हुर्रेमा शिव, अमृता र सूर्य

हुर्रेमा शिव, अमृता र सूर्य

उदयपुर : गीत, संगीतको माहोलमा राजनीतिक भाषण गौण हुन्छ। अझ चर्चाको शिखरमा रहेका कलाकार देखेपछि सबैको ध्यान त्यतै हुन्छ। शनिबार उदयपुरको सदरमुकाम गाईघाटको माहोल त्यस्तै देखियो।

नेपाल मगर संघ त्रियुगा नगर कमिटीले आयोजना गरेको माध्यासकराटी तथा हुर्रा महोत्सव (माघे संक्रान्तिलाई मगर जातिले बोल्ने ठेट भाषा माध्यासकराटी) मा वक्ताको भाषणभन्दा सांगीतिक माहोल दर्शकाका लागि कर्णप्रिय बन्यो। जब नृत्य र गायन आउथ्यो छरिएर रहेका दर्शक स्टेज नजिक आउँथे र कलाकारसँगै रमाउने, नाच्ने गाउने गर्थे भने भाषण आउन साथ भीड तितरबितर हुन्थ्यो।

सांस्कृतिक कार्यक्रमप्रतिको भावना र वक्ताको भाषणप्रतिको वितृष्णालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालक ईश्वर बलम्पाकी मगरले एक भाषण एक सांगीतिक कार्यक्रम उद्घोष गर्दै चलाउनु पर्‍यो। दर्शकको ताली र ‘वान्समोर’को अफरले गायक शिव थापामगर, अमृता लुङ्गेलीमगर र सूर्य पूर्वछानेमगरलाई अझ हौस्यो।

गायकले आफ्नो कला, संस्कृति र भेषभूषाको जगेर्ना गर्दै मगर भाषाका गीत सुनाएपछि ननाच्ने दर्शक कमै भेटिए। गायक शिवले प्रस्तुत गरेको हुर्रा गीतमा स्टेजमा रहेका अतिथिले पनि आफ्नो मन थाम्न सकेनन्। जानिनजानी दर्शक दीर्घामा गएर सँगसँगै नाचे। कार्यक्रमका प्रमुख अतिथि मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले पनि आफ्नो भाषण छोट्ट्याउँदै नाचगानलाई नै बढी समय उपलब्ध गराए।

उत्तिकै आकर्षणको केन्द्रबिन्दुमा गायिका अमृता र सूर्यको लोकदोहोरी दर्शकको रोजाइमा परे। साथमा स्थानीय कलाकारकोे नृत्य र संगीतमा दर्शकको नजर पर्‍यो। दिनभर सांगीतिक माहोलमा होमिएका अतिथि र दर्शकका लागि सदरमुकाम गाईघाटको हुर्रे महोत्सव बिल्कुलै नयाँ र पहिलो महोत्सव थियो। कार्यक्रममा मगर समुदायको मौलिक नाच मारुनी, हुर्रा, झ्याउरे, कौडा प्रस्तुत गरिनुका साथै मगर समुदायको मौलिक खानाको परिकार सेलरोटी, तरुल, गुन्द्रुकको अचार तथा सुँगुरको मासु सगुनको रूपमा आगन्तुकलाई ग्रहण गराइएको थियो।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष नवीन रोकामगरले माध्यासकाराटी (माघे संक्रान्ति) मगर विशेषको मात्र नभई राष्ट्रिय चाड भएकाले सूचीकृत गरिदिन सरकारँसग माग गरे।

नेपालमा धेरै आदिवासी बसोबास गर्छन्। त्यसमा एक मगर समुदाय हो। मगरले मगर सम्बत् ५०१३ को स्वागत गर्दै आफ्नै संस्कार र पहिचान झल्काउने मौलिक खानाको परिकार खाने र आफन्तजनसँग भेटघाट गरी नयाँ वर्षको शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाएको मगरले बताए। मगरको मौलिक खानाको परिकार सेल रोटी, गिठ्ठा, भ्याकुर वनतरुललगायतका कन्दमूलको समेत परिकार खाने र हुर्रे नाच नाचिने गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.