पाँच रूपैयाँले एक महिना खाजा खर्च पुग्थ्यो
राजाराम पौडेल
भाईबहिनीहरू तिमीहरूले जिरे खुर्सानी हेरेका हौला। हेरेका छौ भने पक्कै पनि मलाई चिनेकै हौला। मेरो नाम राजाराम पौडेल हो।
मेरो जन्म वि.स.२०१६ सालमा नक्साल नागपोखरीमा भएको थियो। म सानो हुँदा धेरै चञ्चले स्वभावको थिएँ। असाध्यै चल्थे। उमेर बढ्दै जाँदा चञ्चले स्वभाव पनि बढ्दै गयो। मेरो एउटा भाई र दुई बहिनी थिए। उनीहरूसँग असाध्यै धुलोमा खेल्थे। म धुलोमा खेलेर नै हुर्के। फुटबल खेल्थे। कबड्डी खेल्थे। कुस्ती खेल्थे। पिङ खेल्थे। चल्थे। लड्थे। अहिले सम्झिदा त्यो बेलाको समय स्वर्णिम रहेछ।
मेरो बुबा सरकारी कर्मचारी हुनुहुन्थ्यो। उहाँ एक जनाको कमाईले हामी पाँच÷ छ जना पालिनुपथ्र्याे। त्यसैले बच्चा अवस्था मेरो लागि एकदम सुखमय भने थिएन। खर्च गर्नलाई पर्याप्त पैसा हुदैनथ्यो। मेरो घर काठमाडौँमा भएकोले बाहिरबाट आएर यहाँ संघर्ष गर्नुपरेन। त्यो कुरा भने मलाई सजिलो भयो। बाल्यकालमा तिमीहरूको जस्तै मेरो जीवन सामान्य नै रह्यो। तर, मैले उपद्रो भने धेरै गर्थे।
म सानो हुँदा काठमाडौँ स्वर्ग थियो। जता पनि खुल्ला थियो। खेल्ने ठाउँ धेरै थियो। त्यो समयमा टिभी, मोबाइल, फोन केही थिएन। पानी जति पनि आउँथ्यो। लोडसेडिङ पनि हुदैनथ्यो। धुलो अलिअलि थियो।
म पद्मोदय हाई स्कुलमा पढ्थे। कलेज आर आर क्याम्पसमा पढेँ। स्कुल पढ्दा टिफिन टाइममा म रेडियो नेपाल हेर्न जान्थे शिंहदरबारमा। रेडियोमा मान्छे कसरी बोल्छन् ? कसरी अटाउँछन् ? कसरी बाजा बज्छ ? भनेर मलाई एकदम उत्सुकता लाग्थ्यो। एकदिन एकजना दाईले स्टुडियो घुमाइदिनु भयो। त्यसपछि मात्र मलाई रेडियो कसरी बज्छ भन्ने थाहा भयो। स्टुडियो देख्दा म जिल्ल परेँ।
म सानैमा रेडियो नेपाल सुन्थे। त्यतिबेला नेपालमा रेडियो नेपाल मात्रै एउटा रेडियो थियो। रेडियो नेपाल सुन्दा मलाई कलाकार बन्ने रहर चल्योे। परिवारमा कोही कलाकार थिएन। तर, मलाई त्यो बेलादेखि नै कलाकारितामा लगाव थियो। हरेक शनिवार बाल कार्यक्रम आउँथ्यो। बाल कार्यक्रममा भाग लिन शिंहदरबार जान्थे। कविता, गीत आफै लेख्थे। बाल कार्यक्रममा छनोटमा पर्थे। मलाई रेडियोको बाल कार्यक्रमको कारणले कलाकार बन्न प्रोत्साहित गर्याे।
छनोटमा परेपछि त्यो बेला पुरस्कार भनेको एउटा कार्यक्रममा भाग लिएबापत पाँच रूपैया हुन्थ्यो। त्यो बेला पाँच रूपैया भनेको धेरै लाग्थ्यो। स्कुल जाँदा एक सुकाले खाजा खान पुग्थ्यो। एक सुकाले भुटन, च्युरा, आलु केराउको तरकारी खान्थे। पाँच रूपैयाँले एक महिनालाई खाजा खर्च पुग्थ्यो।
बाल कार्यक्रममा भाग लिदैँ गएँ। त्यहाँ कार्यक्रम राम्रो हुँदे गएपछि रेडियो नेपालमै नाटकमा पनि गर्न बोलाउनुभयो। नाटक गर्न थाले। मलाई गायनमा पनि शोख थियो। रेडियो नेपालबाट भ्वाइस टेस्ट पनि पास गरेको थिएँ। तर, कर्यक्रम गर्दा गर्दाै मेरो आवाज अड्कियो। घाँटीको अप्रेसन गरेपछि मेरो आवाज नै बिग्रियो। अनि गीत भन्ने नै बिर्सिए।
मेरो हाँस्य ब्यङयको यात्रा चाँहि गाईजात्रा महोत्सवबाट भयो। मैले आफैले डेराको खोजीमा भन्ने लेखेको थिएँ। दोस्रो राजीनामा भन्ने कार्यक्रम गरे। तेस्रो मह जोडीसँग अंशबण्डा गरे। त्यसपछि महसँगै लागे।
सबैले मन पराएको र मलाई राजाराम भनेर चिनाएको पन्ध्र गते टेलिशृङ्खला हो। एक जमानामा त्यसको क्यासेट नभाको घर हुदैनथ्यो। त्यसबाट म हिट भएको हुँ।
म कलाकारीताको क्षेत्रमा लाग्दा मेरो बुबाआमा दुवै खुसी हुनुभयो। मेरो बुबाको सरूवा भएर गाउँ जानु भएको थियो। आमा भाई बहिनी पनि बुबासँगै गएका थिए। म हजुरबुबा हजुरआमासँगै काठमाडौँमा बस्थे। बुबाआमालाई मेरो आवाज सुन्न मन लाग्दो रहेछ। हरेक शनिवार रेडियो नेपालमा मेरो कार्यक्रम कुरेर बस्नु हुन्थ्यो रे। म रेडियो नेपालमा बोल्दा उहाँहरू एकदम खुसी हुनुहुन्थ्यो।
भाईबहिनी हो तिमीहरूलाई पनि कलाकारितामा आउने चाहना छ भने पढाईलाई निश्चित बिन्दुमा पुर्याएर मात्र आऊ। पढाई नबिग्रिने तरिकाले आयो भने राम्रो हुन्छ। तिमीहरूको अहिलेको समय भनेको सिक्ने समय हो।
तिमीहरू यो क्षेत्रमा आउँदा हिरो वा हिरोइन बन्छु भनेर नआऊ। कलाकार बन्छु भनेर आऊ। किनभने हिरो र हिरोइन बनेर आउनेको करियरको आयु एकदम छोटो हुन्छ। क्यारेक्टर अकार्टिस्ट भएपछि तिमीहरूले सधै कलाकार बन्न पाउँछौ। अनुहार राम्रो र ज्यान राम्रो बनाउँदैमा केही हुँदैन। कथाले हिरो बनाउन सक्नुपर्छ। यसले दिमाग पनि चनाखो राख्छ।
(कलाकार पौडेलसँग सुनिता न्यौपानेले गरेको कुराकानीमा आधारित।)