कांग्रेस विवाद ज्यूँकात्यूँ : शीर्ष तहम सहमतिको खोजी
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका रुपमा कमजोर भूमिका खेलेको आरोप लाग्दै आएको कांग्रेसभित्रको आन्तरिक विवाद अझै सल्टिएको छैन ।
सभापति शेरबहादुर देउवाले पार्टीलाई बहुमतबाट सञ्चालन गर्न खोजेको आरोप लगाउँदै संस्थापन इतर समूहले पार्टीको मंसिर २६ गतेदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दैआएको छ । सुरुमा महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गर्दै आएको असन्तुष्ट समूह पुस ११ गतेको निर्णयपछि सभापति देउवासँग थप चिढिएको हो ।
बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच पुस ११ गते बहुमतबाट पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभाग संख्या २८ बाट ४७ पुर्याउने, नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्नेलगायत निर्णय भएको थिए ।
केन्द्रीय समिति बैठक बहिस्कार र बहुमतबाट निर्णय गर्ने दुबै विषय गलत भन्दै सहमतिमै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णयपछि सभापति देउवासँग रुष्ट बनेका थिए । नेता सिटौलाले देउवालाई भेटेर पार्टीमा एकता कायम गराउन ध्यानाकर्षण पत्र बुझाएका थिए भने बरिष्ठ नेता पौडेलले जिल्ला सभापति भेला बोलाएर सभापति देउवालाई दवाव दिएका थिए ।
पार्टीभित्र सहमतिका लागि पटक पटक नेताहरुबीच छलफल भए पनि सहमति भने हुन सकेको छैन । सभापति देउवाले असन्तुष्ट समूहसँग छलफलका लागि उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका छन् भने पौडेलले नेता प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएका थिए । कार्यदलले महाधिवेशन कार्यतालिका, विभाग गठन, नेपाल विद्यार्थी संघ गठन र नेपाल तरुण दलका विषयमा प्याकेजमै सहमति जुटाउन गरेका प्रयासले सार्थकता पाउन सकेको छैन । वार्तामा सहभागि नेताहरुले छलफल सकारात्मक भनेपनि टुंगोमा भने नेताहरु पुग्न सकेका छैनन् । पार्टीभित्र तेस्रो समूहको नेताका रुपमा चिनिने सिटौला पनि वार्तामा सहभागि हुन थालेका छन्।
सोमबार उपसभापति निधि, नेता सिंह र सिटौलाबीच पार्टी कार्यालय सानेपामा छलफल भएको छ । विगतमा नेताका घरमा बैठक हुने गरेकोमा सोमबार तीन नेताबीच पार्टी कार्यालयमा बैठक भएको हो । नेताहरुले छलफल सकारात्मक भएको भन्दै अब शीर्ष तहमै निष्कर्श निकाल्ने बताएका छन् । ‘आज छलफल भयो, धेरै विषयमा कुरा मिलिसकेको छ, अब रामचन्द्र दाईसहित बैठक बस्नुपर्यो भनेर उहाँहरुले भन्नुभयो,’ उपसभापति निधिले भने, ‘अब सभापति देउवा, बरिष्ठ नेता पौडेल र हामीहरु बसेर सहमति गर्छौँ ।’
अर्को वर्ष फागुन ७ देखि १० गतेभित्र गर्ने गरी सार्वजनिक गरिएको कार्यतालिकामा पनि संस्थापन इतर समूहले असन्तुष्टि जनाएको छ भने विधानका केही धारा निलम्बन गर्ने निर्णयप्रति पनि आपत्ति जनाएको छ । संस्थापन समूह महाधिवेशनको मिति यथावत् रहने गरी आन्तरिक कार्यतालिका सच्याउन तयार छ भने निलम्बिध धारा फुकाउन पनि सभापति देउवा सकारात्मक छन् । विभागको भागबण्डा, तरुण दलको आन्तरिक विवाद र नेविसंघको भागबण्डामा कांग्रेसभित्र सहमति हुन सकेको छैन । केही दिन अघि बसेको देउवा, पौडेल र सिटौलासहितको शीर्ष नेताहरुको बैठकले विवाद टुंग्याउने जिम्मा कार्यदललाई दिएको थियो ।
नेता सिटौलाले तीन नेताबीचको छलफल सकारात्मक भएको भन्दै चाँडै विवाद टुंगिने विश्वास व्यक्त गरे । ‘मिल्न नसक्ने विषय केही छैन, सहमतिमै सबै विषय टुंग्याउनुपर्छ भन्ने निष्कर्श हाम्रो हो,’ उनले भने, ‘शीर्ष तहमै बैठक बसेर विवाद टुंग्याउँछौं ।’ सभापति देउवा, बरिष्ठ नेता पौडेल र सिटौलाबीच बुधबार छलफल हुने कांग्रेसका एक नेताले बताए ।
‘सभापतिज्यूले आवश्यक ठाने अरु नेताहरुलाई पनि बोलाउनुहोला,’ नेता सिटौलाले अन्नपूर्णसँग भने, अब विवाद लम्ब्याउनुहुन्न ।’ स्वास्थ्यउपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका बरिष्ठ नेता पौडेल शनिबार साँझ स्वदेश फर्किएका हुन् । उनले भारतमा रक्षामन्त्री एवं भाजपाका बरिष्ठ नेता राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । नेता प्रकाशमान सिंहले पनि शीर्ष तहबाटै विवाद टुंगाइने बताए । उनले छलफल सकारात्मक भएको भन्दै छिट्टै सहमतिमा पुगिने प्रतिक्रिया दिए । कांग्रेसभित्रको विवादलाई धेरैले १४ औं महाधिवेशनको तयारीसँग जोडेका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद सहमतिमै टुंगिने बताए । उनले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्नुपर्ने भएकाले सहमतिको विकल्प नरहेको बताए ।