ हजार ९ सय ५५ क्युफिट सालको काठ अवैध ढंगले कटान गरी नोक्सानी गरेको भन्दै बिगोबमोजिमको सजाय माग गरेका छन्। बागमती–९ स्थित अमलेचौर सामुदायिक वन उपभोक्ता समितिका १२ जनाविरुद्ध पनि सालको जंगल फँडानी गरेको आरोपमा जिल्ला अदालतमै मुद्दा चलिरहेको छ। वनसम्बन्धी सातवटा मुद्दा बहसका क्रममा रहेको स्रेस्तेदार केशव कौशिकले बताए।

उनका अनुसार चालू आर्थिक वर्षमै वनसम्बन्धी नौ मुद्दा अदालतले फैसला गरेको छ। यी मुद्दामा दुई दर्जनभन्दा बढी वन उपभोक्तासहितका पदाधिकारी र सदस्यले जेल सजाय र जरिवाना व्यहोरेका छन्। डिभिजन वन कार्यालय मकवानपुरले चालू आवमा हालसम्म नौ मुद्दा दायर गरेको डिभिजन प्रमुख इमनाथ पौडेलले बताए।मकवानपुरको बकैया गाउँपालिका–११ स्थित गमलटार सामुदायिक वनभित्र एक वर्षअघि काटिएको सालका काँचा रूख।

सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीसँग मिलेर स्वीकृत कार्ययोजना तथा निर्णयविपरीत तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेलगायतले तहरिया साल र अस्ना जातका रूख कटान गरी ९ हजार १ सय ७८ क्युफिट काठमा नोक्सानी गरेको अख्तियारको दाबी छ। उक्त दाबीसहित आयोगले गत पुस २७ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अख्तियारको आरोपपत्रमा तत्कालीन वन अधिकृत न्यौपाने, सहायक वन अधिकृत रामबाबु यादव, राजेन्द्रमान भण्डारी (अवकाशप्राप्त)सहित १० कर्मचारी र उपभोक्ता समितिका तीन पदाधिकारीसँग १ करोड ५२ लाख बिगो असुल्नुपर्ने माग दाबी गरिएको छ।

सिन्धुलीमा २० हजार हेक्टर वन विनाश

सिन्धुलीमा सामुदायिक र सरकारी वन अतिक्रण बढ्दो छ। डिभिजन वन कार्यालयहरूको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजनाअनुसार २० हजार हेक्टरभन्दा बढी वन क्षेत्र काठ तस्कर र सुकुम्बासीका नाममा भूमाफियाले अतिक्रमण गरेका छन्। अतिक्रमित वनमध्ये झन्डै ८ हजार हेक्टमा बस्ती विकास भएको छ।

रानीवास, हर्षाही, टाँडी, निपाने, दुधौली, कल्पवृक्ष, पीपलमाढीलगायत क्षेत्रमा सबैभन्दा बढी वन अतिक्रमण भएको कार्यालयले जनाएको छ। यी क्षेत्रमा मात्र ७ हजार ७ सय ४५.४५ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले बताए। वन अतिक्रमण गरी १४ हजार ५ सय १२ घरधुरीले बस्ती बसालेको कार्यालयको अनुमान छ।

गरिब तथा सुकुम्बासीका नाममा २०५० यता वन अतिक्रमण भएको पाइन्छ। ‘पछिल्लो समय पनि काठ तस्कर र भूमाफियाले वन फँडानी गर्ने क्रम बढेको छ’, उनले भने, ‘हामीले देखेसम्म र गुनासो आएसम्म रोक्ने प्रयास गरिरहेका छौं।’ यसबाहेक बिघौं बिघा जग्गाजमिन भएका सामुदायिक वनकै पदाधिकारीसमेत वन अतिक्रमण गर्न उद्यत भएको पाइन्छ।

साबिक पीपलमाढीमा ४ सय ४८.२८, टाँडीमा ५ सय ५५, कल्पवृक्षमा ३ सय २०.६९, हर्षाहीमा २ सय ६०, रानीवासमा १ सय ७८ तथा निपाने गाविसमा १ सय ७९ हेक्टर वन अतिक्रमण भएको अनुमान छ। २०५० सालसम्म जिल्लामा वनको कुल क्षेत्रफल १ लाख ६० हजार १ सय ९१ हेक्टर थियो। पछिल्लो समय वन फँडानी बढेपछि १ लाख ४० हजार हेक्टरमा झरेको डिभिजन वन कार्यालयको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.