उखु किसानको चेतावनी : राजमार्ग बन्दसँगै काठमाडौं केन्द्रित आन्दोलन गर्छौं

उखु किसानको चेतावनी : राजमार्ग बन्दसँगै काठमाडौं केन्द्रित आन्दोलन गर्छौं

परासी : पश्चिम नवलपरासीका उखु किसानहरुले राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन्। सरकार आफैले उद्योगीबाट भुक्तानी गर्न लगाउने लिखित सम्झौता गरेपनि समय सीमाभित्र भुक्तानी नभएपछि आन्दोलन गर्ने चेतावनी दिएका हुन्। ‘सरकार आफैले माघ ७ गतेभित्र उद्योगीबाट रकम तिराउने सहमति गर्‍यो। अहिलेसम्म रकम पाउन सकेका छैनौं। अब सरकार आफैले किसानको रकम दिनु पर्छ।’ उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले भने। 

सरकारले भुक्तानी नगर्ने उद्योगको खाता रोक्का समेत गरिसकेको छ। ‘किसानहरुलाई भुलाउन उद्योगीको आग्रहमा सरकारले नै खाता रोक्का गरेको हो। उद्योगीबाट कसरी रकम असुल गर्नुपर्छ सरकारको कुरा हो।’उनले भने, ‘पहिला हामीलाई सरकारले रकम दिओस्। नभए ५/७ दिनभित्र राजमार्ग बन्दसँगै काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्छौ।’
 

भुक्तानी नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन थालेपछि उद्योगमन्त्री लेखराज भट्टको रोहवरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले माघ ७ भित्र बक्यौता रकम दिलाइदिने लिखित प्रतिबद्धता जनाएका थिए। तर जिल्लाका किसानहरुले अहिलेसम्म रकम पाएका छैनन्।  

पश्चिम जिल्लामा इन्दिरा, बागमती र लुम्बिनी चिनी उद्योग छन्। ति सबै उद्योगले किसानको कुल २५ करोड ४५ लाख बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बताए। तिमध्ये बागमतीले अहिलेपनि क्रमशः किसानको रकम भुक्तानी गरिरहेको छ। किसान र सरकारसँग सहमति हुँदा बागमतीको १० करोड बक्यौता थियो। बिहीबारसम्म ४ करोड बढी भुक्तानी गरिसकेको छ। उक्त उद्योगले एक हप्ताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति जनाएको मरासिनीले बताए। इन्दिराले यो अवधिमा ७९ लाख मात्र भुक्तानी गरेको छ। उक्त उद्योगले अझै १० करोड ४२ लाख भुक्तानी गर्न बाँकी रहेको प्रजिअ मरासिनीले जानकारी दिए। 

लुम्बिनीले भुक्तानीनै सुरु गरेको छैन। उद्योगपति मनिष अग्रवालको निधनपछि उद्योग बन्द छ। उक्त उद्योगले १० करोड ७४ लाख भुक्तानी गर्न बाँकी छ। उद्योगपति अग्रवालको निधनपछि उद्योगको जिम्मेवारी उनकी श्रीमतीले लिँदै आएकी छन्। ‘लुम्बिनीका सञ्चालक सम्पर्कमा छैनन्। व्यवस्थापकीय जिम्मेवारी दिएका व्यक्तिको पनि फोन अफ छ। ’ प्रजिअ मरासिनीले भने। इन्दिरा उद्योगलाई भुक्तानीको लागि ताकेता गरेपनि अटेरी गरिरहेको मरासिनीले बताए। समयभित्र भुक्तानी नदिएपछि सरकारले इन्दिरा र लुम्बिनीसहित अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिको खाता रोक्का गरिसकेको छ। 

बागमती मात्र सञ्चालन

जिल्लाका तीन उद्योगमध्ये बागमती चिनी उद्योग मात्र सञ्चालनमा छ। इन्दिरा उद्योगले बक्यौता रकम नदिएको र मर्मत नभएको भन्दै बन्द गरेको छ। लुम्बिनीले सूचना नै टाँसेर यस वर्ष उद्योग सञ्चालन हुन नसक्ने जनाइसकेको छ। बागमती महिना दिनअघिबाट सञ्चालनमा आएको छ। उक्त उद्योगले अहिलेसम्म ३ लाख बढी क्विन्टल उखु क्रसिङ्ग गरिसकेको व्यवस्थापन पक्षले जनाएको छ।

दुई उद्योगहरु बन्द भएपछि किसानहरुले बागमतीमा मात्र उखु उपलब्ध गराउँदै आएका छन्। गतवर्षको बक्यौता रकम भुक्तानी गर्दै बागमतीले उधारोमा यसवर्षको उखु खरिद गरिरहेको छ। ‘हामीले किसानको रकम क्रमशः भुक्तानी गरिरहेकौ छौं। एक हप्ताभित्र सबै रकम तिरिसक्छौं।’ उद्योग सञ्चालक राम थापाले भने। 

सरकारले तोकेको मूल्यमा भुक्तानी गर्ने सहमति भएपछि उखु उपलब्ध गराउन थालेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए। जिल्लामा यसवर्ष करिब १२ लाख क्विन्टल उखु उत्पादन भएको यादवले बताए। सबै उखु बागमतीले नै क्रसिङ्ग गर्न सक्ने भएकाले अन्य दुई उद्योग सञ्चालन नभएपनि कुनै समस्या नभएको यादवले बताए। किसानका सबै उखु खरिद गरेर क्रसिङ्ग गर्ने गरी उद्योगको मर्मत भइसकेकाले कुनै समस्या नरहेको सञ्चालक थापाले बताए। गतवर्षको बक्यौता रकम तिरिसकेपछि यसवर्षको रकम पनि क्रमशः भुक्तानी गर्ने थापाले बताए।

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.