अधिकृत-जवानको संयुक्त मेस उद्‍घाटन

अधिकृत-जवानको संयुक्त मेस उद्‍घाटन

भक्तपुर : महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा प्रहरी अधिकृत र जवानको संयुक्त मेस सुरु भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले देशभर प्रहरी जवानको मेस खान लायक बनाइने बताएका छन्। प्रहरीका उच्चपदस्थ अधिकारीको तुलनामा तल्लो दर्जाका प्रहरी जवानहरूको मेस ‘खानलायक’ नभएको उनको भनाइ थियो।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा आइतबार प्रहरी अधिकृत र जवानको संयुक्त मेस सुरु गर्दै डीआईजी पोखरेलले अब प्रहरी संगठनभित्रका सबै तहले एउटै मेसमा खाना खाने व्यवस्था गरिने बताए।

उनले प्रहरी संगठनभित्रको तीन तहको मेसको व्यवस्था तोडिने जिकिर गरे। प्रहरीभित्र दर्जाअनुसारको मेस छ। जुनियर अधिकृत, सिनियर अधिकृत र जवानको छुट्टाछुट्टै मेस छन्।

‘हिजो जवानको मेसको स्तर खानलायक थिएन’, उनले भने, ‘वरिष्ठ अधिकृतहरूको मेसको स्तर भने विशिष्ट हुन्थ्यो। अब सबको स्तर बराबर मात्र होइन मेस नै एउटै हुनेछ।’ डीआईजी पोखरेलले तल्लो तहका प्रहरी कर्मचारीको मनोबल बढाउन पहिलो चरणमा मेस सुधार अभियान चलाइने स्पष्ट पारे।

‘पटक–पटक मेस सुधारको प्रयास गर्दा पनि सफल हुन सकेन’, डीआईजी पोखरेलले भने, ‘तर अब सबै तहको मेसलाई विलय गराएर स्तरीय एवं सामूहिक मेस बनाउने अभियान अगाडि बढाएका हौं।’

सामूहिक मेसले सबै प्रहरी कर्मचारीलाई हामी एक हौं भन्ने भावना जागृत हुने उनले विश्वास व्यक्त गरे। ‘यसले प्रहरी कर्मचारीको मनोबल बढ्ने र काममा प्रभावकारिता आउनेछ’, उनले थपे, ‘यसले प्रहरीबीच अपनत्व बढाउनेछ।’

उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्लामा यो अभियान द्रुतगतिमा सञ्चालन गरिनेछ। काठमाडौं उपत्यकाका प्रहरी कार्यालयमा १० दिनभित्र सामूहिक मेस बनाइसक्ने डीआईजी पोखरेलले जानकारी दिए। यस अभियानलाई क्रमशः देशभर सञ्चालन गरिने उनले सुनाए।

मेस उद्घाटनपछि डीआईजीले ठिमी वृत्तका जुनियर अधिकृत तथा जवानसँग बसेर सामूहिक भोजन गरेका थिए। प्रहरी संगठनभित्र सबै दर्जाको सामूहिक मेस सञ्चालनले प्रहरीको सेवामा धेरै प्रभाव पर्ने वरिष्ठ प्रहरी अधिकृतहरू बताउँछन्। उनीहरूले सामूहिक मेस सञ्चालनले प्रहरी संगठनभित्र धेरै सकारात्मक परिवर्तन ल्याउने दाबी गरे।

वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले एउटै मेसको व्यवस्थाले जवानहरूले खाने खानाको स्तर मात्र बढ्ने होइन, उनीहरूको काम गर्ने मनोबलसमेत उच्च हुने दाबी गरे।त्यस्तै, वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले एउटै मेसको व्यवस्थाले सबै सुरक्षाकर्मीले एउटै स्तरको स्वस्थ र गुणस्तरीय खाना खान पाउने बताइन्।

‘मेस मात्रै सुध्रिएको छैन। खानाको गुणस्तर पनि बढेको छ’, महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले भने, ‘यसले जवानमा काम गर्ने जाँगर र उत्साह बढेको छ।’

संयुक्त मेसले आफूहरू उत्साहित भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी जवानहरूले प्रतिक्रिया दिएका छन्। उनीहरूले हिजोको मेस र आजको मेसमै आकाश–जमिनको फरक भएको सुनाए।

उनीहरूले भने, ‘हिजो मेसको अवस्थाले अपहेलित महसुस गरेका थियौं तर आज एउटै मेस सरु हँुदा थप हौसला मिलेको छ।’ वृत्तमा सञ्चालनमा ल्याइएको मेसमा साप्ताहिक खाना तथा खाजाको तालिकासमेत टाँस गरिएको छ। त्यस्तै, संयुक्त मेसको १७ बुँदे अनुशासन र प्रहरीलाई चाहिने क्यालरीको सूची जारी गरिएको छ। प्रहरीको मेसमा पाइने ४७ थरीका खानेकुराको मूल्यसूचीको समेत व्यवस्था गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.