हिँड्नै त्रास भो !
बिहानै पत्रपत्रिका पढ्न नपाउँदै मनभित्र डर पैदा हुन थाल्छ, आज कता–कता सडक दुर्घटना भयो होला भन्ने त्रासले। जति डराए पनि के गर्नु अर्को दिन पुनः नयाँ दुर्घटनाका खबरले पत्रिका भरिन्छ। जन्मेपछि मृत्यु शाश्वत नियम हो तर नसोचेको बेलामा, उमेर नपुगी हुने दुर्घटनामा हुने मृत्युले क्षति हुने गर्छ। राज्यका लागि एकजनाको मृत्युले त्यति धेरै असर नगर्ला तर परिवारको लागि अवस्था लथालिंग बनाउँछ। दुर्घटनामा घाइते भएकाको जीवन रक्षाका लागि राज्य र परिवारको बढी खर्च लाग्छ एकातिर भने अर्कोतिर उनीहरूले जीवनभरि नै केही न केही रूपमा अशक्त भएर बाँच्नुको पीडा निकै दर्दनाक हुन्छ।
पैदल हिँड्न होस् वा सवारी साधनमा घरबाट निस्कन लाग्दा मनभित्रैदेखि त्रास पैदा हुन्छ। साँझ घरमा सकुशल फिर्ता हुन पाइन्छ कि पाइँदैन। दुई पाङ्ग्रेमा हरेक दिन कार्यालय जानेआउने गर्दा पनि आज त सकुशल रहन सकें भनेर खुसी हुनुपर्ने अवस्था हुन्छ। सडक पेटीमा हिँड्दा होस् कि जेब्राक्रसिङ्बाट रोड क्रस गर्दा दुर्घटनाको सिकार हुने क्रम बढ्दो छ। आआफ्नो काम सकेर साँझ घरका परिवार सबै जम्मा नहुन्जेलसम्म सबैको मनमा चिन्ता भइरहन्छ।
हाल नेपालमा औसतमा हरेक दिन ३७ वटा सवारी दुर्घटना हुनेगर्छ। प्रत्येक दिन औसतमा सातजनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ भने ४० जनाभन्दा बढी घाइते हुने गरेका छन्। जानी–जानी कसैले दुर्घटना गराउँदैन। दुर्घटनाको सिकार हुन कसैलाई रहर पनि लाग्दैन। आखिर किन बढिरहेको छ त सवारी दुर्घटना ? सरकारको काम कानुन बनाउने मात्र होइन कानुनको परिपालना गराउने दायित्व पनि सरकारको हो। हामीकहाँ भएका कानुन उचित कार्यान्वयन हुन सकेको छैन। खोइ त ट्याक्सी मिटरमा चलेका ? यातायात व्यवसायीको सामाजिक उत्तरदायित्व कता हरायो ? व्यवसायमात्र होइन सेवा पनि हो भन्ने किन बुझ्न सकेनन् ? सडक दुर्घटना न्यूनीकरण गर्न कसैको एकल प्रयासले मात्र काम लाग्दैन। हरेक व्यक्ति अति चनाखो र होसियार भएर सावधानी अपनाउन जरुरी छ।
सवारी दुर्घटना बढ्नुमा विविध कारण छन्। हाम्रोमा सडकको अवस्था निकै कमजोर छ। साँघुरो बाटो, कच्ची र घुमाउरो सडक छ। धुलो, हिलो र धुँवाले बाटो नै देखिँदैन। हुस्सु र तुँवालोको कारणले पनि सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुनेगर्छ। हाम्रा कच्ची सडकमा जिप चलाउने चालक धेरैजसो कम उमेरका छन्। पहाडी बाटो, कच्ची बाटो अनि अपरिपक्व चालकको कारणबाट दुर्घटना बढी हुने गर्छ। कतिपय अवस्थामा चालकको घरपरिवार वा अन्यसँगको सम्बन्धको माध्यमबाट उसको मनस्थितिमा पर्ने असरले पनि यसमा प्रभाव पारेको हुन्छ।
सवारी साधन थोत्रा हुँदासम्म चलाउने गरिन्छ। समय–समयमा सवारी साधनको चेकजाँच गरिँदैन। चालकले मादकपदार्थ सेवन गरेर सवारी साधन चलाइरहेका हुन्छन् एकातिर भने अर्कोतिर सवारी हाँकिरहेको बेलामा मोबाइलको प्रयोग गर्नेहरू धेरै छन्। वार्षिक तीस हजारभन्दा बढी चालक मादकपदार्थ सेवन गरेर सवारी चलाएकाले कारबाहीमा परेका छन्। क्षमताभन्दा अत्यधिक बढी यात्रु बोक्ने परिपाटी, सकिनसकी जस्तोसुकै अवस्थामा पनि ओभरटेक गर्ने तँछाड मछाडले दुर्घटना निम्त्याउने गर्छ।
हामीकहाँ सवारी चालक अनुमतिपत्र दिने परिपाटी कमजोर छ। बिना तालिम लाइसेन्स बाँड्ने गरिन्छ। सवारी चलाउँदा अपनाउनुपर्ने सामान्य नियमसम्म पालन गरिँदैन। कतिपय चालकले चप्पल लगाएर सवारी साधन चलाउने गरेको पाइन्छ। ट्राफिक नियमलाई न त सवारी चालकले पूर्णरूपमा पालना गरेका हुन्छन् न त पैदलयात्रीले नै। आकासे पुल भएको ठाउँमा समेत पुलमुनिबाट यात्रुले बाटो काट्ने गर्छन्। नजिकै जेब्रा क्रस हुँदाहुँदै पनि आफूलाई जताबाट नजिक पर्छ त्यहींबाट नै बाटो काट्ने गरेका हुन्छौं।
हाम्रोमा करिब पैंतीस लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन्। जसमध्ये असी प्रतिशत दुई पाङ्ग्रे सवारी साधन छन्। दुर्घटना हुने क्रम पनि दुई पाङ्ग्राको बढी छ। सडक दुर्घटनामा सबैभन्दा बढी मृत्यु पैदल यात्रुको हुने गरेको छ। दुई पाङ्ग्रे सवारी साधन होस् वाचार पाङ्ग्रे दुवैको ठक्करबाट मृत्यु हुने र घाइते हुनेहरूमा पैदलयात्रु परेका छन्। साँघुरो सडक, अत्यधिक सवारी चाप अनि अव्यवस्थित फुटपाथले सडक दुर्घटना बढाउँछ। सडकको साइडमा निर्माण सामाग्री थुपारेर राख्ने चलन छ।
दुर्घटनारहित सडक नहोला तर सबैले उचित सावधानी अपनाउने हो भने अहिले भइरहेको बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। यसको लागि हालको सडकको अवस्थालाई स्तरोन्नति गर्नुपर्छ। सडक पिच गर्ने, ग्राभलिङ गर्ने, खाल्टाखुल्टी पुर्ने, सम्भव भएको ठाउँमा सडक चौडा र फुटपाथको राम्रो प्रबन्ध गर्नुपर्छ। पुराना सवारी साधनलाई हटाउने र अन्यलाई पनि समय समयमा चेक, जाँच गरेर मात्र सवारी साधन चलाउने बानीको विकास हुनु जरुरी छ। लामो दूरीका सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा दुईजना चालक हुनुपर्छ। यसो गर्दा एकजना थाकेपछि अर्कोले चलाउँदा सवारी दुर्घटना हुने सम्भावना कम हुन्छ।
सडक प्रयोग गर्ने सबैलाई ट्राफिक ज्ञान हुनु आवश्यक छ। सबैले ट्राफिक नियमको परिपालना गर्ने र नियमको उल्लंघन गर्नेलाई कडा कारबाही गर्नुपर्छ। आवश्यक तालिम दिइसकेपछि मात्र सवारी चालक अनुमतिपत्र दिने व्यवस्था गर्नुपर्छ। सवारी चालक अनुमतिपत्र दिने व्यवस्थामा अहिले हुने गरेका र भएका अनियमितता पूर्णरूपमा बन्द गर्ने। ठूला सवारी साधनको अनुमतिपत्र दिने सम्बन्धमा उमेरको हदमा अहिलेको अवस्थामा पुनर्विचार हुनुपर्छ। खुसी र दुःखी भएको समयमा चालकले सार्वजनिक सवारी साधन नचलाउँदा राम्रो हुन्छ। सवारी चालक आफ्नो सवारी साधनको पे–लोड क्यापासिटी, च्यासिस, इन्जिन आदिबारे थाहा हुनुपर्छ।
सवारी साधनको विन्डस्क्रिनमा अनावश्यक स्टिकर टाँस्नु हुँदैन। सबैलाई डिस्टर्ब हुने गरी चर्का गीत नबजाउँदा राम्रो हुन्छ। सवारी साधनमा रियर भ्यु मिरर दुवैपट्टी राख्नुपर्छ जसले गर्दा ब्लाइन्ड स्पटको न्यूनीकरण गर्छ। तीव्र गतिमा सवारी चलाउने, अनि चालक–चालकबीचको प्रतिस्पर्धा तत्काल नियन्त्रण गर्नुपर्छ। ट्रक र टिपरका कारण धेरै दुर्घटना भएका छन्। जसले गर्दा एक्साभेटर लोडर, व्रेन, टिपर, ट्रयाक्टरजस्ता निर्माण उपकरण विशेष सुरक्षा अपनाएर मात्र निर्माण कार्यमा प्रयोग गर्नुपर्ने हुन्छ।
बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न अब सबैले सबै ठाउँबाट अभियान नै चलाउनु जरुरी छ। सडक प्रयोग गर्ने सबै यात्रु हरेक क्षण होसियार हुनु जरुरी छ। सबैलाई हतार हतार हुने अहिलेको प्रवृत्ति अन्त्य गर्नुपर्छ। एउटा भनाइ छ –‘विस्तारै गए पुगिन्छ, हतार गरे भन्न सकिन्न। यात्रा गर्दा हामी सबैले यो भनाइको व्यावहारिक प्रयोग गर्नुपर्छ। साँझ म सकुशल परिवारमा फर्कनुपर्छ। दुईचार मिनेट ढिलो गरेमा गन्तव्यमा सुरक्षिततरिकाले पुगिन्छ भने किनहतार गर्ने ?
एक बारको जिन्दगीहो। एक पटक मरेपछि सकियो। सानो सावधानीले पनि ठूलो दुर्घटना टर्न सक्छ। जीवनरूपी यात्रामा हामी सबै कहिले चालक हुन्छौं त कहिले यात्री। सानो लापरबाहीले गर्दा हामी जीवनभर नै निकै अशक्त भएर बाँच्नुपर्ने हुन्छ एकातिर भने अर्कोतिर ज्यानैसमेत जान सक्छ। अझ सार्वजनिक सवारी चालक भएको बेलामा हाम्रो हातमा थुप्रै मानिसको जीवन रहेको हुन्छ। अन्जानमै पनि सानो गल्ती भयो भने सयौं मानिसको जीवन एकै छिनमा समाप्त हुन्छ। सडक दुर्घटना न्यूनीकरण गर्न सबैले आफ्नो ठाउँबाट सक्दो प्रयास गरौं। दुर्घटनाबाट आफू बाँचौं र अरूलाई पनि बचाऔं।