कांग्रेस विवाद टुंगियो : कसरी मिल्यो कुरा ?

कांग्रेस विवाद टुंगियो : कसरी मिल्यो कुरा ?

काठमाडौं : महाधिवेशन कार्यतालिका लगायतका विषयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद सहमतिमा टुंगिएको छ।पार्टीको १४ औं महाधिवेशन अर्को वर्ष फागुन ७ देखि १० गते गर्ने पुस ११ गतेको निर्णय यथावत् राख्दै आन्तरिक कार्यतालिकामा परिमार्जन गर्ने समझदारी शीर्ष नेताबीच भएको हो।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार दिनभर बसेको शीर्ष नेताको बैठकठले आन्तरिक विवाद टुंग्याउने महाधिवेशनको सुनिश्चिता गरेको हो।‘१४ औं महाधिवेशन तोकिएकै मितिमा हुने गरी आन्तरिक कार्यतालिका र त्यसको प्रक्रियामा परिमार्जन गर्ने समझदारी भएको छ,’ बैठकमा सहभागी नेता प्रकाशमान सिंहले भने, ‘महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्र बनाउनुपर्नेमा हाम्रो जोड थियो।त्यसमा सभापति सकारात्मक हुनुभयो ।’ 

उनले विभाग र भ्रातृसंस्थाको विषय पनि सहमतिमै टुंग्याउने समझदारी भएको बताए।यसअघि प्याकेजमै सहमति गर्नुपर्ने अडान राख्दै वरिष्ठ नेता पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको थियो ।

नेता सिंह पार्टीभित्रको विवाद समाधानका लागि क्रियाशील थिए।‘लामो समयदेखिको विवाद टुंगिएको छ,’ उनले भने, ‘निष्पक्ष तरिकाले महाधिवेशन गराउन क्रियाशील सदस्यको विवाद मिलाउन उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।’ 

कांग्रेसमा प्रत्येक महाधिवेशनका बेला क्रियाशील सदस्यता विवाद हुँदै आएको छ।वरिष्ठ नेता पौडेलपक्षले क्रियाशील सदस्यता छानबिन समिति गठन गर्न माग गर्दै आएको थियो।महाधिवेशनका लागि भन्दै अनावश्यक रुपमा विधानका धारा निलम्बन गरिएको भन्दै असन्तुष्ट समूहले महाधिवेशन निष्पक्ष हुनेमा आशंका गर्दै आएको थियो ।

महाधिवेशनको कार्यतालिकाको माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ गतेदेखि केन्द्रीय समिति बैठकमा अनुपस्थित भएपछि सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशनको कार्यतालिका लगायतका निर्णय गराएका थिए।

सभापति देउवा बहुमतबाट अगाडि बढ्न खोजेको भन्दै रुष्ट बनेको संस्थापनइतर समूहले दबाब दिन जिल्ला सभापति भेला गर्नुका साथै समानान्तर पार्टीका गतिविधि सञ्चालन गर्दै आएको थियो।

विवाद समाधानका लागि कार्यदल बनाएरै सहमतिको प्रयास भयो।सभापति देउवाका तर्फबाट उपसभापति बिमलेन्द्र निधि, पौडेलतर्फबाट नेता सिंह र नेता कृष्णप्रसाद सिटौलाबीच निरन्तर छलफल हुँदै आएको थियो।दोस्रो तहका नेताले शीर्ष तहमै छलफल गरेर विवाद टुंग्याउनुपर्नेमा जोड दिएपछि सभापति देउवा, वरिष्ठ नेता पौडलसहितको बैठक बसेको हो ।

पार्टी सभापति देउवा निवासमा बिहान ९ बजेदेखि सुरु शीर्ष नेताको बैठक अपराह्न ४ बजे सकिएको थियो।यसअघि बुधबार पनि शीर्ष नेताबीच छलफल भएको थियो।बैठकमा सहभागी नेता रमेश लेखकले शीर्ष नेताबीचको समझदारीअनुसार पार्टी केन्द्रीय कार्यालयले प्रस्ताव तयार गर्ने बताए ।

‘विवादित विषय सबै टुंगिएका छन्, महाधिवेशनदेखि सबै विषयमा सहमति भएको छ,’ उनले भने, ‘महाधिवेशनको परिमार्जित कार्यतालिका महामन्त्रीले आउने केन्द्रीय समिति बैठकमा पेश गर्नुहुन्छ।’ नेता लेखकका अनुसार विभाग संख्या बढाउने र नेपाल तरुण दलको समयावधि थप गर्ने केन्द्रीय समितिको पूर्ववत् निर्णय यथावत छ।

शीर्ष नेताबीचको सहमतिपछि सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन्।पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा अनुसार माघ १३ गते केन्द्रीय समिति बैठक बस्नेछ।बैठकमा पेश हुने प्रस्ताव तयार गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ।

नेताहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले पनि महाधिवेशनको आन्तरिक कार्यतालिकाको मिति हेरफेरमा सहयोग गर्नेछन्।यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको असन्तुष्ट पक्ष पनि सहभागी हुने जनाइएको छ।‘अब हामी बैठकमा सहभागी हुन्छौं,’ नेता सिंहले अन्नपूर्णसँग भने, ‘तोकिएकै समयमा स्वतन्त्र र निष्पक्ष महाधिवेशनको सुनिश्चिता हुने गरी सहमतिमै अगाडि बढ्छौं ।’

कांग्रेसभित्र विवादवको प्रमुख विषय बनेको नेपाल विद्यार्थी संघ (नेविसंघ) गठनमा सहमति भएको छ।पार्टी सभापति देउवाले आइतबारसम्म नेविसंघ गठन गर्ने प्रवक्ता शर्माले जानकारी दिए।‘वरिष्ठ नेता पौडेल र सिटौला दाइसँगको सहमति गरेर नेविसंघ तत्काल गठन हुन्छ,’ उनले भने, ‘केही दिनमै महाधिवेशन आयोजक समिति घोषणा हुन्छ ।’ सभापति देउवाले नेविसंघ अध्यक्षमा राजीव ढुंनानाको नाम प्रस्ताव गरिसकेका छन् ।

ढुंगानाको नेतृत्वमा १२७ सदस्यीय तदर्थ समिति बनाउने सहमति नेताबीच भएको छ।तदर्थ समितिमा रहेका सदस्यले आउने महाधिवेशनमा प्रतिस्पर्धा गर्न नपाउने समझदारी नेताले गरेका छन्।बैठकमा सहभागी एक नेताका अनुसार नेविसंघमा ७ महामन्त्री बनाउने तयारी छ।महाधिवेशन आयोजक समितिलाई ६ महिनाको समय दिइनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.