विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरबाट पक्राउ
भक्तपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ भक्तपुरमा पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जिल्लाको मध्यपुर थिमि नगरपालिका ४ नयाँठिमीस्थित चार दोबाटोबाट उनलाई नियन्त्रणमा लिइएको हो।
नयाँ ठिमीका स्थानीय व्यापारीहरुलाई धाक धम्की दिएर जबरजस्ती चन्दा असुलिरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सोधपुछ गर्दा प्रतिबन्धित नेकपाका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भएको पुष्टि भएको उनले बताए।
पक्राउ परेका तामाङ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ का स्थायी बासिन्दा हुन्। उनी चन्दा संकलन गर्नकै लागि सिन्धुपाल्चोकबाट भक्तपुर खटिएको अनुसन्धानको क्रममा देखिएको भक्तपुर प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङमाथि अभद्र व्यवहार कसुरमा जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए। उनी महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेका छन्।