शिशु मृत्यु प्रकरण : छानबिन समितिको निष्कर्ष अस्पतालको चरम लापरबाही
सिरहा : सिरहाको लहान नगरपालिका-३ स्थित सप्तऋषि अस्पतालमा एकैरातमा ३ शिशुको मृत्यु भएकोमा ति शिशुको उपचारमा संलग्न चिकित्सकको चरम लापरबाही देखिएको छ। स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिको निष्कर्षमा डाक्टरको लापरबाहीबाट शिशुले ज्यान गुमाउनु परेको उल्लेख छ।
गत पुस १८ गते शुक्रबार राति अस्पतालमा प्रसूतिका लागि पुगेका सप्तरीको बलानबिहुल गाउँपालिका-३ दुधौलाकी संगीता साह, सिरहाको औरही गाउँपालिका-१ दरहियाकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका-३ दिनाजपुरकी जानकी यादवले चिकित्सकको लापरबाहीका कारण आ-आफ्ना सन्तान गुमाएका थिए।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ। घटनापछि अस्पतालका प्रमुख चिकित्सक पशुपति चौधरीले डाक्टर सुनिल बिराजी अस्पतालमा कार्यरत नरहेको दाबी गरेका थिए। तर, समितिले उनी अस्पतालमै कार्यरत रहेको प्रमाण फेला पारेको छ।
शल्यक्रियामा संलग्न डा. बिराजीले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नगरेको छानबिनमा खुलेको छ। अस्पतालले डा. रञ्जिता जयसवालले शल्यक्रिया गरेको दाबी गर्दै आएको थियो। उनी पुस १८ गते बिदामा थिइन्। उनले अर्को दिन आएर फाइलमा हस्ताक्षर गरेको तथ्य समितिले फेला पारेको छ। अस्पताल प्रमुख डा. चौधरीसँग सम्पर्क गर्न खोज्दा उनको फोन छोरा डा. सुभाषले उठाए। उनले बुुवा काम विशेषले भारत गएको बताए। घटनाबारे जानकारी गराउन असपतालले विज्ञप्ति जारी गर्ने उनको भनाइ छ। सुभाष पनि सोही अस्पतालमा कार्यरत छन्।
प्रजिअ अधिकारीले शिशु मृत्यु प्रकरणमा सप्तऋषिको लापरबाही देखिएको बताए। ‘छानबिन समितिको प्रतिवेदनले उपचारमा संलग्न डा. सुनिल बिराजीको लापरबाही देखिएको छ,’ उनले भने, ‘डा. बिराजीले मेडिकल काउन्सिलको जाँच पास नगरेको पनि खुलेको छ।’ अयोग्यले उपचार गरेको पाइएकाले सरकारी वकिलसँग सल्लाह गरी कारबाही थाल्न सिफारिस गरिएको उनले बताए। अयोग्य चिकित्सकलाई काममा लगाउने अस्पताललाई पनि कारबाही गरिने उनले बताए।
पीडित पक्षले कारबाही र क्षतिपूर्ति माग्दै इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएका थिए। घटनाको २ साता बिते पनि अझै प्रहरीले जाहेरी दर्ता गरेको छैन। ‘प्रजिअबाट कारबाहीको सिफारिससहित प्रतिवेदन प्राप्त भएको छ,’ डीएसपी शरत थापा क्षेत्रीले भने, ‘सोमबार सरकारी वकिलसँग राय लिई जाहेरी दर्ता गर्छौं।’ छानबिन सुरु भएपछि डा. बिराजी फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।