मेसीको २ गोलसँगै बार्सिलोना क्वार्टरफाइलनमा
बार्सिलोना : बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। बार्सिलोनाले बिहीबार राति घरेलु मैदानमा खेलिएको खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लेगानेसमाथि ५-० गोलको सजिलो जित हासिल गर्यो।
बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लियोनल मेसीले पनि दुई गोलको योगदान गरे। खेल सुरु भएको चौथो मिनेटमै एन्टोइन ग्रिजम्यानले बार्सिलोनालाई अग्रता दिलाएका थिए। एकपक्षीय खेलको २८औं मिनेटमा क्लिमेन्ट लेङ्लेटले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा पनि तीन गोल थप्यो।
५९औं मिनेटमा मेसीले बार्सिलोनाका लागि तेस्रो गोल गरे। ७७औं मिनेटमा अर्थरले टोलीको अग्रता ४-० बनाए। निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि कप्तान मेसीले व्यक्तिगत रूपमा दोस्रो गोल थपे। मेसीले क्लबका लागि गरेको गोल संख्या ६ सय २३ पुगेको छ। बार्सिलोनाको जर्सीमा मेसीले जितेको यो पाँच सयौं खेल पनि हो।
बलियो टोली सेभिल भने क्वार्टरफाइनलमा पुग्न असफल भयो। अन्तिम १६ टोलीबीचको भिडन्तमा दोस्रो दर्जाको क्लब मिरान्डेजले सेभिललाई ३-१ गोलले हरायो। रियल म्याड्रिड, भिल्लारियल, ग्रानडा, एथलेटिक बिल्बाओ, भ्यालेन्सिया र रियल सोसिएडाड भने यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !