२० वर्षपछि पुनर्स्थापना भयो बैंक
प्युठान : स्वर्गद्वारी नगरपालिकामा २० वर्षपछि बैंक पुनःस्थापना भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड नहुँदा यस क्षेत्रका स्थानीय सदरमुकाम खलंगा र बिजुवार धाउनुपर्ने बाध्यता थियो। पुसदेखि बैंक घरदैलोमै सञ्चालनमा आएपछि स्थानीयलाई सहजता आएको हो। ‘गुमेको बैंक फेरि आउला भन्ने सोचेका थिएनौं’,भिंगृका स्थानीय व्यवसायी बद्रीप्रसाद श्रेष्ठले भने, ‘फेरि स्थापना भएपछि खुसी लागेको छ।’ सरकारी बैंकबाट सस्तो ब्याजदरमा ऋण लिन सकिने र सरकारले बैंकिङ क्षेत्रमा दिने सेवा सुविधाको बारेमा जानकारी लिन धेरै सहजता आएको सुनाए।
पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी जाने प्रवेशद्वार नजिकै बैंक सञ्चालनमा छ। स्वर्गद्वारी दर्शन गर्न पुग्ने तीर्थयात्रीलाई समेत बैंकले सहजता बनाएको छ। स्वर्गद्वारीमा दैनिक सयौंको संख्यामा तीर्थयात्री पुग्छन्। राजस्व संकलन, रेमिट्यान्स, कर्जा प्रवाह र बचतको क्षेत्रमा बैंकले सेवा दिँदै आइरहेको शाखा प्रबन्धक कपिलराज ज्ञवालीले जानकारी गराए।
बैंकमा हालसम्म ४ हजार ५ सय जना सेवाग्राहीले खाता सञ्चालन गरेको ज्ञवालीले बताए। सञ्चालनको सुरुवाती दिनमै २ हजार ३ सय जना सेवाग्राहीले खाता सञ्चालन गरेको बैंकले जनाएको छ। शाखाका अनुसार सुरुवाती दिनमै देशभरमै धेरै संख्यामा खाता खोल्ने सेवाग्राही यो नै पहिलो हो।
तत्कालीन विद्रोही माओवादीले २०५६ सालमा बैंक ध्वस्त पारेको बिजुवार शाखा प्रबन्धक नरेन्द्र मि श्रले जानकारी गराए। प्युठानमा भिंगृ शाखा मात्र द्वन्द्वमा विस्थापित भएको उनको भनाइ छ। बैंक पुनः स्थापित भएपछि स्वर्गद्वारी नगरपालिका क्षेत्रमा पर्ने भिंगृ, बेलवास, सारी, स्वर्गद्वारी, कोचिवाङ, गोठिवाङसहित छिमेकी जिल्ला रोल्पाका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्। ०७२ मा एक्सेन्टर काउन्टरमार्फत सेवा दिइरहेको बिजुवार काउन्टर हाल शाखाका रूपमा स्तरोन्नति भएको उनले बताए। नेपाल बैंकले जिल्लाका तीन स्थानबाट सेवा प्रवाह गरिरहेको छ।