गुठीका प्रमुख प्रशासकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरीविरुद्ध घुस मुद्दा दर्ता गरेको छ। प्रमुख प्रशासक चौधरीलाई सेवाग्राहीसँग घुस मागेको भन्दै पुस १ मा अख्तियारले पत्र काटेको थियो।
मंगलबार अख्तियारले गुठीका प्रमुख प्रशासक चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरुविरुद्ध ८ लाख विगो कायम गरिएको छ। पक्राउ हुँदा उनीहरुका साथबाट घुसको रकम भने बरामत गरेको थिएन्।
उनीहरुलाई काठमाडौं महानगरपालिका १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस लिएको तथा फिर्तासमेत गरेको अख्तियारको दाबी छ।
अनुसन्धानको सिलसिलामा प्रत्यक्ष योजना र मिलेमतोमा गुठीको जग्गा गुठीमा नै दर्ता गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग ८ लाख लिएको अख्तियारले जनाएको छ। उनीहरुले सेवाग्राही स्वयंलाई एवं निजको बैंक खातामा जम्मा गरी फिर्तासमेत गरेको सप्रमाण पुष्टि हुन आएको देखिएकोले अख्तियारको आरोप पत्रमा उल्लेख छ।
प्रशासक चौधरी र उप-प्रशासक रेग्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुनका साथै प्रशासक चौधरी नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणी सरहका सार्वजनिक संस्थानका प्रमुख रहेकोले थप सजायसमेतको मागदाबी गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।