बारेकोटमा खाद्यान्न अभाव
जाजरकोट : जिल्लाको बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। बारेकोट गाउँपालिकाको नायकवाडास्थित घाट डिपोमा चामल सकिँदा गाउँपालिकामा खाद्यन्न अभाव भएको हो। डिपोमा चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा चामल ढुवानी नगर्दा खाद्य संकट भएको हो।
बारेकोट क्षेत्र कर्णालीका जुम्ला र डोल्पासँग सिमाना जोडिएको जिल्लाकै दुर्गम गाउँपालिका हो। यहाँ बर्षेनी खाद्य संकट हुने गर्दछ। खाद्य संकट टार्न सरकारले यो वर्ष दुई हजार पाँच सय क्विन्टल चालमको कोटा निर्धारण गरेको छ।
सडक सञ्जालले नछोएपछि यहाँ घोडा र खच्चडबाट चामल ढुवानी हुन्छ। गाउँपालिका उपाध्यक्ष ओमा शाहीले स्थानीय पसलमा उपलब्ध चालम संस्थानको भन्दा दोब्बर महंगो हुँदा स्थानीय किनेर खानसक्ने स्थितिमा नभएको बताइन्।
गाउँपालिकामा यातायात सुविधा नहुँदा ढुवानीका लागि घोडा खच्चड प्रयोग गर्दा मूल्य बढी पर्ने भएकाले ठेकेदारले चामल ढुवानी नगरेका हुन्।
चामल ढुवानीको जिम्मा लिएका एनवी विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले खाद्य संस्थानबाट चार सय ५४ क्विन्टल चामल बुझेर लगेका छन्। खाद्य संस्थान जाजरकोट शाखाका निमित्त प्रमुख रामप्रसाद पौडेलले ढुवानीको जिम्मा लिएका ठेकेदारलाई बारम्वार ताकेका गरिरहेको बताउँछन्।
प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जिल्ला खाद्य व्यवस्था समितिको बैठकमा ठेकेदारलाई कारवाहीका लागि छलफल भएको छ। अन्तिम मौका दिने र यो महिनाभित्र चामल ढुवानी नभए ठेकेदारलाई कारवाही गर्न प्रक्रिया अघि बढाउने निर्णय भएको छ।
ढुवानीको जिम्मा लिएको एनवी विल्डर्सले असारभित्र सबै चामल ढुवानी गर्ने गरी ठेक्का सम्झौता भएकाले सोही अनुसार चामल ढुवानी गरिने बताएको छ।