'अब हजारौं दिलीप जन्मन्छन्'
धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका रामजीवन महतो कक्षा नौ पढ्दै गर्दा खेतीकिसानीको कामले उनलाई बढ्नै दिएन। रामजीवनले २४ वर्षीय छोरो दिलीप (ओमप्रकाश)लाई इन्जिनियर पढाएर ठूलो मान्छे बनाउने सपना देखेका थिए। पुस २५ गते क्रसर डनले पर्यावरण अभियन्ता दिलीपको टिपरले किचेर हत्या गरिदियो। अवैध खोला दोहन रोक्न खोलामा गएका उनको हत्या भयो। छोराको हत्यापछि रामजीवनको सपना चकनाचुर भएको छ।
ऋण काढेर छोरालाई इन्जिनियर पढाएर कमाउन जापान पठाउने र ठूलो मान्छे बनाउने उनको सपना अधुरै रह्यो। पुत्रवियोगले रामजीवनलाई सताएको छ, त्यसमा छोरो पढाउन र घरव्यवहार चलाउन लिएको २५ लाख ऋणको भारीले थिचेको छ। दिलीपका हत्यारालाई कडा कारबाही गर्न विश्वव्यापी आवाज उठिरहेको छ। दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गरिएको छ। मृतक दिलीप महतोको व्यक्तित्व र उनको परिवारिक अवस्थाबारे उनका बुबा रामजीवनसँग अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी :
दिलीप कस्ता मान्छे थिए ?
उनको आँटिलो जोश देखेर कस्तो महसुस हुन्थ्यो ?
दिलीपको आँटिलो र जोशिलो स्वभाव देखेर साह्रै खुसी हुन्थेँ। भन्ने गर्थें बाबु राम्रो गर, सबैलाई कल्याण गर, रगत सबैको एकैनाश हो। कोही फरक हुँदैनन्। सहायता गर, सबैलाई सहयोग गर। घुसपेटको दुनियाँमा नपर। जे चाहिन्छ मसँग माग। म अहिले कमाइरहेको छु। आखिर यो सब तिम्रै लागि न हो। मेरो कुराले ऊ सधैं प्रेरित हुन्थ्यो।
उनी के गर्दै थिए ?
इलेक्ट्रिक इन्जिनियरिङ पढ्दै थियो, भारतको भोपालमा।
छोरालाई किन इलेक्ट्रिक इन्जिनियरिङ नै पढाउनुभयो ?
मेरो बुबा अनपढ हुनुहुन्छ। उहाँको छोरा म खेती किसानीमा सीमित छु। छोरालाई पनि किसान बनाएँ भने अगाडि बढ्न त सक्दैन। भाइलाई भारतको देहरादुनमा डाक्टरी पढाएँ। ऊ काठमाडौंको क्यान्सर हस्पिटलमा सरकारी नोकरी गर्दै छ। १० वर्षअघि जब मेरो भाइले भन्यो, दाइ मेरो सरकारी नोकरी भयो। मलाई एकदमै खुसी लाग्यो। त्यतिबेला मेरो साथमा २० हजार रुपैयाँ थियो खुसीले गर्दा त्यसले साधुसन्तलाई भोजन गराएँ।
मेरा दुई छोरा र ६ छोरी छन्। ऋण कर्जा गरेर सबैलाई पढाउँदै छु। दिलीप जेठी छोरीपछि जन्मिएको जेठो छोरो हो। दुःख-सुख गरेर छोराछोरीलाई पढाउँदै थिएँ। भगवान्सँग प्रार्थना गर्थें, मेरा बाबुनानीको सधैं कल्याण होस्। म दुःख गरिरहेको छु, कमसेकम मेरा छोराछोरी सुखी रहुन् भन्ने अपेक्षा थियो। तर, दुस्मनको नजर मेरो छोरो दिलीपमाथि लाग्यो। अवैध रूपमा भइरहेको नदी उत्खनन रोक्न जाँदा पुस २५ गते हत्या गरिदियो। मेरो सबै खुसी हराएको छ।
उनको कलेज फी तिर्न कसरी रकम जुटाउनुहुन्थ्यो ?
उसको स्कुल फी तिर्न कुनै बेला ऋण लिन्थेँ। कुनै बेला उखु बेच्थें, कुनै बेला गोठको गाई-बाच्छा बेचिदिन्थेँ। उसकै पढाइ खर्चका लागि ४ बिघामध्ये दुई बिघा बेचिदिएँ।
दिलीपको पढाइ पूरा भइसकेको थियो ?
अँ, अन्तिम सेमेस्टरको परीक्षा दिएर घर आएको थियो।
कहिले आएका थिए ?
फस्ट जनवरीको दुई दिनअगाडि।
उनले खोला दोहनविरुद्ध पहिल्यैदेखि आवाज उठाउँदै आएका थिए ?
हो, जब पढाइको छुट्टी हुन्थ्यो। ऊ घर आउँथ्यो। गाउँका साथीभाइबीच गफगाफ हुन्थ्यो। खोला उत्खनन भइरहेको देख्दा उसलाई सैह्य हँुदैनथ्यो। गाउँलेलाई जागरुक बनाएर क्रसरवालालाई चेतावनी दिन जान्थ्यो।
दिलीपलाई कस्तो भएको देख्न चाहनुहुन्थ्यो ?
मेरो छोरा इन्जिनियर पढेर आउँछ। सर्टिफिकेट लिएर आएपछि जापान पठाउँछु भनेर सोचेको थिएँ। छोरोले कमायो भने, ऋण तिर्न सकिन्छ भन्ने लागेको थियो।
तपाईंको ऋण कति छ, अहिले ?
ऋण करिब २५ लाख छ।
बैंकबाट लिनुभएको छ ?
बैंकको पनि छ, तीन रुपैयाँ सयकडा पनि छ। समूहबाट पनि लिएको छु। २५ लाख टाउकामा ऋणको भारी हुँदा पनि जति खर्च लाग्छ छोरो दिलीपलाई जापानसम्म पुर्याउँछु भन्ने आँट कसेको थिएँ। जग्गा बेचेर होस् या दृष्टिबन्धक राखेर ऋण लिने सोच थियो। त्यो सबै सपना चकनाचुर भयो। आज छोरो दिलीप छैन, उसलाई पढाउन खर्चेको ऋणको भारी मात्रै बाँकी छ।
दिलीपको कसरी मृत्यु भयो ?
खोला उत्खनन गर्न बाधा पुर्यायो भनेर क्रसरवालाले पहिला कुटपिट गरेर मारे। त्यसपछि घटना अर्कैतर्फ मोड्न टिपरले किचिदियो। ऊ खोला उत्खनन रोक्न गएको थियो।
दिलीपलाई कसैले धम्की पनि दिन्थ्यो ?
त्यो विपिन (विपिन महतो क्रसर सञ्चालक, जसले दिलीपको हत्या गर्यो) ले छोरालाई नसम्झाए ज्यानै मारिदिने धम्की दियो दिलीपको हत्या हुनु दुई दिनअघि घरमै आएर। तपाईं आफ्नो छोरालाई सम्झाइहाल्नू नत्र कुनै दिन काटिदिन्छु, मारिदिन्छु, टिपरमा किचिदिन्छु। हामीलाई केही लाग्दैन, पाँच लाख रुपैयाँ तिर्नु न हो भन्यो।
विपिनले तपाईंलाई किन यसरी धम्की दियो ?
विपिनले गैरकानुनी रूपमा खोला उत्खनन गर्ने गथ्र्याे। मेरो छोराले गाउँलेको साथ लिएर खोला दोहन गर्नबाट रोक्थ्यो। त्यही कारण हो विपिनले मलाई धम्की दिएको।
दिलीपको हत्या हुनुअघि उनीसँग तपाईंको केही कुरा भएको थियो ?
दुई दिनदेखि दिलीपलाई देखेको थिइनँ। म बिहानै ट्र्याक्टर लिएर खेत जोत्न जान्थेँ। थाकेर आउँथें। खाना खाएपछि सुतिहाल्थें। छोरो र मेरो खाने, सुत्ने समय नै मिल्दैनथ्यो।
हत्या भएको राति मलाई सन्चो थिएन। श्रीमती (चन्द्रकला)ले रोटी-तरकारी ल्याएर कोठामा राखिदिइन्। म नखाई सुतेँ। एकाबिहानै गाउँको भतिज जोडले कराउँदै ‘काका काका भन्यो। म बाहिर आएर सोधेँ। उसले भन्यो, ‘काका खोलामा हिँड्नु न दिलीपलाई सुताइदेको छ, कि कुटिदेको छ मलाई फोन गरेको थियो।’ छाँगाबाट खसेजस्तो भएँ। खोलामा गएँ। दिलीपलाई मारेर खोलामा सुताएका रहेछन्। छोरो मरेको सुनेपछि बेहोस भएँ। एकैछिनमा प्रहरीको दुइटा भ्यान आयो, त्यसमा दिलीपलाई लग्यो। केही सोच्न सक्ने अवस्थामै रहिनँ। कहीपछि खेतको आली हुँदै खोलाबाट घर फर्किएँ। जीवनभरि दिलीपको सम्झनाले तड्पाइरहन्छ।
तपाइँको छोरालाई हत्या गर्ने मान्छे पक्राउ परेका छन्। के अरू पनि छन् यसमा संलग्न ?
त्यो त कानुनको काम हो। कानुनले जे गर्छ-गर्छ। हामी खेती किसानी गर्नेले त कानुनले न्याय दिन्छ भन्ने कुरामा विश्वास गर्छौं भने कानुन पढेकाहरूले त कसो न्याय नदेलान् ? अब जे छ कानुनको हातमा छ। म यति भन्छु कि मेरो छोरा मरेर गइसक्यो, फर्केर आउँदैन। जति गरे पनि फर्केर आउँदैन। तर, राष्ट्रिय हितको लागि ज्यानको आहुति दिने मेरो छोराजस्तै हजारौं दिलीप जन्मन्छन् भन्नेमा विश्वास लिएको छु। हत्यारालाई कडाभन्दा कडा सजाय होस्। अनि राज्यले हाम्रो छोरालाई पर्यावरण सहिद घोषणा गरिदेओस्।
दिलीपले किन पर्यावरणको कुरा उठाउनुहुन्थ्यो ?
चुरे संरक्षणका लागि उसले बलिदान दिएको छ, साधारण व्यक्तिगत कुराका लागि होइन। चुरे संरक्षणका लागि बलिदान गरेको छ। त्यसैले दिलीपलाई पर्यावरण सहिद घोषणा गर्नु राज्यको दायित्व हो।
दिलीपले चुरेलाई कसरी बुझेका थिए ?
दिलीप इन्जिनियर पढिरहेको थियो। चुरे संरक्षण अभियानचाहिँ पूर्वराष्ट्रपति डा. रामवरण यादवले ल्याउनुभएको हो। उहाँलाई राष्ट्रपतिसम्म पुर्याउने हाम्रो देन हो। उहाँ मन्त्री भएका बेला मेरो बहिनीको बिहेमा पनि आउनुभएको थियो।
दिलीपले देखेको चुरे संरक्षणको सपना सरकारले पूरा गर्ला ?
सरकारले त हेर्छ। आज एउटा दिलीप गयो। भोलि हजारौं दिलीप पैदा हुन्छन्। यो हाम्रो देशमा मात्र होइन, जुन कलेजमा दिलीप पढिरहेको थियो त्यहाँबाट समेत आवाज उठिरहेको छ। दिलीपको हत्या गर्नेलाई कडा सजायको माग गरिरहेका छन्।
चुरे संरक्षणका लागि बलिदान गर्ने दिलीपलाई पर्यावरण सहिद घोषणा गर्नु राज्यको दायित्व हो।