‘आर्ट बुझ्न सकिनँ मैले’

‘आर्ट बुझ्न सकिनँ मैले’

काठमाडौं : ‘जबजब मसँग विषय रित्तिन्छ, दिमाग खाली हुन्छ, केही सोच्नै सक्दिनँ तब म कुची र रङ समाउँछु। क्यानभासमा अलि माथिबाट केही रङ पोखिदिन्छु। कुची यताउता हल्लाउँछु। क्यानभासमा अनेकौं आकार देख्छु, मनमा गुम्सिएका दृश्यले तँछाडमँछाड गर्दै कुची छुन्छु। रङले मलाई सहारा दिन्छ। विचार नआएको पललाई मैले साइलेन्स डाइलगको रूपमा बुझेको छु। जुन अवस्थामा चित्र बनाउन मसँग केही हुँदैन तब अनगिन्ती विषय आउँछन्’, गफिने क्रममा चित्रकार किरण मानन्धर गहिराइमा पुगे।

उनलाई लाग्छ चित्रहरू जिन्दगी हुन्। सास हुन् अनि भविष्य। रङका बट्टा छरिएको, कुची र ब्रस यत्रतत्र फालिएको, केही आधा बनेका चित्र, केही स्केच र पेन्टिङ झुन्ड्याइएको एक अँध्यारो कोठा उनको ब्रह्माण्ड हो। जसलाई उनी स्टुडियो भन्छन्। भन्छन्, ‘यही स्टुडियोले नै मलाई विश्व बजारमा पु¥यायो। युरोपका गल्लीगल्लीमा दृश्य खोज्दै हिँड्ने फिरन्ते बनायो। देशदेखि विदेशसम्म किरण मानन्धरको परिचय दियो।’ मुस्कुराउँदै उनले भने, ‘मेरा चित्र नै मेरो जिन्दगी क्यानभास मेरो जीवनसाथी।’

किरण मानन्धर नेपाली कलाकारिताका खम्बा हुन् जसले आधा शताब्दीभन्दा बढी समय रङसँग खेलेरै बिताए। स्केच, पोट्रेट र पेन्टिङ सम्हाल्दै वर्षांै कटाए। उमेरले ७० को दशकमा उक्लिएका मानन्धरले नेपाली चित्रकारिताको विकासमा अनेक प्रयोग गरे।

ललितपुरको पुल्चोकमा रहेको दमकलचोकबाट थोरै भित्र गएपछि जिजी मचान पुगिन्छ। मचानको भित्ताभरि कलात्मक चित्र झुन्ड्याइएको छ। ‘मतिना’ शीर्षकका यी चित्र मानन्धरले बनाएका हुन्। एक सय ६० भन्दा बढी एकल चित्रकला प्रदर्शनी गरिसकेका मानन्धरले मतिना सिरिजमा महिलाको माया, प्रेम र आत्मीयता प्रदर्शन गरेका छन्। उनी भन्छन्, ‘महिला मायाका संकेत हुन्। हरेक पुरुषको सफलतामा कहीँ न कहीँ महिलाको हात हुन्छ। आमाले गर्ने माया, श्रीमतीले गर्ने समर्पण, दिदीबहिनीले गर्ने हेरचाह साँच्चिकै पुरुषलाई अघि बढाउने तŒव हुन्। यही मायाको रूप चित्रमा समावेश गरेको हँु।’

मतिना सिरिजका लागि उनले तीन वर्षदेखि काम गरेका छन्। सेमी अब्स्ट्रयाक शैलीका यी चित्रमा सेतो पातलो कपडाको प्रयोग गरिएको छ। उनी भन्छन्, ‘यी चित्रमा मायाका आकार, संकेत र आसय कोरिएका छन्। सेतो कपडा मानिस जन्मिँदादेखि मृत्युसम्म पनि प्रयोग हुन्छ। सेतो कपडाले छोपेर धर्तीमा आएको शरीर मायाको बन्धनमा बाँधएर सेतो कपडा ओडेरै चितामा जल्ने गर्छ। यसैले पनि मतिना सिरिजमा सेतो कपडा मिसाएर नौलो प्रयोग गरेको हुँ।’

वनारस हिन्दु विश्वविद्यालयबाट फाइन आर्टमा मास्र्टस् सकाएका मानन्धरले सन् १९९८ मा फ्रान्सको अर्टिस्ट कार्ड पनि प्राप्त गरेका छन्। फ्रान्सको सिटी फर आर्ट भन्ने सहरमा उनले आर्ट सिक्ने फेलोसिप पाएका थिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा २०६७ देखि २०७० सम्म कुलपतिको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्। चित्रकलामा अनेक प्रयोग गर्न रुचाउने मानन्धरका चित्रमा विविध विषयले ठाउँ पाउँछ।

२०६५ सालको वैशाखमा उनले नौतले धरहरामा बसेर १२ घण्टासम्म एक सय २८ मिटर लामो पेन्टिङ तयार गरी विश्व रेकर्डसमेत बनाएका छन्। यो पेन्टिङ विश्वकै सम्भवतः एकै दिनमा बनाइएको लामो चित्र भएको उनको दाबी छ। देशविदेशका कयौं पुरस्कार र सम्मान प्राप्त गरेका उनी चित्र बनाउनु आफ्नो काम भएकाले कहिल्यै पनि थकाइ नलाग्ने बताउँछन्। भन्छन्, ‘म मुडमा विश्वास गर्दिनँ। काम गर्न पनि मुड चाहिने हुन्छ र ? ’

कला भनेको यस्तो विषय हो, जति चित्र बनाए पनि पूर्ण हँुदैन। संसारमा कोही पनि सिर्जनाको विज्ञ नहुने उनको तर्क छ। मानन्धरको कलायात्रा भने सजिलो थिएन। काठमाडौंको नयाँबजारमा हुर्किएका उनका बुवा छोरालाई इन्जिनियर बनाउन चाहन्थे। चित्र बनाएको, रङ लिएर हिँडेको देखिसहन्नथे। स्कुल नगएर बालाजुको जंगलमा गएर चित्र कोरेर बस्थे किरण। फिल्मको टिकट ब्ल्याकमा बेचेर पनि रङ किन्ने पैसा जुटाउँथे। स्कुलबाट भागेकै कारण उनले बुवाको कुटाइ धेरै खाएका छन्। उनी बाल्यकाल सम्झँदै भन्छन्, ‘साथीको रङ चोरेर, कपी च्यातिदिएर पनि चित्र बनाउँथे। बुवाले यो बिग्रियो, पढेन, गुन्डा बन्ने भयो भनेर खुब पिट्नुहुन्थ्यो। यतिसम्म कि भ¥याङमाथि पछाडिबाट लात्ताले हानेर लडाइदिनु हुन्थ्यो।’

नेपालमा पहिलो पटक फाइन आर्टमा मास्र्टस् गर्ने चित्रकार चन्द्रमान सिंह मास्के हुन्। किरणका पहिलो गुरु पनि चन्द्रमान नै हुन्। बालाजु पार्क बन्दै थियो त्यो बेला। पार्कमा राजारानीको मूर्ति बनाउँदै थिए चन्द्रमान। किरण झोलामा कपी र रङका टुक्रा बोकेर दिनभर बालाजुतिरै भौंतारिन्थे। फल, पहाड, हिमाल, खोला, खोल्साको चित्र बनाएर त्यतै कतै लुकाएर आउँथे। त्यही क्रममा एक दिन चन्द्रमानसँग भेट भयो। किरणले बनाएको चित्र हेरेपछि चन्द्रमानले किरणलाई घरमा बोलाए। त्यो वर्षको गुरुपूर्णिमाको दिनदेखि किरण चन्द्रमानकोमा चित्र सिक्न गए। घरमा भने छोराले अंग्रेजी सिक्दै छ भनेर मक्ख थिए।

सन् १९८२ मा पहिलो पटक फेलोसिप पाएर पेरिस गएका थिए। वनारसमा पढ्दा बीपी कोइराला उनको कोठामा बारम्बार आइरहन्थे। राजनीति गर्दाको समय होस् या औषधि उपचारका लागि बीपी बनारस पुगिरहन्थे। बीपीले नै उनलाई पेरिसको सपना जगाएका हुन्।

आर्ट र कल्चरका लागि पेरिस विशेष मानिन्छ। पेरिसको लुर्भ म्युजियम संसारकै ठूलो र उत्कृष्ट म्युजियम हो। यो म्युजियम घुम्न १० दिन लाग्छ। फेलोसिप पाएर सन् १९८२ मा उनी फ्रान्स गए। ‘सिटी इन्टरनेसनल द आर्ट’ नामक फेलोेसिप संसारभरका उत्कृष्ट कलाकारलाई फ्रान्स सरकारले प्रदान गर्ने गर्छ।

पेरिसमा उनको कला संघर्ष अझ बढ्यो। साँझ बिहानको गाँस जुटाउ समस्या। भाषा नबुझेर उनले खुब दुःख पाए। तर चित्रमा बसेको उनको मन र लगावलाई अभावले रोक्न सकेन। निरन्तर उत्कृष्ट चित्र बनाउँदै गए। नेपाल आउने जाने गरेर केही दशक फ्रान्समै बिताए। सन् १९९८ मा फ्रान्सकै आर्टिट कार्ड पनि प्राप्त गरे। यो कार्डले उनलाई युरोपभर घुम्न र कलाको अध्ययन गर्न सहज बनायो।

अनगिन्ती हन्डर र ठक्कर खाँदै उनी निरन्तर यही क्षेत्रमा सक्रिय छन्। जमलमा पल्पसा ग्यालरी स्थापना र सञ्चालनदेखि ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनासम्म उनले कलाकै क्षेत्रमा काम गरेका छन्। चित्रकारितामा लागेर धेरैभन्दा धेरै आत्मसन्तुष्टि कमाएको बताउने किरण आजसम्म आफूले आर्टको पूर्ण परिभाषा दिन नसकेको बताउँछन्। कसैले भन्छन् आर्ट आफ्नो विचार बताउने माध्यम हो त कसैले आर्ट उत्कृष्ट सिर्जना हो। तर मलाई लाग्छ आर्ट मान्छे भित्रबाट आउने तŒव हो जसलाई पूर्णरूपमा परिभाषित गर्न सकिँदैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.