प्रजातान्त्रिक पार्क उद्घाटन

प्रजातान्त्रिक पार्क उद्घाटन

मकवानपुर : एउटै ढुङ्गामा कुँदिएका १२ सहिदको स्तम्भमा माल्यार्पण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रजातान्त्रिक पार्क उद्घाटन गरेकी छिन्। पार्कमा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका कांग्रेस र तत्कालिन नेकपा (एमाले)का अग्रज नेताको पूर्ण कदको सालिक निर्माण गरिएको छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको पूर्ण कदको सालिक भण्डारीले उद्घाटन गरिन्। राष्ट्रियता, लोकतन्त्र र जनताको जनजीविकाका लागि भएका आन्दोलनमा अग्रणी एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका चार शीर्ष नेताको सम्मानमा हेटौंडा उपमहानगर–११ मा पार्कसहित सालिक निर्माण गरिएको हो।

सहिद दिवसको सन्दर्भमा हेटौँडा आएकी राष्ट्रपति भण्डारीले पार्क अवलोकनपछि एमालेका तत्कालिन महासचिव एवं पति मदन भण्डारीको सालिक रहेको पार्कको समेत अवलोकन गरिन्। पतिको सालिकमा पुष्पगुच्छा चढाउँदै गर्दा उनको अनुहार मलिन देखिन्थ्यो। त्यसपछि सहिद स्मारक विकास समितिका अध्यक्ष समेत रहेका वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेता भण्डारीको मृत्यु भएको चितवनको दासढुङ्गाको आकृति देखाए। यसक्रममा भण्डारी-पौडेल केही पुराना स्मृति सम्झिएर गफिए।

सो अवसरमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकका ऐतिहासिक व्यक्तिका सालिकसहितको पार्क मुलुककै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरिन्। उनले चुरे क्षेत्रमा जीवजन्तु र पर्यावरण संरक्षणको खाँचो औल्याउँदै जनस्वास्थ्यलाई ध्यानमा राखेर सुविधायुक्त स्वास्थ्य केन्द्र र गुणस्तरीय शिक्षा केन्द्रको बिस्तारमा जोड दिइन्।

करिब ९ मिनेटको आफ्नो सम्बोधनमा राष्ट्रपति भण्डारीले प्राकृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकारको पटक पटक ध्यानाकर्षण गराइन्। सोही अवसरमा सहिद स्मारक निर्माणको २५ वर्ष पुगेको अवसरमा प्रकाशन गरिएको सहिद स्मारिका दर्पण बिमोचिन गरिन्। यसअघि २०७३ माघ १६ मा सहिद स्मारक आएकी भण्डारीले सहिद स्तम्भ उद्घाटन गरेकी थिइन्।

कार्यक्रममा बोल्दै प्रदेश मुख्यमन्त्री पौडेलले भ्रमण वर्ष २०२० मा सहिद स्मारकमा करिब १० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए। नेपाली काँग्रेस वागमती प्रदेशका नेता इन्द्र बानियाँ र उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटन बजारलाई प्रवर्धन गर्न सके देशको समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

मंगलबार उद्घाटन गरिएको प्रजातान्त्रिक पार्क परिसरमा पानीको फोहरा, बँगैचा, वि श्रामस्थल लगायतका मनमोहक संरचना निर्माण गरिएको छ। चारैजना प्रजातान्त्रिक आन्दोलनका अग्रजको पित्तलको शालिक १५÷१५ लाख गरी ६० लाख रूपियाँको लागतमा निर्माण गरिएको हो। पार्क निर्माणमा संघिय सरकारको सहरी विकास तथा भवन निर्माण विभागको ७५ लाख र सहिद स्मारकको आन्तरिक श्रोत गरी करिव डेढ करोड रुपियाँ खर्च भएको स्मारक विकासका उपाध्यक्ष रामेश्वर रानाले बताए।

२०४६को जनआन्दोलन पश्चात २०४७ साउन ७ गते उजाड डाँडोमा वृक्षरोपण गरी सहीद स्मृति बाटिका नामाकरण गरिएको थियो। २०५२मा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक २५ वर्षको बीचमा देशकै नमुना सहिद केन्द्रसँगै पर्यटकीय केन्द्र बन्न पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.