अवरुद्ध सञ्चार सेवा सञ्चालनमा
जोमसोम : उत्तरी हावाको बेजोड धक्काले हिमाली जिल्ला मुस्ताङमा जिल्ला ३३ घण्टा अवरुद्ध भएको सञ्चार सेवा संचालनमा आएको छ। शुक्रबार बिहानदेखि अवरुद्ध बनेको संञ्चार सम्पर्क शनिबार साँझ मर्मत गरेसँगै पुन: संञ्चालनमा आएको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ।
उत्तरी हावाको धक्काले थासाङ गाउँपालिकाको लार्के डाडाँमा रहेको माइक्रो लिंक विच्छेद भएको थियो भने थासाङ २ खन्तीमा विद्युत पोलमा जोडिएको अप्टिकल फाइबरको संञ्चार लिंक चुडिएपछि सञ्चार सम्पर्कबाट मुस्ताङ अन्धकार बनेको हो ।
शुक्रबार संञ्चार डिफल्ट पत्ता लगाउने प्रयास गरेपनि सफल हुन सकेको थिएन । माइक्रो लिंक तथा फाइबर लिंक डिफल्ट भएको पत्ता लगाएर शनिबार साँझदेखि सेवा सूचारु भएको टेलिकम जोमसोम शाखाका प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।
टेलिकमले १ वर्षअघि मात्र म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म अप्टिकल फाइबर लिंक जोडेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।श्रेष्ठका अनुसार उपल्लो मुस्ताङको कोरलानाका सम्म रेडियो लिंक जाडेको भएपनि उक्त क्षेत्रमा सञ्चार सम्पर्क नियमित गर्न लार्के डाडाको माइक्रो लिंक सञ्चालनमा आउनुपर्ने जानकारी दिए । उनका अनुसार ३ स्थानीय तहमा फाइबरले काम गरेपनि माथिका २ पालिका संञ्चार नियमित हुन अझै केही दिन लाग्ने जनाए।
टेलिकमको संञ्चार सेवा अवरुद्ध भएपछि मुस्ताङका बैंक तथा वित्तीय संस्था ,जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालय ,होटल र स्थानीयबासीले संञ्चार तथा इन्टनेटको उपयोग गर्नबाट बञ्चित भए । इन्टनेट प्रभावित हुँदा शुक्रबार बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार समेत प्रभावित भयो ।