निर्वाचन : प्रदेश १ मा ३ पदको लागि मतदान
विराटनगर : प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको रिक्त ३ पदको लागि बिहीबार बिहानैदेखि मतदान सुरु भएको छ । निर्वाचनका लागि विराटनगरको वीरेन्द्र सभागृहमा मतदान केन्द्र तोकिएको छ ।
प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि अलगअलग मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुखले ‘क’ र प्रदेश सांसदले ‘ख’ मतदान केन्द्रमा गइ मतदान गर्नुपर्ने गरी व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय मोरङका निमित्त प्रमुख तीर्थराज अधिकारीले जानकारी दिए। दुवै मतदान केन्द्रमा नौ-नौ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ ।
बिहान १० देखि ४ बजेसम्म हुने मतदानका लागि मतदातालाई परिचयपत्र अनिवार्य गरिएको छ । प्रदेश नम्बर १ मा दलित, महिला र खुल्लातर्फ एक-एक जना गरी तीन सदस्यका लागि सुरु भएको मतदानमा ९ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एक्लैको ६५ प्रतिशतभन्दा बढी मत छ । ९३ जना प्रदेश सांसदको मतभार चार हजार चार सय ६४ र दुई सय ७४ स्थानीय तहका प्रमुख र उपप्रमुखको चार हजार नौ सय ३२ गरी कूल नौ हजार तीन सय ९६ मतभार छ ।
नेकपा एक्लैको ६७ जना सांसद छन् । त्यस्तै स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी एक सय ६३ जना छन् । दुवैतर्फ गरी नेकपाले प्राप्त गर्ने मतको अवस्था कूल ६ हजार एक सय ५० छ । नेकपाले प्रदेश नम्बर १ मा दलिततर्फ गोपी अछामी, महिलातर्फ इन्दिरा गौतम र खुल्लातर्फ देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ । गौतम र दाहाल पूर्वएमाले हुन् भने अछामी पूर्वमाओवादी हुन् ।
त्यस्तै, हार्ने निश्चितझैँ भए पनि राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसले दलिततर्फ नीरबहादुर विश्वकर्मा, महिलातर्फ मीना पुलामी मगर र खुल्लातर्फ राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ । संघीय समाजवादीले दलिततर्फ ज्ञानबहादुर परियार, महिलातर्फ कमला बडही र खुल्लातर्फ भरत दाहाललाई उम्मेदवार बनाएको छ ।
मतदानपछि लगत्तै मतगणना थालिने निर्वाचन कार्यालयले जनाएको छ । एक जना प्रदेश सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख वा उपप्रमुखको मतभार १८ हुने व्यवस्था छ । मतभार फरक भएका कारण मतपत्र पनि अलगअलग रंगको व्यवस्था गरिएको छ । प्रदेश सांसदका लागि सेतो कागजमा हरियो मसीको अक्षर, चिन्ह र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि सेतो कागजमा रातो रंगको अक्षर र चिन्ह भएको मतपत्र हुने निर्वाचन कार्यालयले जनाएको छ ।
मतपत्रमा उम्मेदवारको नाम र चुनाव चिन्ह दुवै हुने भए पनि यस पटक स्वस्तिक चिन्हको प्रयोग गरिएको छ । यसभन्दा अघि भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा ‘टिक’ लगाउनुपर्ने व्यवस्था थियो । यस पटक ‘टिक’ लगाए उक्त मतपत्र बदर हुनेछ । त्यस्तै तीन जना उम्मेदवारका लागि अलगअलग मतपत्रको व्यवस्था गरिएको छ ।