'मोविलाइजेशन' पेश्की लिने ठेकेदारसँग घुस, लेखा अधिकृतविरुद्ध मुद्दा
काठमाडौ : पूर्वाधार विकास कार्यालय ३ नं प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णु हरि पुडासैनीविरुद्ध मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लेखा अधिकृत पुडासैनीले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की लिनका लागि आएका सेवाग्राहीसँग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ हजार घुस लिदा लिदै पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा पिकेबी निर्माण सेवामार्फत हेटौंडा फर्पिङ, सिस्नेरी सडक निर्माणको लागि टेन्डर सम्झौता बमोजिमको मोविलाइजेशन पेश्की उपलब्ध गराउने क्रममा पुडासैनीले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी सेवाग्राहीसँग बार्गेनिङ गरी घुस दिन बाध्य पारिएका अख्तियारको दाबी छ । पुडासैनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।