वडा अध्यक्षको निधनले गाउँ शोकमा
राजविराज : सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ का वडा अध्यक्ष सुशीलकुमार चौधरीको आकस्मिक निधनले सिङ्गो गाउँ शोकमा डुबेको छ। शोकमा गाउँपालिका कार्यालयले मंगलबार विदा दिएको थियो।
अन्तिम श्रदाञ्जलीका लागि चौधरीको शवलाई मंगलबार गाउँपालिका कार्यालयमा राखिएको थियो। गएराति १० बजे दुर्घटनामा परेर घाइते भएका वडाध्यक्ष चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
आफन्तकोमा निम्तो मानेर घर फर्कने क्रममा आफैंले चलाएको मोटरसाइकल पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जण्डौलमा चौधरी दुर्घटनामा परेका थिए। घाइते चौधरीको कन्चनरुपस्थित धर्मेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राजबिराज ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्राले जानकारी दिए।
चौधरीको बुवा, आमा, श्रीमती र दुई छोरा छन्। नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित चौधरी सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीका पूर्वअध्यक्ष समेत हुन्।