जाडो छल्न दाङ झरेका २५० भेडा जंगलमै मरे
दाङ : पूर्वी रुकुमको लुकुमबाट चराउनका लागि दाङ ल्याइएका २ सय ५० भेडा जंगलमै मरेका छन। रुकुमको भुमे गाउँपालिका-१ लुकुमका ४ भेडालापक किसानले चिसो छल्न दाङ ल्याएका भेडा जंगलमै मरेका हुन। पाँच सय भेडा लिएर दाङ आएका भेडा अज्ञात रोगका कारण २ सय ५० भेडा जंगलमै मरेको भेडा पालक किसान धर्मकुमारी पुनले बताइन।
चिसो महिना रुकुममा हिउँ पर्ने हुँदा भेडाहरु पाल्न समस्या हुने गरेपछि भेडा र बाख्रा लिएर रोल्पा हुँदै १६ दिन पहिले घोराही उपमहानगरपालिका-१९ को पाँचपोखरीमा आइपुगेका किसानका भेडा मर्न थालेपछि समस्या परेका बताउँछन। एक महिनामा चार भेडा पालक किसान परिवारका करिब दुई सय ५० भेडाहरु मरेको किसान प्रेमबहादुर पुनले बताए। ‘रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडामा समस्या देखिएको हो, त्यहाँ चिसोका कारण भेडा मरेको होला भन्ने लागेको थियो’,उनले भने,‘नयाँ ठाउँ र जंगलमा भएको कारण उपचार गर्न सकिएन, अहिले ठुलो क्षती भयो।’
पाँचपोखरी जंगलमा आइपुगेपछि धेरै भेडाहरु मरेको भेडा पालक किसान धर्मबहादुर बुढामगरले बताए। ‘एउटै बगालमा रहेका बाख्राहरु मरेका छैनन्, तर भेडाहरु भने मुख पाक्ने, छेर्ने र झुङ्ने गर्दै मर्ने गरेका छन’, उनले भने, ‘हिउँबाट बचाउनका लागि ल्याइएका भेडाहरु अज्ञात रोगका कारण मर्न थालेपछि हामी समस्यामा परेका छौँ।’ उनका अनुसार अहिले दैनिक दर्जन बढि भेडाहरु मर्ने गरेका छन्। भेडामा यो समस्या देखिएपछि पशु कार्यालयले शनिबारदेखि उपचार थालेको जनाएको छ।
किसान धर्मका अनुसार आफ्ना एक सय २० वटा, प्रेमबहादुर पुनमगरका एक सय २० वटा, धर्मकुमारी पुनका एक सय १५ र रामकृष्ण पुनका एक सय १५ वटा भेडाहरु रहेका थिए। त्यसमध्य अहिले घटेर करिब दुइ सय ५० मात्र भेडाहरु रहेका छन्।
चिसोका कारण क्षति भएको अनुमान गरिएको जिल्ला भेटनरी अस्पतालका प्रमुख डा. बेद बहादुर केसी बताए। उनले अस्पतालको प्राविधिक टोलीले उपचार थालेको बताए। नमुना क्षेत्रीय ल्यापमा परिक्षणको लागि पठाइएको र भोलिसम्म यर्थाथ आउने उनले बताए।
चिसो बढी हुने, हिउँ पर्ने र घाँस काटनसमेत समस्या हुने भएकाले जिल्ला बाहिर ल्याउने गरेको किसान धर्मकुमारीले बताइन। घरको मुख्य आम्दानीकै श्रोत भेडापालन भएको बताउँछिन । ‘घर खर्चका लागि अन्य कुनै माध्यम छैन’, धर्मकुमारीले भनिन ,‘यहि भेडा पाल्ने र यहि बेचेर आएको पैसाले जीवन चलाउने हो।’