अपराधीलाई नेपालमा ठाँउ छैन् : आईजीपी खनाल
कालिकोट : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कुनै पनि किसिमका अपराधीहरुलाई नेपालमा ठाँउ नरहेको बताएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय कालिकोटका तीन वटा नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। सरकारद्धारा प्रतिबन्धित विप्लव समुहलाई लक्षित गर्दै विकास विरोधी, संविधान विरोधी कुनै पनि तत्वहरुलाई नेपालमा स्थान नरहेको उनले बताएका हुन्।
‘नेपाल प्रहरीले अपराध नियन्त्रण, रोकथाम, शान्ति सुरक्षा कायम गर्नका लागि उत्कृष्ट कार्यसम्पादन गरेको छ’ उनले भने ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी गाउँगाउँ नागरिकको साथमा पुगेको छ। उनले मुलुकको शान्ति, सुरक्षा र सुशासन कायम गर्न नेपाल प्रहरीले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउदै प्रहरीलाई नागरिकले प्रदान गरेको सहयोग अतुलनीय रहेको बताए।
अपराधविरुद्ध लड्न भिड्न प्रहरी तयार रहेको खनालले बताए। उनले करिब १२ वटा बिषयलाई केन्द्रमा राखेर जनताको जिउ धनको सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी लागि परेको बताए। ‘समाजमा हुने विभिन्न किसिमका अपराधहरु प्रहरी कहाँ पुगे कानुन अनुसार कारबाही हुने विश्वास दिलाउन चाहन्छु’ उनले भने ‘प्रहरी राष्ट्र र जनताका हितमा कटिबद्ध छ।
तयस्तै कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी पुर्णचन्द्र जोशीले कर्णाली प्रदेशमा समुदाय प्रहरी साझेदारी कार्यक्रम हरेक जिल्लामा प्रभावकारी भएको बताए। उनले सो कार्यक्रमले समाजमा हुने सामाजिक अपराधहरु न्यूनिकरण हुदै गएको दाबी गरे।
कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि एकिकृत सुरक्षा रणनीति २०७६ निर्माण गरी जस अनुसार सुरक्षा कारबाही सुरु गरिएको बताए। ‘गाँउमा धेरै चौकीहरु भाडाका घरमा छन्’ उनले भने ‘जिल्लामा करिब एक सय प्रहरीको दरबन्दी रिक्त छ। रिक्त दरबन्दी पुर्तिका साथै भवनविहीन चौकीको भवन निर्माणका लागि आईजीपी खनाललाई अनुरोध गर्दछु।’
करिब ३ करोड ३३ लाखको लगानीमा तीन वटा हिरासतसहितको कार्यालय र ४ करोड ७३ लाखको लगानीमा ९६ जना प्रहरी र डिएसपीको आवासगृह गरी ८ करोड ६ लाखको लगानीमा तीन वटा सुविधा सम्पन्न भवनहरु निर्माण भएका छन्। यसअघि जिल्ला प्रहरी कार्यालय २०३४ साल मंसिर २६ गते तत्कालिन जुम्लाबाट विभाजित भई कालिकोट जिल्ला स्थापना भएपछि निर्माण गरिएको जिर्ण भवनमा सञ्चालन रहेको थियो।