कट्याककुटुक खाजा

कट्याककुटुक खाजा

मर्‍याङमर्‍याङ चपाउँदै गर्दा खितितिति गरेर कोही हाँसेजस्तो सुन्यो सोहनले। उसले ध्यान दिएर सुन्यो। उसले चपाउँदै गरेको चना, बदाम, बकुला, केराउ, मकै र भटमास पो हाँसेका रहेछन्।


जाडोको महिना। स्कुल बिदा छ। निशा र सोहन आमासँगै रमाइलो मेलामा घुम्न आएका छन्।

‘लौ हजुर कट्याककुटुक खाजा खानुस् ’, खाजा बेच्ने दाइले डालो बिसाउँदै भने।

‘खै खै कट्याककुटुक खाजा ’, आमाले कट्याककुटुक खाजा किन्नु भयो। अलिकति चना। अलिकति केराउ। अलिकति बदाम। अलिकति बकुला। अलिकति मकै। अलिकति भटमास पनि। अनि अलिकति लसुन पनि लिनुभयो कट्याकुटुक खाजासँगै खानलाई।

‘किन कट्याकुटुक खाजा भनेको होला ? ’, निशाले जिज्ञासु भएर सोधी।

‘खाँदाखेरि कट्याककुटुक आवाज आउने भएर होला ’, सोहनले भन्यो।

‘खुप होला ’, निशाले ओठ लेप्र्‍याई।

‘पहिला खाएर हेर न ’, सोहनले अलि जंगिएर भन्यो।

दाजुबहिनीको झगडा सुनेर आमा मुसुमुसु हाँस्नु भयो।

निशाले बकुला मुखमा हाली। दाँतले जोडले टोकी। कट्याक्क गर्‍यो। उसको दाँतै दुख्यो।

‘देखिस्, कट्याक्क गर्‍यो होइन ’, सोहनले गर्वसाथ भन्यो।

‘हो, गर्‍यो ’, निशाले अलि अँध्यारो मुख पारेर भनी, ‘मेरो त दाँत नै दुख्यो।’

सुनेर आमा र सोहन दुवैजना हाँसे।

सोहनले केराउ खायो। केराउ टोक्दा कुटुक्क आवाज आयो। निशाले भनी, ‘उ, कुटुक्क गर्‍यो।’

‘हो, त्यही भएर पो यो गेडागुडीलाई कट्याककुटुक खाजा भनेको रै’छ ’, सोहनले केराउ चपाउँदै भन्यो।

त्यसपछि आमाले चना खानुभयो। निशाले पनि चना नै खाई। अनि सोहनले पनि चना नै खायो। चना टोक्दा कट्याक्क आवाज आएन। चना चपाउन सजिलो थियो। सजिलोसँग चपाएर खाए।

तीनै जनाले चनामात्रै खाएकाले चना खुसी भयो। केराउ, बदाम, बकुला, मकै र भटमास चाहिँ खिसिक्क परे। चनालाई हेर्दै उनीहरू ठुस्स परे।

‘चनामात्रै खाने ?   हामीलाई नखाने ? ’, बदामले हल्का रिसाउँदै भन्यो।

‘हो त हामीलाई चाहिँ नखाने ? ’, मकैले पनि अलिकति रिसाउँदै भन्यो। भटमासले चाहिँ मकैसँगै टाँस्सिएर अरूलाई हेरिरह्यो।

‘हो त, हामीलाई चाहिँ हेप्नी ? ’, बकुलाले पनि रिसाउँदै भन्यो। केराउ चाहिँ ठुस्स परिरह्यो। केराउ रिसाएर गुर्र गुड्दै अलि पर पुग्यो। उसँगसँगै बदाम, बकुला, मकै र भटमास पनि गुड्दै गए। चना चाहिँ खित्खित् हाँसिरह्यो।

‘हैन के भा’को यो ? ’, गेडागुडी गुडेको देखेर आमाले अचम्म मान्दै भन्नुभयो।

‘रिसाए.. ’, सोहन चिच्यायो।

‘को ? ’, निशाले भनी।

‘अरू को हुन्थ्यो, कट्याकुटुक खाजा नि। केराउ, बदाम, बकुला, मकै र भटमास हामीसँग रिसाए। अघि बकुलाले बाउँठिएर हामीलाई चाहिँ हेप्नी भनेजस्तो लाग्याथ्यो ’, सोहनले नयाँ कुरा पत्ता लगाएजसरी भन्यो।

आमा र निशाले छक्क परेर सोहनलाई हेरे।

‘तैंले कसरी थाहा पाइस् ? ’, निशाले निकै उत्सुकतापूर्वक सोधी।

‘हामीले चनामात्रै खायौं नि त। त्यसैले। चनामात्रै खाएपछि अरूलाई हेलाँ गरेजस्तो हुन्छ। अनि रिसाउँदैनन् त !’, सोहनले बदाम मुखमा क्वाप्प हाल्दै भन्यो।

गेडागुडीले निशा, सोहन र आमाको गलफत्ती सुनिरहे। अब के गर्छन् भनेर हेरिरहे।

निशा र सोहनले गेडागुडीलाई नियालेर हेरे। आमाले पनि हेर्नुभयो।

‘हामीलाई चाहिँ नखाने ?   हामीलाई हेप्नी ? ’, कताकताबाट यस्तो आवाज आएजस्तो लाग्यो। तीनैजनालाई यस्तो महसुस भयो। के अचम्म हो यो ?     

‘हामीले कसैलाई हेपेका छैनौं क्या ’, यसो भन्दै निशाले एक मुठी मकै मुखमा हाली।

‘हो त, हामीले कसैलाई हेपेका छैनौं। हामीलाई सबै चाहिन्छ चना, बदाम, बकुला, केराउ, मकै र भटमास पनि। अब पालैसित खाने हो नि त’, आमाले पनि केराउको दाना मुखमा हाल्दै भन्नुभयो।

सोहनको मनमा के विचार आयो कुन्नि। उसले चना, बदाम, बकुला, केराउ, मकै र भटमास सबै मिसाएर एक फाँको मुखमा हाल्यो। अनि मर्‍याङमर्‍याङ चपाउन थाल्यो। चपाउँदा कहिले कट्याक्क गर्‍यो। कैले चाहिँ कुटुक्क। आफ्नै मुखभित्र कट्याककुटुक गरेको आवाज सुनेर सोहन दंग पर्‍यो।

मर्‍याङमर्‍याङ चपाउँदै गर्दा खितितिति गरेर कोही हाँसेजस्तो सुन्यो सोहनले। उसले ध्यान दिएर सुन्यो। उसले चपाउँदै गरेको चना, बदाम, बकुला, केराउ, मकै र भटमास पो हाँसेका रहेछन्। किन हाँसेका होलान् त यिनीहरू ? सोहनको मनमा जिज्ञासा उठ्यो।

सोहनको मनको कुरा थाहा पाएर सबैभन्दा जेठो बकुलाले भन्यो, ‘हामी सबै एकै परिवारका हौं। परिवारका सबैजना एकै ठाउँमा भेला हुन पाएर हामीलाई साहै्र खुसी लाग्यो। त्यसैले हामी खुसीले हाँसेको।’

‘हो त परिवार एकै ठाउँमा भेला हुँदा कस्तो रमाइलो हुन्छ। हामी पनि दशैंमा टीका लाउन एकै ठाउँमा भेला हुन्छौं। कस्तो रमाइलो हुन्छ नि त्यतिखेर’, सोहनले पनि मनमनै भन्यो।

आमा, सोहन र निशाले पालैसित चना, बदाम, बकुला, केराउ, मकै र भटमास खाए। एकैपटक सबैथोक खाँदा मीठो भयो। भोक पनि मर्‍यो।

कट्याककुटुक खाजा सबै खाइसकेर आमाले भन्नुभयो, ‘कस्तो लाग्यो आजको कट्याककुटुक खाजा ? ’

सोहन र निशा दुवैले एकै स्वरमा भने, ‘साहै्र मीठो।’

‘मीठो मात्रै होइन, यो त पोसिलो पनि छ। यस्तो खाजाले स्वास्थ्यलाई राम्रो गर्छ। चाउचाउ र चिजबलजस्ता जंकफुड (पत्रुखाजा) ले चाहिँ स्वास्थ्यलाई हानि गर्छ। त्यसैले सकेसम्म यस्तो खाजा खानु हुँदैन।’

‘हस् आमा ’, निशा र सोहनले फेरि एकै स्वरमा भने।

आमा खुसी हुनुभयो। अनि दुवै जनालाई मायाले अँगाल्नुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.