चाँगुनारायणमा प्राविधिक शिक्षा पढाउने उद्देश्यले महायज्ञ गर्ने
भक्तपुर : चाँगुनारायण नगरपालिका-१ न्यौपानेगाउँस्थित चाँगुनारायण माध्यामिक विद्यालयले सप्ताहव्यापी श्रीमदभागवत ज्ञान महायज्ञ गर्ने भएको छ। सोमबार पत्रकार सम्मेदन गरेर विद्यालयमा प्राविधिक शिक्षा पढाउन पैसा जुटाउने उद्देश्यले माघ ११ गतेदेखि महायज्ञ गर्न लागिएको जानकारी गराएको हो।
प्रधानाध्यापक दधिराम गेलालका अनुसार करिब एक करोड रुपैयाँ संकलन गरेर प्राविधिक शिक्षा दिने उद्देश्य पूरा गर्न महायज्ञ गर्न लागिएको हो। विद्यालयमा सिभिल, कम्प्युटर र कृषिसम्बन्धी डिप्लोमा इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने तयारी रहेको गेलालले बताए। विद्यालयसँग भएको २५ रोपनी जग्गामा प्रयोगात्मक कक्षा गराएर कृषि प्राविधिक पनि उत्पादन गर्न सकिने लक्ष्य रहेको उनको भनाइ छ। ‘बढीभन्दा बढी विद्यार्थीहरुलाई विद्यालयमा आकर्षित गर्न प्राविधिक शिक्षासमेत प्रदान गर्ने विद्यालयको लक्ष्य हो’, प्रअ गेलालले भने, ‘प्राविधिक शिक्षाको व्यवस्थाले शिक्षित बेरोजगारको संख्या घट्ने विश्वास गरेका छौं।’
नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले उक्त महायज्ञको उद्घाटन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चाँगुनारायण नगरपालिका-१ का निर्वाचित वडा सदस्य उद्धव खड्काले बताए।
कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा हाल पाँच सय पाँच जना विद्यार्थीहरु अध्ययनरत छन्। अन्य कक्षाको तुलनामा कक्षा ११ र १२ मा कम विद्यार्थी रहेकाले स्नातक तह सञ्चालन गर्ने हतारो नरहेको प्रअ गेलालले बताए। माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेपछि सकेसम्म विद्यालय परिवर्तन गर्ने विद्यार्थीहरुको प्रवृत्ति भएकाले ग्रामीण विद्यालयमा कक्षा ११ र १२ चलाउनै हम्मेहम्मे रहेको उनको भनाइ थियो।