कांग्रेसमा सिद्धान्त र स्वार्थको चरम अभ्यास

कांग्रेसमा सिद्धान्त र स्वार्थको चरम अभ्यास

नेपालको प्रतिपक्ष नेपाली कांग्रेस अन्तरिक दलीय कलहमा गिजोलिएको छ। सभापति शेरबहादुर देउवाको समूहबाट सहमतीयको साटो बहुमतीय निर्णय भएपछि रामचन्द्र पौडेल समूहले केन्द्रीय समितिको बैठकको बहिष्कार गर्‍यो। यसले आफ्ना समर्थनका जिल्ला सभापतिको छुट्टै बैठक गरेको छ। सभापति देउवाले उनीहरूलाई चियापान कार्यक्रममा आमन्त्रण गरेर महाधिवेशन मितिबाहेक अन्य विषयमा छलफल गर्न सकिने जानकारी दिएका छन्। 

देउवालाई विगतमा दलमा विभाजन सिर्जना गरेको, नया“ दलको स्थापना गरेको र पछि प्रजातन्त्रलाई दरबारमा बुझाएको आदि दोषारोपण गरिएको छ। हालै सम्पन्न संघीय, प्रादेशिक तथा स्थानीय निर्वाचनमा भएको पराजय पनि देउवाको कमजोर नेतृत्वको परिणतिका रूपमा चित्रण गरिएको थियो। उनलाई गैरसंवैधानिक कदम अवलम्बन गरेको भन्दै पौडेल समूहले आलोचना गरेको छ। पौडेल समूहमाथि अल्पमतमा रहेर पनि प्रजातन्त्रको बहुमतीय परिपाटीलाई अभ्यास गर्न नदिएको भन्दै गुनासो व्यक्त भएको छ।

कांग्रेस लोकतान्त्रिक पार्टी हो। लोकतन्त्रलाई अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले लोकका लागि, लोकले तथा लोकको सरकार भनेर वर्णन गरेका थिए। लोकतन्त्रमा राजनीतिक दल अपरिहार्य रूपमा विद्यमान रहन्छन्। राजनीतिक दलभित्र र यिनीहरूका बीचमा संवादद्वारा समस्या समाधान गरिने परिपाटी उहिल्यैदेखि चलिआएको हो। यसलाई आन्तरिक तथा अन्तरदलीय राजनीति पनि भनिन्छ। लोकतन्त्रमा भिन्न विचार भएका समूहबीच छलफल तथा अन्तरक्रिया भएर सामूहिक निष्कर्षमा आउन सक्ने सम्भावना हुन्छ। यो नै लोकतन्त्रको सौन्दर्य हो।

तर यो लोकतन्त्रको परिभाषा आदर्शमा मात्र सीमित रहेको छ। किनभने लोकतन्त्रले विकृत रूप धारण गरिसकेको छ। लोकतन्त्र भनेको केही मूल्य तथा मान्यतामा विश्वास गर्ने व्यक्तिको समूहले देश र जनताको कल्याणका लागि भनेर पार्टी निर्माण गर्ने, निर्वाचनमा जसरी भए पनि विजय हासिल गर्ने, सरकारलाई कब्जामा लिनेर आफ्नो मूल्य तथा मान्यताको स्थापना तथा देश र जनताको उन्नतिका लागि काम गर्ने भन्दै नेताहरूले आफ्नो निहित स्वार्थको पूर्ति गर्ने माध्यम भएको छ। उदाहरणका लागि साम्यवादी दलको झन्डै दुईतिहाइ बहुमतको सरकार नेपालमा स्थापित भएको छ। आदरणीय पुष्पलालसहित केही व्यक्तिले समूह बनाएर साम्यवादी पार्टीको स्थापना २००७ सालमा गरेका थिए। तर यसका अधिकांश नेताले साम्यवादका मूल्य र मान्यतालाई स्थापना गर्ने भन्दै आफ्नो निहित स्वार्थपूर्ति गरिरहेका छन्।

यसपालि पार्टीमा विभाजन हुने सम्भावना कम छ। राजनीतिक क्रियाकलाप प्रस्तावित महाधिवेशनमा मतदाताको विश्वास जितेर विजय प्राप्त गर्नुमा केन्द्रित छ।

धेरैजसो साम्यवादी नेता धनाढ्य भइसकेका छन्। त्यस्तै आदरणीय बीपीलगायत केही नेताले प्रजातन्त्र तथा समाजवादलाई स्थापना गर्न कांग्रेस पार्टी निर्माण गरेका थिए। पछिका कांग्रेसीहरूले पनि निर्वाचनमा विजय हासिल गरेर सरकार निर्माण गर्दै विशेषगरी केही दशकमा राज्यलाई नियन्त्रणमा लिएर कयौंले आफ्नो निहित स्वार्थको परिपूर्ति गरे। यस्तै हालत अन्य दलको पनि छ। फलस्वरूप राजनीतिक दलका धेरै नेताका चम्किएका भवन जनताका मक्किएका भवनको पृष्ठभूमिमा टड्कारो रूपमा देख्न सकिन्छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१३ को ग्लोबल कोरप्सन ब्यारोमिटरको प्रतिवेदनअनुसार राजनीतिक नेताहरू भ्रष्टाचारीको सूचीमा अग्रपंक्तिमा रहनु यसको ज्वलन्त प्रमाण हो। तसर्थ यतिखेरको राजनीति भनेको बहुधा शक्ति प्राप्तिको युद्ध हो, स्वस्थ प्रतिस्पर्धा होइन। यसको उपहार भनेको सरकारको कब्जा हो, निर्माण होइन। यसको उद्देश्य भनेको नेताको स्वार्थपूर्ति हो, देश र जनताको भलाइ होइन। त्यसकारण आन्तरिक दलीय तथा अन्तरदलीय राजनीति कम र कलह धेरै भएको देखिन्छ।

प्रजातन्त्रमा बहुधा तीन चरण विद्यमान रहन्छन्। पहिलो स्वतन्त्रताको चरण जसमा नेपालमा पञ्चायतको पतन भएजस्तै तानाशाही शासनको अन्त्य अथवा उदारीकरण हुन्छ। दोस्रो अन्तरिम चरण जसमा आम निर्वाचनको आयोजना हुन्छ र तेस्रो सबलीकरणको चरण जसमा सबैलाई स्वीकार्य हुने गरी प्रजातान्त्रिक अभ्यास हुन्छ। तर अल्पविकसित देशमा तेस्रो चरणको रूपमा धेरैजसो विकृतिको चरणको आरम्भ हुन्छ, जसमा शक्ति कब्जा तथा भ्रष्टाचारले टाउको उठाउ“छ र पार्टी अन्तरकलहको वीजारोपण हुन्छ। नेपाल यही चरणबाट गुज्रिरहेको छ। अन्तरदलीय कलह तब सुरु हुन्छ जब शक्ति प्राप्तिले गर या मरको स्थिति धारण गरेर वारदातको रूप सिर्जना गर्छ, जब सांगठनिक तथा कार्यगत विकृतिले पार्टीमा प्रवेश गरेर अनुशासनहीनता बढ्छ, जब द्रव्य राजनीति र व्यक्तित्व प्राधान्यताले अन्धभक्ति तथा धर्मपिताको रूप धारण गर्छ, जब पदासीनताको मोहले पार्टीका अन्य सदस्यसित पानी बाराबारको स्थिति सिर्जना हुन्छ। यसपछाडि पार्टीमा आफन्तको संरक्षण, प्रभावशाली नेताको चुनाव क्षेत्रले असमानुपातिक रूपमा पाउने गरी स्रोतको असमान वितरण, नियमित भेटघाटको कमी तथा नेतृत्वको केन्द्रीयकरण आदिले भयावह स्वरूप धारण गर्छन्।

संसदीय व्यवस्थाको आरम्भ बेलायतबाट भएको हो। बेलायतको पहिलो राजनीतिक दल ह्विग र दोस्रो टोरी हो। ह्विग सन् १६८० मा स्थापना भएको हो। यसका प्रमुख नेता रोबर्ट वालपोल थिए। तर सन् १७१७ मा अन्तरकलह भयो र बालपोलले राजीनामा गरेका थिए। सम्भवतः संसदीय व्यवस्थाको यो पहिलो अन्तरदलीय कलह थियो। यस समयमा नेपालमा दलगत व्यवस्था थिएन। त्यतिबेला नेपालमा भाष्कर मल्लले राज्य गरेका थिए। उनको राज्यकालमा महामारी फैलिएकाले राजनीति ओेझेलमा परेको थियो।

कांग्रेस २००६ सालमा स्थापना भएको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी हो। यसमा आन्तरिक दलीय राजनीति तथा कलहका विभिन्न उदाहरण रहेका छन्। पहिलो मात्रिकाप्रसाद कोइरालालाई पार्टीबाट निष्कासन गरिएको २००९ सालको आन्तरिक राजनीति, २०५१ सालमा गणेशमान सिंह तथा गिरिजाप्रसाद कोइराला समूहबीच भएको आन्तरिक दलीय संघर्ष, २०५६ सालमा कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसादबीच भएको आन्तरिक दलीय टकराव, २०५९ सालमा गिरिजाप्रसाद तथा देउवा समूहबीच भएको आन्तरिक दलीय विरोध आदि स्मरणीय रहेका छन्।

आन्तरिक दलीय क्रियाकलाप बहुधा दुई प्रकारका हुन्छन। पहिलो सिद्धान्तकेन्द्रित र दोस्रो स्वार्थकेन्द्रित। सत्तरीको दशकमा भारतमा आपत्कालीन स्थितिको घोषणा इन्दिरा गान्धीले गरेपछि आन्तरिक दलीय राजनीति भयो। जगजीवन रामले प्रजातन्त्रको हत्या भएको भन्दै प्रजातान्त्रिक कांग्रेस अथवा कांग्रेस फर डेमोक््रयासी नामक दलको स्थापना गरेका थिए। त्यसैगरी नब्बेको दशकमा देउवाले पनि गिरिजाप्रसाद अप्रजातान्त्रिक भएको भन्दै प्रजातान्त्रिक कांग्रेसको स्थापना गरेका थिए।

पछि उनी राजासित मिल्न गएर गएर प्रजातान्त्रिक स्वार्थ हाबी भएको देखिएकाले यसलाई आन्तरिक दलीय कलह भन्न सकिन्छ। तर, अहिले भएको अन्तरिक दलीय कलहमा सिद्धान्त तथा स्वार्थ दुवै लुकेको देख्न सकिन्छ। देउवा समूहको यतिखेरको कदम पूर्णतः स्वार्थबाट निर्देशित छ। आफ्नो समूहलाई कसरी शक्तिको केन्द्रमा राख्ने भन्ने उनको उद्देश्य रहेको छ। पौडेल समूह सिद्धान्तमा अडेको छ। यो समूह देउवाको कदम विधानसम्मत नभएको भनेर संघर्षमा उत्रिएको छ।

विगतका नेतामा समर्पणको भाव थियो। त्यसकारण अन्तरदलीय कलहको मात्रा कम हुन्थ्यो। सत्तासीन समूहबाट सैद्धान्तिक विचलन भयो भने पुनः सैद्धान्तिक पुनरावृत्तिका लागि आन्तरिक दलीय राजनीति हुन्थ्यो। तर नेता सिद्धान्तभन्दा बढी स्वार्थमा केन्द्रित भएकाले सबैजसो दलमा अन्तरदलीय कलहमा तीव्रता आएको छ।

अन्तरदलीय कलहले कहिलेकाहींं विकराल रूप धारण गर्छ। फलस्वरूप पार्टी नै फुट्न पनि सक्तछ। कांग्रेसलाई पनि विगतमा अन्तरिक दलीय कलहले विभाजित बनाएको उदाहरण नभएको होइन। स्वयं देउवाले नै पार्टी फुटाएका थिए। पछि फेरि पार्टी एकजुट भएको हो। तर यसपालि पार्टीमा विभाजन हुने सम्भावना कम छ। राजनीतिक क्रियाकलाप प्रस्तावित महाधिवेशनमा मतदाताको विश्वास जितेर विजय प्राप्त गर्नुमा केन्द्रित छ। पदासीनताका केही फाइदा र केही बेफाइदा पनि हुन्छन्। देउवा समूह पदमा रहेकाले यो क्रियाकलापले पौडेल समूहलाई फाइदा पुग्न सक्ने प्रबल सम्भावना छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.