नियमविपरित क्रसर उद्योग : सिडियोले रोके, मेयरले खुलाए
बेंसीसहर : बेंसीशहर नगरपालिका–१ उदीपुरामा मापदण्ड विपरीत सञ्चालन भएका २ क्रसर उद्योग प्रशासनले रोक्न पत्राचार गरेको छ । मापदण्ड पूरा नगरेका उद्योगलाई बन्द गर्न पत्राचार गरिए पनि उद्योग सञ्चालकले भने अटेर गरेका छन् ।
पुरानो मापदण्डअनुसार क्रसर उद्योग सञ्चालन भएकाले नवीकरण रोकिएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख टोपलाल भुषालले बताए । जिल्लामा लमजुङ क्रसर एण्ड कन्सट्रक्सन र त्रिवेणी रोडा ढुंगा एण्ड बल्क उद्योग नियमविपरित सञ्चालनमा रहेको पाइएको हो । लमजुङ क्रसर एण्ड कन्सट्रक्सनको सञ्चालक निर्मलजंग घले र त्रिवेणी रोडा ढुंगा एण्ड बल्क उद्योगका सञ्चालक दिपेश श्रेष्ठ हुन् ।
ती उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गरिए पनि पछिल्ला वर्षमा नवीकरण नै नगरी सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । उनका अनुसार ती उद्योग तत्काल बन्द गर्नु पर्ने तीन कारण देखिएको छ । पहिलो न्यूनत्तम मापदण्ड नै पुगेको छैन । दोस्रो उद्योगको नवीकरण गरिएको छैन र पछिल्लो ऐन अनुसार स्थानीय तहमा दर्ता हुनुपर्नेमा त्यो पनि भएको छैन ।
उनका अनुसार प्रशासन कार्यालयले गत १८ असोजमा उनीहरू दुवैलाई प्रशासन कार्यालयमा उपस्थित हुन ३ दिनको समय सीमा दिएर पत्र काटेको थियो । त्रिवेणी रोडा ढुंगा एण्ड ब्लक उद्योगका सञ्चालक दिपेश श्रेष्ठ सम्पर्कमा नआएको हुँदा २४ असोजमा ताकेता पत्र काटियो । ‘त्यसपछि उनीहरूलाई मापदण्ड पुरा गर्न, नवीकरण गर्न र दर्ता गर्न अनुरोध गरियो’, शाहीले भने, ‘त्यसलाई अटेर गरेको पाइएपछि अब मापदण्ड पुरा नगर्दासम्म सञ्चालन गर्न नपाउने गरी बन्द गरिएको हो ।’
निर्मलजंग सञ्चालक रहेको लमजुङ क्रसर एण्ड कन्सट्रक्सन २०६८ साल फागुन २१ गते दर्ता भएको र पहिलो वर्षदेखि नै नवीकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो उद्योगको सञ्चालन पूँजी १ करोड ९२ लाख रहेको छ । त्यस्तै, दिपेश श्रेष्ठ सञ्चालक रहेको त्रिवेणी रोडा ढुंगा एण्ड बल्क उद्योग २०६२ को असार ३ गते दर्ता गरी २०७३ सालसम्म नवीकरण गरेको र त्यसपछि नवीकरण नगराएको पाइएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार त्यस उद्योगको सञ्चालन पूँजी ३२ लाख २४ हजार रहेको छ ।
नियम विपरित सञ्चालित क्रसर बन्द गर्न सम्बन्धित निकायलाई पत्राचार गरे पनि सञ्चालकले नटेरेको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले बताए । सडक, नदी र विद्युत् पोललाई मासेर अधिकांश क्रसर उद्योग मापदण्ड पूरा नगरी अवैध रूपमा उत्खनन गरी सञ्चालन भइरहेको सहायक प्रजिअ शाहीको भनाइ छ ।
‘अध्यागनमा त क्रसर छैनन् होला नि !’
लमजुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले नियमविपरित सञ्चालन भएका यी दुई उद्योग बन्द गराएका थिए । तर, सिडियो सरुवा भएको एक हप्ता नबित्दै बेंसीशहर नगरपालिकाले उद्योग सुचारु गर्न अनुमति दियो । अनुमति नलिएको र मापदण्ड नपुर्याएका क्रसरहरु बन्द गराएको तर आफु सरुवा भएको एक हप्ता नबित्दै ती उद्योगलाई सञ्चालनका लागि अनुमति दिएको फेसबुक (सामाजिक सञ्जालमा) लेखेका छन् ।
‘विभिन्न दवावका बीच अनुमति नलिएका र मापदण्ड नपुगेका क्रसर बन्द गराइयो तर मेरो सरुवा भएको १ हप्ता नपुग्दै नगरपालिकाले गैर कानुनी निर्णय गरेर खुलाएछ’, उनी भन्छन् ‘अनि क्रसरवाला फुर्ति लाउँदै मलाई फोनमा भन्छ, अध्यागमन विभागमा त बन्द गराउने क्रसरहरु छैनन् होला नी !’
बेंसीशहर नगर कार्यपालिकाको २३ मंसिरमा बसेको बैठकले प्रशासनद्वारा बन्द गराइएका क्रसर पुनः सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो । लमजुङका तत्कालीन प्रजिअ भट्टराईले अवैध रुपमा ढुङ्गा, बालुवा तथा गिट्टीको उत्खनन् हुँदा स्थानीय प्रशासन र प्रहरीलाई दोष दिने गरिएको भन्दै आक्रोश पोखे । ‘संघीय व्यवस्थाअनुसार स्थानीय स्रोत साधनका स्थानीय तहकै अधिकार हुन्छ । राजश्व संकलनका लागि उहाँहरुले कानूनानुसार प्राकृतिक स्रोत–साधनको उपयोग गर्न पनि पाउनुहुन्छ,’ भट्टराई भन्छन्, ‘तर, अहिले गिट्टी बालुवा उत्खनन्मा भने प्रहरी र प्रशासनलाई दोषी देखाएर दर्ता नै नभएको कम्पनीलाई स्थानीय तहले काम गर्न अनुमती दिएको छ ।’
क्रसर उद्योगले अनुमति नलिएको र मापदण्ड नपुर्याएको भए पनि त्यसका लागि असार मसान्तसम्म म्याद दिएर सञ्चालन गर्न अनुमति दिएको बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । ‘क्रसर बन्द हुँदा निर्माण समग्रीको अभाव भएकाले खुलाउने निर्णय गरियो’, उनले भने । प्रशासनको परिपत्रपछि बन्द उद्योग खुलाउन नगरपालिकाले गरेको निर्णय ।