सरकारलाई टेर्दैनन् क्रसर
दोलखा : दोलखामा अवैध रूपमा सञ्चालनमा रहेका ८ क्रसर व्यवसायीले नदीजन्य उत्पादनको दोहनमा स्थानीय सरकारलाई ठगी गरेको खुलेको छ। अघिल्लो आर्थिक वर्षमा विभिन्न स्थानीय तहले लगाएको ठेक्कामा नदीजन्य उत्पादनको बिक्री परिमाण छली तथा भ्याट वापतको रकम समेत ठगी गरेको खुल्न आएको हो।
जिल्लाको भीमेश्वर नगरपालिका, तामाकोसी र कालिञ्चोक गाउँपालिका गरी तीन स्थानीय तहले आव ०७५÷७६ मा लगाएको बालुवा, गिटी, रोडा ढुंगाको ठेक्कामा ति ८ क्रसर व्यवसायीले बिक्री परिमाण छली तथा भ्याट वापतको करिब ५२ लाख राजश्व तथा कर ठगी गरेको खुलेको छ।
आव ०७५÷७६ को लेखापरीक्षण प्रारम्भिक प्रतिवेदन अनुसार ८ वटा क्रसर सञ्चालकले दोलखाको तीन स्थानीय सरकारलाई ५१ लाख ५४ हजार रकम छली गरेको पाइएको हो। तामाकोसी गाउँपालिकामा रहेका तीन क्रसर व्यवसायीले सबैभन्दा बढी ठगी गरेको पालिकाको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।
लेखापरीक्षण प्रतिवेदन अनुसार तामाकोसी गाउँपालिकास्थित ढोलीखोला क्रसर उद्योगले २ हजार ६ सय ९३ दशमलव ५० घनमिटर सामग्री निकासी गरेको जनाइ प्रतिघनमिटर १ सय ६० रुपैयाँको दरले चारलाख ३० हजार ९ सय ६० राजश्व गाउँपालिकामा बुझाएको छ। उक्त क्रसरले सोही गाउँपालिकामा मूल्य अभिवृद्धि कर (भ्याट) दाबी गर्न पेश गरेको कर विजकमा भने ५ हजार ८५ दशमलब ५० घनमिटर सामग्री निकासी गरेको विवरण उल्लेख छ।
नगदी रसिदमा घटि देखाएको र भ्याट दाबीमा २ हजार ३ सय ९२ घनमिटर बढी परिमाण देखाइ प्रतिघनमिटर १ सय ६० रुपैयाँको दरले तीनलाख ८२ हजार सातसय २० रुपैयाँ ठगी भएको लेखापरीक्षण प्रतिवदेनमा उल्लेख छ। ढोलीखोला क्रसर उद्योगका सञ्चालक पृथ्वी श्रेष्ठले अघिल्लो वर्षको सबै कर तिरिसकेको बताए।तामाकोसी गाउँपालिकास्थित अर्को क्रसर तामाकोशी रोडा ढुंगा उद्योग एण्ड सप्लायर्स प्रालिले १ हजार ८ सय १९ दशमलब ५० घनमिटर सामग्री निकासी गरेको जनाई प्रति घनमिटिर १ सय ६० को दरले दुईलाख ९१ हजार १ सय २० रुपैयाँ गाउँपालिमा राजश्व बुझाएको छ। सो क्रसरले गाउँपालिकामा पेश गरेको भ्याट विलअनुसार ८ हजार २ सय ३७ घनमिटर सामग्री निकासी गरेको छ।
नगदी रसिदमा घटि देखाउने र भ्याट दावीमा ६ हजार ४ सय १७ दशमलब ५० घनमिटर बढि माग गरेको १ सय ६० रुपैयाँको दरले १० लाख २६ हजार ८०० राजश्व ठगी गरेकोले गाउँपालिकालाई असुल गर्न लेखापरीक्षणले निर्देशन दिएको छ। तामाकोशी रोडा ढुंगा उद्योग एण्ड सप्लायर्स प्रालिका सञ्चालक सुरेश उप्रेतीले कुनै पनि राजश्व तथा कर तिर्न बाँकी नरहेको दाबी गर्दै थप कुरा गाउँपालिकामा बुझ्ने बताए।
तामाकासी गाउँपालिकामा नै रहेको अर्को जलदेवी क्रसर उद्योग गोपीखोलाले पनि वातावरणीय प्रभाव मूल्यांकनभन्दा अत्यन्त न्यून एकहजार ३५ घनमिटर मात्र उत्पादन भएको देखाएको प्रतिवेदनमा उल्लेख छ। यो क्रसर उद्योगले लेखापरीक्षणको अवधिसम्म भ्याट दाबी नगरेकोले कति राजश्व गुमेको हो एकीन गरी असुल गर्न सुझाव दिएको छ।
कालिञ्चोक गाउँपालिकास्थित कालिञ्चोक रोडवेज प्रालि नामक क्रसरले पनि नागदह, मलेपु, कोशीखेत, गुमुखोला, चप्लेटी र सिंगटी क्षेत्रमा बालुवा, गिटी, रोडा ढुंगा संकलनको ठेक्का लिएकोमा सम्झौता बमोजिमको भ्याट रकम नबुझाएकोले क्रसरबाट ब्याज, शुल्क र जरिवाना समेत २६ लाख एकहजार ९ सय ५० असुल गरी संघीय राजश्व संकलन गर्न भनेको छ। त्यसैगरी भीमेश्वर नगरपालिकालाई पनि बुस्ती निर्माण सेवा, फस्कु निर्माण सेवा, जलेश्वरी देवी निर्माण सेवासहितका विक्रीकर्ता क्रसरले भ्याट वापतको रकम बाहेक मात्र बुझाएकोले भ्याटमा लाग्ने व्याज र जरिवानासहित ११ लाख ४२ हजार १ सय ५२ कर असुल गर्न लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।