देउराली गाउँमा ‘झिम्के मामा’

देउराली गाउँमा ‘झिम्के मामा’

काठमाडौं  : झिम्के को हो ? कहाँबाट आयो ? उसको जात के हो ?  कसैलाई थाहा छैन । माथिल्लो जातका मानिसले गरेको अत्याचार सहन नसकेर उसले गाउँ छाडेको छ । पालुङतिरको बस्नेतको छोरा हुँ भनेर देउराली गाउँको टीकारामको घरमा शरण लिएको छ झिम्केले । देउराली गाउँको विकासको खम्बा भएर बसेको छ ऊ । उसकै पहलमा गाउँमा धारा बनेको छ, मन्दिर बनेको छ । गाउँ जाने बाटो होस् या खोलामा पक्की पुल बनाउन होस् झिम्के लागिपरेको छ । टीकारामकी  श्रीमतीलाई दिदी भन्छ, भाञ्जालाई पढाउने, स्कुल पु¥याउनेदेखि गाउँमा मुद्दा मामिला सल्टाउने, दुःखसुखका काममा टुप्लुक्क सारथि बन्ने गर्छ ।

देउराली गाउँको पर्याय नै बनेको छ झिम्के । मन्दिरको पुजारी बाको लौरो जस्तै छ झिम्के, गाउँका युवाका लागि अग्रणी युवा । कामको सिलसिलामा घर छाडेर गएका गाउँले युवाले गाउँको विकासमा सिन्को भाँचेका छैनन् तर झिम्के गाउँमा स्वास्थ्यचौकी बनाउन दिनरात खटिरहेको छ । आफ्नोभन्दा बढी गाउँलेको माया गर्ने झिम्केको जब जात गाउँलेले थाहा पाउँछन् उसलाई अपराधी जस्तै बनाइन्छ । आफंैले बनाएको मन्दिरमा गएर देहत्याग गरेको झिम्केले मलामीसमेत पाउँदैन । मन्दिरको छेउमा तीन दिनसम्म उसको लास सडिरहन्छ । गाउँलेको मर्दा पर्दाको सारथि बनेको झिम्केको लास उठाउन कुनै गाउँले तयार हुँदैनन् । उसलाई छोए आफ्नो जात जाने तर्क दिँदै उनीहरू तर्कन्छन् । बिरामी भएको बेला रगत दिएर बचाएको टीकारामसमेत झिम्केलाई छि छि र दुर्दुर गर्छ । झिम्के सार्की जातको हो भन्ने थाहा भएकै कारण हो गाउँलेको हेपाइमा परेको । गाउँले भन्छन्, ‘झिम्केलाई चारपाटा मुडेर गाउँ निकाला गर्नुपर्छ ।’ मन्दिरमा पूजा गर्दै आएको पुजारी भन्छन्, ‘सार्कीले बनाएको मन्दिरमा अबदेखि पूजा गर्दिनँ । उसले बनाएको धारोको पानी खानु हुन्न । सार्कीले बिटुलो पारेको गाउँलाई शुद्ध बनाउन सकिन्नँ ।’

यो कुनै काल्पनिक कथा होइन । तल्लो जातको बहानामा शदीऔंदेखि विभेद भोग्दै आएका दलित समुदायमाथि हुने घटनाको चित्रण हो । माघ ४ गतेदेखि मण्डला थिएटरमा ‘झिम्के मामा’ नाटक प्रदर्शन भइरहेको छ । दुर्गाप्रसाद पाण्डेको कथालाई नाटक रूपान्तरण गरेर निर्देशन गरेका छन् प्रदीपकुमार चौधरीले । झिम्के मामा सामाजिक यथार्थ बोल्ने नाटक हो । जातको आधारमा विभेदमा पारिएका सीमान्तकृत समुदायको कथालाई विषय बनाएर झिम्के मामा तयार पारिएको हो ।

नाटकले परम्परामाथि प्रश्न गरेको छ ?  काम चल्ने, रगत चल्ने, उसले छोएको पानी किन नचल्ने ? उसको समान अस्तित्व समाजले किन स्वीकार नगर्ने ?  मानवीय संवेदना हराउँदै गएको अहिलेको समयमा यो नाटकले हरेकलाई सोच्न बाध्य बनाउँछ । नाटक हेर्ने दर्शक पटकपटक आँसु झार्छन् । हाम्रो समाजमा नजानेर जातीय विभेद गर्ने पनि छन्, बुझेर पनि बुझ पचाउने वा धर्म संस्कृतिको नाममा चुप बस्ने अबुझ पनि छन् । दलित समुदायले भोगेको असमानता हाम्रो विषय होइन भनेर बेवास्ता गर्ने पनि छन् । खासमा यस्तै व्यक्तिका कारण समाज विभेदरहित हुन सकेको छैन । आज पनि झिम्के मामा जस्ता सयौ पात्र बेवारिसे मरिरहन बाध्य छन् ।

माथिल्लो जातकी युवतीसँग प्रेमविवाह गरेकै कारण पाँचखालका अजित मिजारलाई झुन्ड्याइयो । यसको लास आज पनि टिचिङ अस्पतालमा सडिरहेको अवस्थामा छ । उदयपुरकी संगीता विश्वकर्मालाई तल्लो जातको भएकै कारण  श्रीमान्सहित परिवार मिलेर हत्या गरे । काभ्रेकी लक्ष्मी परियारलाई गाउँमै सामाजिक शिक्षा पढाउने शिक्षकले बोक्सीको निहुँमा कुटीकुटी मारे । यस्तै आफूले पढ्ने विश्वविद्यालयमा भएको जातीय विभेदको अपमान सहन नसकी भारतको हैदराबाद विश्वविद्यालयमा पीएचडी गर्दै गरेका २६ वर्षीय दलित छात्र रोहित बेमुलाले आत्महत्या गरेका थिए । हालसालै जवाहरलाल नेहरु विश्वविद्यालयमा पीएचडी अर्का दलित विद्यार्थी मुथु क्रिस्नानले पनि आत्महत्या गरेका थिए ।

यस्ता घटना सामाजिक विभेदको कुरूप तस्बिर हुन् । जातकै कारण विश्वविद्यालयमा पनि अपमान ?  उनीहरूमाथि जे भने पनि हुने, अत्याचार गरे पनि हुने ? समाजले दलितलाई कसरी बुझ्छ ?  कस्तो व्यवहार गर्छ ?  उनीहरूले भोगेको जिन्दगी कस्तो छ ? नाटक झिम्के मामाले प्रस्ट पारेको छ ।

नाटकको कथा सलल बगेको छ । मञ्चको साजसज्जा, पृष्ठभूमिको संगीत र संवादले आफ्नोपनको आभास दिलाउँछ । गाउँले बसेर वार्तालाप गर्ने चौतारीसँगै चिटिक्क परेको मन्दिर मञ्चमा देख्न सकिन्छ । मन्दिरको आडैमा झुन्ड्याइएको घण्टी बजाउँदा निस्कने टिन् टिन् आवाजले दर्शकलाई कतै मन्दिर छेउमा पुगेको याद दिलाउँछ । नाटक हेर्दा यस्तो लाग्छ, म कतै गाउँको चौतारीमा पुगेको छु । भर्खरै बनेको झोलुंगे पुल, अनवरत पानी झरिरहने धाराको कलकल आवाज, गाउँलेले गाग्री बोकेर हिँडेको दृश्य, विवाहमा बज्ने बाजा, घरायसी काम र संवादको मि  श्रणले नाटक मौलिक बनाएको छ । गाउँले चौतारीमा बसेर कुराकानी गरेको सुन्दा दर्शकलाई आफ्नै गाउँ पुगेको आभास हुन्छ ।

पात्रको अभिनय जीवन्त छ । नाटकमा झिम्के पात्रको रूपमा अभिनय गरेका अंकित खड्काले सिंगो दलित समुदायको प्रतिनिधित्व गरेका छन् । झिम्केकी दिदी, टीकाराम, शिक्षिका, पुजारी, रुद्रको भूमिकामा कलाकारले गरेको अभिनय यथार्थ छ । पालीघरे दाइको छानो छाएर घरको पिँढीमा टुक्रुक्क बसेको झिम्केलाई देख्दा कतै पर गाउँमा दिनभर खेत जोतेर पिँढीमा बसेको लालेदाइको सम्झना आउँछ । डेढ घण्टाको यो नाटक हेर्दा धेरै पटक दर्शकका आँखा रसाउँछन् ।

पात्रअनुसारको पहिरन, संवाद र अभिनयमा निर्देशकको मेहनत देखिन्छ । ग्रामीण परिवेशको कलात्मक सेट निर्माण गरेका हुन् साजन थापामगरले । अभिनयमा अंकित खड्का, अनुप न्यौपाने, संयोग गुरागार्इं, सागर कामी, रीता श्रेष्ठ, सुशील पाण्डे, विकास पन्त, महन थापा, उषाकिरण काफ्ले, कृजन महत, रक्षा थापा, अभिन्द अमात्य र बालकलाकार काव्य बराल र युनिश श्रेष्ठको अभिनय छ । नाटक माघ २६ गतेसम्म चल्नेछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.