गाउँपालिकाको कामप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले बुझायो ज्ञापनपत्र
डडेल्धुरा : नेपाली कांग्रेस नवदुर्गा गाउँपालिका कार्यसमितिले गाउँपालिकाको कार्यप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझएको छ । नवदुर्गा गाउँपालिकाको कार्यालयले गरिरहेका विकासका काम र विभिन्न क्षेत्रमा गाउँपालिकाले राखेका कर्मचारी नियम सम्वत नभएको भन्दै बुधबार कांग्रेसले ध्यानाकर्षण भएको जनाउँदै पत्र बुझाएको हो ।
नवदुर्गा सरकारले जनताले प्रत्याभूति हुने काम गर्न नसकेको भन्दै ९ बुँदे मागसहित गाउँपालिका अध्यक्ष कविन्द्र विष्टलाई ज्ञापनपत्र दिएको छ । स्थानीय सरकारबाट सम्पादन भएका प्रत्येक कामप्रति जनताको असन्तुष्टि रहेको कुरा ज्ञापनपत्रमा उल्लेख छ । गाउँपालिकाले नेकपाका कार्यकर्ता पृष्टपोषण हुने र अन्य पार्टीको अस्तित्व नै समाप्त गर्ने क्रियाकलाप र गतिविधि गरिरहेको उल्लेख गर्दै नेपाली कांग्रेस गाउँ कार्य समिति सभापति रामचन्द्र अवस्थीले हस्ताक्षर गरेको ज्ञापनपत्र अध्यक्ष विष्टलाई बुझाएको नवदुर्गा १ का कांग्रेस सभापति भोजबहादुर साउदले बताए ।
साथै ज्ञापनपत्रमा स्थानीय स्तरमा विनियोजित रकमको पनि चरम दुरपयोग भएको जनाएका छन् । योजना पनि पूर्वाग्रही ढंगले वितरण गरेको जनाउँदै नवदुर्गा सरकारले केही सिमित व्यक्ति र नेकपाको मात्रै सरकार भएको अनुभूति भएको कांग्रेस नवदुर्गाको आरोप छ ।
माग गरिएको बुँदामा नवदुर्गा सरकारले स्वायम सेवक शिक्षक भर्ना गर्दा पनि अध्यापन अनुमतीपत्र नभएका पार्टीका कार्यकर्ता भर्ना गरेको प्रति असुन्तुष्टि जनाएको कांग्रेस वार्ड सभापति साउदले ज्ञापनपत्र पढेर सुनाए ।
शिक्षकलाई मनपरिरुपमा सरुवा गरिएको र उनीहरुलाई आतंकित वातावरणमा पढाउन वाध्य पारिएको आरोप समेत कांग्रेसले गाउँपालिकालाई ज्ञापनपत्रमार्फत जनाएको छ। साथै जनप्रतिनिधि विद्यालयमा उपस्थित भई नेपाल शिक्षक सगंठनको सदस्यता वितरण गरेको कांग्रेसको आरोप छ। साथै विभिन्न वार्ड र गाउँपालिकाका कर्मचारी भर्ना गर्दा कुनै प्रक्रिया पुरा नगरेका र नेकपाका कार्यकर्ता भर्ना गरिएकाले त्यस्ता कर्मचारी बरखास्त गर्नुपर्ने माग समेत कांग्रेसले राखेको छ।
गाउँपालिकाले लिइरहेको कर चर्को भएकाले जनताले तिर्न सक्ने गरी कर तोक्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । केही मिल्न सक्ने बुँदामा आजै कार्यपालिका बैठकबाट समाधान गर्ने र बाँकी चाँडै छलफल गरी अगाडी बढ्ने ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष कविन्द्रले बताए ।