रमितेमा भ्यू टावर
फिदिम : पाँचथरको फिदिम नगरपालिका २ रमितेमा भ्यू टावर निर्माण सम्पन्न भएको छ। दृश्यावलोकनका लागि उपयुक्त स्थानको रूपमा रहेको रमिते डाँडालाई जिल्लाको अब्बल पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले भ्यू टावर निर्माण गरिएको हो।
नयाँ सहर आयोजनाको तीन करोड नौ लाख रुपैयाँको लागतमा दुई तला भएको ‘रमिते भ्यू टावर’ निर्माण गरिएको हो। ‘भ्यू टावर निर्माण पूरा भएको छ’, नयाँ सहर आयोजनाका इन्जिनियर राम सापकोटाले भने, ‘अब नगरपालिकासँग समन्वय गरेर टावर हस्तान्तरण गर्न मात्र बाँकी छ।’ उक्त स्थानमा टावरसहित रेस्टुरेन्ट, चमेनागृह, ग्यालरी हाउस (म्युजियम), हावा घरहरु, बगैँचा र पोखरीसमेत निर्माण गरिएको छ। टावरले नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने विश्वास गरिएको छ।
रमिते डाँडाबाट दर्जनौ हिमालसहित तीनवटा जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ। ‘टावर निर्माण भएपछि यहाँबाट धेरै स्थान हेर्न सकिन्छ’, वडाध्यक्ष सुकपाल तुम्बापोले भने, ‘यो ठाँउलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न टावर निर्माण गरिएको हो।’
टावरबाट तीन जिल्लाका सदरमुकामका बजार प्रष्ट देखिन्छ। पाँचथर सदरमुकाम फिदिम, ताप्लेजुङ सदरमुकाम फुङलिङ र तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारलाई टावरबाट प्रस्ट हेर्न सकिन्छ। ‘एकै स्थानबाट तीन जिल्लाको सदरमुकाम हेर्न सकिने यो नेपालको एउटै मात्र स्थान हो’, तुम्बापोले भने, ‘यहाँबाट देखिने हिमालको दृश्यले सबैको मन लोभ्याउँछ।’ यहाँबाट सगरमाथा, कुम्भकर्ण, कञ्चनजंघा मकालु, पाथिभरा मन्दिरलगायत आधा दर्जनभन्दा धेरै हिमाल नजिकै देखिन्छ।
भ्यू टावर निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ। सुरुवाती चरणमै दैनिक पाँच सयको हाराहारीमा पर्यटक आउने गरेका हुन्। राष्ट्रिय विभूति फाल्गुनन्दको तपोभूमि लबे्रकुटी र समाधिस्थल रहेको सिलौटी टावरदेखि नजिकै पर्छ। टावरदेखि उक्त स्थानसम्म जान सिँढीमार्ग निर्माण थालिएको छ। यसलाई बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने नगरपालिकाको योजना छ।
‘सिँढी निर्माण गरेर टावरलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्य छ’, फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ्ले भने, ‘सिँढी निर्माणका काम सुरु भइसकेको छ।’ भ्यू टावर र लब्रेकुटीलाई जोड्ने उद्देश्यले ६ सय ७५ वटा सिँढी निर्माण गरिएको छ। ५० लाख रुपैयाँको बजेटमा उक्त सिँढी निर्माण गरिएको हो। फाल्गुनन्द सर्किटसँग लिंक गर्ने उद्देश्यले सिँढी निर्माण थालिएको हो। ‘सिँढी निर्माण भएपछि टावरमा पर्यटकको झनै भीड लाग्छ’, नेम्बाङले भने, ‘लब्रेकुटी र सिलौटी आउने धार्मिक पर्यटक सिँढी मार्ग हुँदै टावर आउन सहज हुन्छ।’