बाँदर धपाउन गुलेलीको भर

बाँदर धपाउन गुलेलीको भर

भद्रपुर : घरतिर आउँदै गरेको बाँदरको झुन्डलाई गुलेलीले ताक्दै थिए, मेचीनगर–८ का ८० वर्षीय नरबहादुर कुँवर। ‘एक बिघा जमिन बाँझैँ छ, सागसब्जी केही लगाउन पाइँदैन। फलफूल केही लगाउन दिँदैन’, उनले भने, ‘बिस्कुन सुकाउन दिँदैनन्। धान, मकै भकारीमा लगेर राख्दा पनि घरको ढोका खुला देखे भने भकारीमै पसेर खाइदिन्छन्।’

उनका अनुसार बाँदरले धान, मकै त खाइदिन्छन् नै मान्छेलाई पनि बाँकी राख्दैनन्, झम्टिन्छन्। बच्चाबच्चीलाई आँगनमा पनि छाड्न सकिँदैन। उनले हातमा लिएको गुलेली देखाउँदै भने, ‘मेरो त कामै दिनभर हातमा गुलेली लिएर बाँदरलाई ताक्दै बस्ने हो।’

अर्की स्थानीय शोभा बस्नेतले एक बिहान केलाउँदै चामल नाङलोमा छाडेर फोन उठाउन घरभित्र छिर्दा बाँदरले सबै खाइदिएको सुनाइन्। ‘कहिले भान्सामा छिरेर भात भएको कुकर, तरकारीका भाँडा बोकेर दौडिन्छन्’, उनले भनिन्, ‘तीन वर्षदेखि न घर छाडेर हिँड्न पाइन्छ न त केही खेती गरेर खानै सकिन्छ।’

झापाको मेचीनगर–५ र ८ मा बाँदरले स्थानीयलाई उठिबास नै लगाएको छ। ३ सयसम्मको झुन्डमा आउने बाँदरले दुःख दिँदै आएको स्थानीयको गुनासो छ। बाँदरलाई खेदाउँदा पनि वरपरको चिया बगानमा लुकेर बस्ने हुनाले दीर्घकालीन उपाय केही गर्न नसकिएको उनीहरू बताउँछन्।

नरिवल र सुपारीबाहेक अरू बाँकी खेती स्थानीयले लगाउन नपाएको मेचीनगर–५ का राजन बुढाथोकीले बताए। ‘घरभित्रै छिरेर बसिखान दिँदैनन्, साना नानी डराउँछन्, आतंकै बनाएको छ’, उनले भने, ‘स्थानीय सरकारसँग पनि गुनासो गर्‍यौं तर बाँदरका लागि भनेर विशेष कार्यक्रम नभएकाले केही गर्न नसकिने जवाफ दिन्छन्।’

मेचीनगर–८ कि कुमारी चौहानका अनुसार आलुको ड्याङपिच्छे मुकुट बनाएर राखिएका छन्। काउलीका बोट पनि झुलले बेरेर राखिएको छ। ‘वडामा गुनासो सुने पनि बाँदरको आतंक रोकथामका लागि कार्यक्रम नभएको भन्ने जानकारी आयो’, उनले भनिन्।खडिया टोलमा बाँदरका कारण एक जनाले घर छाड्न मिल्दैन। घरमा पनि ढोकाको चुकुल लगाएर बस्नुपर्छ। बाँदरले जुठो नहालेको केही खाउँला भन्नुपर्दैन। हातमा गुलेली नभई एकछिन ढुक्कले कतै हिँड्न पाउँदैनन्।

वडा–८ का अध्यक्ष बिकेन्द्र धिमालले बाँदर आतंकका विषयमा वडाले केही गर्न नसक्ने बताए। ‘हामीसँग बाँदर सम्बद्ध प्राविधिक छैनन्’, वडाध्यक्ष धिमालले भने,‘हामी किसानलाई गुलेलीसम्म किनेर दिन सक्छौं।’

मेचीनगरका अधिकांश वडा बाँदरबाट प्रभावित छन्। यो समस्या नगरपालिकाले नै पहल गरे समाधान हुन सक्ने नत्र बाँदरको संख्या बढेर विकराल रूप लिने वडा–५ का अध्यक्ष योगेन थापा मगरको भनाइ छ। ‘बाँदरको समस्या वडामा भए पनि के गर्ने भनेर नगरसँग ठोस नीति र योजना हुन सक्छन्’, वडाध्यक्ष मगरले भने।

बाँदरले स्थानीयलाई दिएको पीडाबारे आफू अनभिज्ञ रहेको नगर प्रमुख विमल आचार्यले बताए। ‘नगरसम्म जनताको गुनासो आइपुगेको छैन। आएको खण्डमा तत्काल केही न केही उपाय खोज्छौं’, मेयर आचार्यले भने, ‘केही समयअघि हल्ला भएको थियो। यद्यपि, गुनासो आएको थिएन।’ त्यस्तो समस्या हो भने जनतासँगै बुझेरै समाधानको पहलमा जुट्ने उनले बताए। वडाले जानकारी नगराएको विषयमा पनि आफूले चासो लिने उनको भनाइ छ।

जिल्ला डिभिजन वन कार्यालय प्रमुख विष्णुलाल घिमिरेले बाँदर धपाउन त्यस्तो विशेष कार्यक्रम नरहेको बताए। ‘ढुंगा र गुलेली नै यसको पहिलो उपाय हो’, उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.