हिउँमा चिप्लिएर घाइते गुरुङको उद्दार
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका २ ढाक्मर निवारी एक वृद्धको आइतबार हेली मार्फत उद्दार भएको छ । आफ्नै घर छेउमा हिउँको थुप्रोमा चिप्लिएर घाइते भएका ७७ वर्षीय खेटुक गुरुङको प्रदेश सांसद इन्द्रधारा बिष्ट र स्थानीय प्रशासनको समन्वयमा हेलीबाट उद्दार भएको हो ।
डाइनेष्टि एयरको हेलीले घाइते गुरुङलाई उद्दार गरी बिहान ११ बजे पोखरा ल्याएकोमा थप उपाचारका लागि काठमाडौं लगिएको प्रदेश सभा सदस्य इन्द्रधारा बिष्टले जानकारी दिए।
बिष्टका अनुसार नियमित पशु चौपायालाई खुराक दिन जाने क्रममा गुरुङ हिउँमा लडेर घाइते भएका थिए ।उपल्लो मुस्ताङमा हेली उडानका लागि गृह मन्त्रालयको प्रवेशआज्ञा चाहिने गर्छ । निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ उडानका लागि स्थानीय प्रशासनको सहयोगमा घाइतेको उद्दार भएको मुस्ताङ पुगेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।
उपल्लो मुस्ताङमा बिहीबार रातीदेखि भारी हिमपात भइरहेको छ । हिमपातका कारण उपल्लो मुस्ताङमा १ महिना अघिदेखि सडक अवरुद्ध भएकाले बिरामी उद्दार कठिनाइ भएको छ।