लाइन काटेर विद्युत् बक्यौता असुल
भक्तपुर : विद्युत् प्राधिकरण, भक्तपुर वितरण केन्द्रले लामो समयदेखि बक्यौता नतिर्ने ग्राहकको लाइन धमाधम काट्न थालेको छ। सार्वजनिक सूचना जारी र कालोसूचीमा नाम प्रकाशन गर्दा पनि बक्यौता नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको हो।
हालसम्म एक सय आठ जना ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख राजकुमार रमणले जानकारी दिए। लाइन काटिएकामध्ये ९५ जनाले बक्यौता तिरेर पुनः लाइन चालू गरेको उनले बताए। ‘९५ जनाबाट ६२ लाख ६५ हजार रुपैयाँ बाँकी बक्यौता संकलन भयो’, केन्द्र प्रमुख रमणले सोमबार अन्नपूर्णसित भने, ‘केन्द्रको बाँकी बक्यौता रकम संकलन गर्ने योजनाअनुरुप सातामा एकपटक लाइन काट्ने अभियान सञ्चालन गर्दै आएका छौं।’
उनका अनुसार केन्द्रले मठ–मन्दिरबाहेक दुई करोड २२ लाख ७४ हजार रुपैयाँ बाँकी बक्यौता उठाउन बाँकी छ। नियमानुसार ६० दिनभित्र महसुल नबुझाएमा प्राधिकरणले कुनै पनि बेला लाइन काट्न सक्छ र बाँकी बक्यौता असुलउपर गर्न सकिने व्यवस्था छ। तर, केन्द्रले हाललाई २० हजार रुपैयाँभन्दा माथिको बाँकी बक्यौता भएका ग्राहकको लाइन काट्ने र बाँकी बक्यौता असुलउपर गर्ने अभियानलाई तीव्रता दिएको केन्द्र प्रमुख रमणले जानकारी दिए। उनले बाँकी बक्यौता असुलउपर गर्ने कार्य वर्षभरि चल्ने बताए।
२४८ जना कारबाहीमा
केन्द्रले चालु आर्थिक वर्षको माघ १० गतेसम्म दुई सय ४८ जनालाई विद्युत् चुहावटसम्बन्धी कारबाही गरेको छ। कारबाहीबाट एक करोड ४५ हजार रुपैयाँ संकलन भएको केन्द्रले जनाएको छ। केन्द्रले भक्तपुरका चारवटै नगरपालिकासँग समन्वय गरेर विद्युत् चुहावटसम्बन्धी कारबाहीसँगै बक्यौता तिर्न बाँकी ग्राहकको लाइन काटिरहेको केन्द्र प्रमुख रमणले बताए।
विद्युत् चुहावट ९.९२ प्रतिशत
प्रमुख रमणले केन्द्रले विद्युत् चुहावट नियन्त्रणमा पनि सफलता हात पारेको छ। गत आर्थिक वर्ष १३.०६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्षको पुससम्ममा ९.९२ प्रतिशतमा झरेको उनी बताउँछन्। ‘प्राधिकरणले चालु आर्थिक वर्षमा चुहावट नियन्त्रणको लक्ष्य ९.७५ प्रतिशत दिएको छ’, उनले भने, ‘पुससम्मै ९.९२ प्रतिशतमा झरेकाले लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौं।’
उनका अनुसार पुस र माघमा बढी विद्युत् खपत हुन्छ। पुस महिना बितिसकेको छ। माघपछिका महिनामा विद्युत् खपत घट्छ र चुहावट पनि नबढ्ने उनको भनाइ थियो।
केन्द्र प्रमुख रमणले भक्तपुरमा विद्युत् माग भने निरन्तर बढिरहेको जानकारी दिए। उनका अनुसार मंसिरको तुलनामा पुस महिनामा मात्रै ११ लाख युनिट बढी विद्युत् खपत भएको छ। विद्युत्को माग तथा खपत बढेसँगै केन्द्रको आम्दानी पनि बढेको छ। यसअनुसार केन्द्रले पुस महिनामा विद्युत् बेचेर ६ करोड १८ लाख रुपैयाँ कमाएको छ।