समाज र जनजीवनको बिम्ब बन्दै गजल
राणा शासकको भोगविलासयुक्त जीवनशैलीको आधारभूमिबाट गजल परम्पराको सुरुआत भएको पाइन्छ । युवाकवि मोतीराम भट्ट नै गजल लेखनका मूल भेटिन्छन् नेपाली गजलको इतिहासमा। माध्यमिककालीन नेपाली साहित्यमा श्रृंगारिक प्रवृत्तिको शिलान्यासको श्रेय उनैलाई जान्छ । उनका अधिकांश गजल श्रृंगारिक भाव धारामै केन्द्रित छ । अरबीबाट थालनी भएको गजल विधा पार्सी, हिन्दी र उर्दू हुँदै नेपाली भाषामा प्रवेश गरेको पाइन्छ । त्यो मात्र होइन, यो आधुनिक कालमा समेत नेपाली गजल लगभग श्रृंगारिक भावमै रुमलिएको अनुभूत सबैलाई छ । मोतीरामको गजलका यी शेर, ‘इ सानै उमेरदेखि मन हर्न लागे, इनै सुन्दरीले जुलुम् गर्न लागे । एकैपल्ट आँखा घुमाइ दिनाले, कति मर्न लागे कति डर्न लागे...।’
सातौं शताब्दीमा अरबी भाषाबाट सुरु भएको गजल २१औं शताब्दीसम्म आइपुग्दा पनि खासगरि युवा पुस्तामा उत्तिकै आकर्षण हुनुले यसको भविष्य अझ फराकिलो हुने प्रष्ट छ । नेपालमा गजल एक सय ३० वर्षको भएको छ । यसबीच गजलमा भाव, विचार र तर्कले डेरा जमाएका छन् । गजलको रंगीन दुनियाँले आकर्षित गर्दा हजारौं युवा गजलकार बने । तिनले गजल लेखनमा अभ्यास गरे, उत्पादन पनि गरे । यस अर्थमा सबै गजल ‘गजल’ बनेनन् होला, यो अर्कै पक्ष हो तर गजललाई ‘गजल’ कै कोटीमा न्याय दिन सक्ने खारिएका गजलकारका गजल भने सबैका मुटुमाझ ‘वाह् !’ बनेर बसिरहेकै छन् । उनीहरुका सिर्जना लोकप्रियताको शिखरमै छन् । सबैको मुखमा झुन्डिएको डा. कृष्णहरि बरालको एउटा गजल जुन चलचित्रमा परेको छ, ‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन... ।’ यो र यस्ता गजलले अहिले समाज र जनजीवनलाई चित्रण गर्न थालेका छन् । प्रतिष्ठानले यसै वर्ष प्रकाशन गरेको ‘आधुनिक गजल’ र ‘बाल गजल’ को संग्रहले पनि गजलको घरमा दुईवटा इँट थपेका छन् ।
पहिलो गजल महोत्सव र तरंग
लामो संघर्षपछि गजल विधाले एउटा हैसियत बनाएको छ । २०२२ सालदेखि कविता महोत्सव गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक गजल विधाको महोत्सव गरेको छ । सरकारी तवरबाट भएको यो प्रयासले गजलकारले गजल लेखनमा गर्वमात्र गरेका छैनन्, बरु गजलको भविष्य उज्ज्वल हुने ‘सपना’ देखेका छन् । ज्ञानुवाकर पौडेलको एउटा गजल २०३५ सालमा प्रकाशित भएपछि पुनर्जागरण काल सुरु गरेको नेपाली गजलले अहिले सातै प्रदेशका ७७ जिल्ला, २९३ नगरपालिका र ४६० गाउँपालिकामा खासगरि युवा पुस्तालाई तरंगित बनाएको छ । माघ १५ र १६ गते राजधानीमा सम्पन्न गजल महोत्सवले एकातिर राजधानीको साँघुरो घेरा तोडेर मोफसलका सबै प्रदेश समेटेको छ तर नेपाल बाहिर कर्मथलो बनाएका गजलप्रेमीलाई भने समेट्न सकेन । नेपाली गजल बिस्तारमा विश्वभर छरिएका ती गजल सर्जकको ठूलो हातलाई दोस्रो गजल महोत्सवले अवश्य समेट्नु पर्छ ।
पहिलो दिन प्रत्येक प्रदेशबाट पाँचजना र उपत्यकाबाट २८ जनालाई गजल वाचन र गायनको अवसर दिइएको थियो । संयोगले नेपाल आएका गजल सर्जकले भने स्थान पाएका थिए । जसले नेपाली युवाको रुचि, आकर्षण केमा छ ? उनीहरुको आवश्यकता के रहेछ ? त्यो छर्लंग भएको छ । युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले समापनमा भने, ‘गजलमा कति आकर्षण र क्षमता हुन्छ भन्ने महोत्सवमा थाहा भयो, युवाले चाहेको समाज बुझ्न महोत्सवमा राष्ट्रिय योजना आयोगका पदाधिकारी पनि बोलाइनु पर्छ ताकि देश विकासका लागि कस्तो खाका कोर्ने र कहाँ के कति लगानी गर्ने भन्ने प्रष्ट हुनेछ ।’ प्रतिष्ठानको आयोजनामा भएको महोत्सवमा परिषद्को सहकार्य थियो ।
पहिलो दिनको तेस्रो सत्र ‘तरन्नुम’ ले भव्य बनाएको थियो । अर्थात् गजल गायनको मिठास बूँद राना, सनतकुमार वस्ती, धीरेन्द्र प्रेमर्षि, रामबहादुर पहाडी, शीतल कादम्बिनी, सूर्य चापागाई, लालकाजी श्रेष्ठ, सुवास अगम, अनुपमा करार, सादाव हलवाई, अन्सर नेपाली, जित कार्की, आवाज शर्मा, दिलु थापा मगर र नसद कादरीले भरेका थिए । नेपाली गजल गोष्ठी वा कार्यक्रमहरुमा फाट्टफुट्ट तरन्नुमको स्वाद लिन पाए पनि छुट्टै सत्रका रुपमा रसास्वादन गर्न पाएको यो पहिलो हो । स्टुडियोमा रेकर्डिङ भएर रेडियो, टेलिभिजन र युट्यूबबाट सुन्न हेर्न पाइने अवस्था गजलमा सहज भएको छ तर योभन्दा पृथक स्वाद दिन्छ तरन्नुमले । यसको झंकारमा तरंगित भए युवासँगै प्रौढ पुस्ता पनि ।
दोस्रो दिनको मुख्य आकर्षण रह्यो, डा. घनश्याम न्यौपाने परिश्रमी र घनेन्द्र ओझाको ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ र टीकाराम उदासीको ‘नेपाली गजल ः परम्परा र प्रवृत्ति’ विषयक दुई गोष्ठीपत्र र यसको टिप्पणीमा । पहिलोमा प्राडाद्धय कृष्णहरि बराल र सनतकुमार वस्तीले र दोस्रोमा डा. नेत्र एटम र डा. गीता त्रिपाठीले टिप्पणी गरे । दोस्रो सत्रमा गजल लेखनका चुनौती र दिशाबारे परिसंवाद र सातवटै प्रदेशको नेपाली गजलको अवस्थाबारे प्रादेशिक प्रतिवेदन प्रस्तुत गरिए । तेस्रो सत्रमा वरिष्ठ गजलकारबाट गजल वाचन भयो भने अन्तिम सत्रमा गजल बहरमा लेख्नु उत्तम हुने र गजलमा अन्तर्वस्तुसमेत बलियो हुनुपर्ने जस्ता पाँच बुँदे घोषणा पत्र जारी गरी महोत्सव सम्पन्न गरियो ।
गजलबारे विवाद र विमर्श
‘तरकारी खाँदा थाहा हुन्छ, नुन, पिरो वा मसला पुग्यो पुगेन भनेर ।’ महोत्सवमा भएको ‘आजको गजल लेखन ः चुनौती र दिशा’ विषयक परिसंवादमा सहजकर्ता प्रभाती किरणले गरेको प्रश्नमा करुण थापाले दिएको उत्तर हो यो । गजलको गुणस्तरीयता र गजलकारले अब समाउनुपर्ने बाटोबारे यो वाक्यले ‘ट्रयाक’ दिएको छ । गुणस्तरसँग सम्झौता नगर्ने गजलकारले यो ट्रयाकमा ग्राभेल भर्न सक्छन् अनि सक्छन् पिच गर्न पनि । ट्रयाकलाई दुई लेनमा सीमित गर्ने वा ६÷८ वा १० लेनको बनाउने भन्ने चाहिँ नेपाली युवा गजलकारको हातमा छ । डा. साधना प्रतीक्षाले समस्याको समाधानमा भनिन्, ‘बहरमा लेख्न सके गजल सुनमा सुगन्ध बन्छ ।’
ज्ञानुवाकरले ‘विवाद उठाउँदा चाँडै चर्चित भइन्छ’ भन्ने कमसल मानसिकताले पनि गजल लेखनमा विवाद बढेको तर्क गरे । आवाज शर्माले नेपाली गजल नामक फसलको बोट हुर्किरहेको फल पाकेर देखिन बाँकी रहेको भन्दै निष्कर्ष निकाले, ‘नेपाली गजलमा जुँगाको लडाइँ छ ।’ ललिजन रावलले प्रत्येक गजलकारले आफूसँग भएका कमजोरी हटाए समाधान स्वतः निस्कने र गजलको स्तरोन्नती हुने तर्क गरे । डा. नेत्र एटमले भनेका छन्, ‘गजल लेखनमा विवाद होइन, विमर्शबाट निष्कर्ष निस्कन्छ अनि हामी गजलकार परिपक्व हुनेछौं ।’
महोत्सव गजलको ‘कोसेढुंगो’
प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले देशभित्र र बाहिरका नेपाली युवाको आकर्षणको केन्द्र भएकैले राष्ट्रिय गजल महोत्सवलाई सरकारले प्रवद्र्धन गरेको बताए । ‘नेपालको रुपान्तरणमा समग्र नेपाली साहित्यको विशिष्ठ स्थान छ, यसको मुख्य अंश युवा पुस्ताले गजलमार्फत् समाज र जनजीवन चित्रण गर्दै अघि बढेका छन्’, उनले भने । प्रतिष्ठानको साहित्य विभागका प्रमुख प्राडा हेमनाथ पौडेल महोत्सव नेपाली गजल यात्रामा ‘कोसेढुंगो’ बनेको बताउँछन् । महोत्सवका संयोजक उनी गजल क्षेत्रका मतान्तर न्युनीकरण भएको बताउने उनी भन्छन्, ‘गजल क्षेत्रमा गर्नुपर्ने थुप्रै काम बाँकी छन्, यो सुरुआत मात्र हो ।’ पूर्वकुलपति वैरागी काइँलाले नेपाली छन्द कविताको देशभित्र गजल महोत्सवका कारण अंगीकृत नागरिक बनेको उद्घोष गरे ।
बूँद रानाले एक दसकदेखिको चाहना प्रतिष्ठानले पूरा गरेकोमा खुसी छन् । महोत्सवमा सहभागीबारे कार्यक्रम सञ्चालक सरोज घिमिरेले सटिक रुपमा भने, ‘साग पसलमा भिड बढे पनि कारोबार कम हुन्छ, सुन पसलमा फाट्टफुट्ट मान्छे आए पनि कारोबार धेरै हुन्छ ।’ महोत्सवमा जति सहभागी भए, जेजस्ता गजल सुनाइए, जस्तो कार्यपत्र प्रस्तुत र टिप्पणी भयो र यी सबैमा जो र जति सहभागी भए त्यो ‘सुन’ भएको अनुभूति सबैले गरे । समापनमा पुगेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको यो भनाइले महोत्सवको महत्व झल्काउँछ, बढाउँछ, ‘गजल र बहस सुनेपछि महसुस भयो, मैले किन लेखिनँ वा प्रकृतिले ठग्यो ? यो खोजीको विषय होला तर गजल विधाको विकास गर्न सके समग्र देशको विकास हुनेमा अब म विश्वस्त भएको छु ।’
पाँच बुँदे घोषणा पत्र
अबको गजल लेखन र दिशाबारे पाँच बुँदे घोषणा पत्र जारी गरिएको छ । राष्ट्रिय गजल महोत्सव आयोजना गरेकोमा प्रतिष्ठानप्रति गजलकारका तर्फबाट आभार प्रकट गरिएको छ । नेपाली गजलका प्रणेता मोतीराम भट्टप्रति श्रद्धासुमन व्यक्त गर्दै गजल नेपाली साहित्यमा प्रवेश गरेको सवा शताब्दीभन्दा बढी भएको अवस्थामा नेपाली गजल लेखनको इतिहास र परम्पराप्रति सम्मान प्रकट गरिएको छ । गजलको सैद्धान्तिक पक्षलाई आत्मसात गर्दै गजल बहर वा छन्दमा लेखिनुपर्छ भन्ने कुरालाई मनन गरी नेपाली गजलको मौलिक पक्षलाई सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरियो ।
गजलमा अन्तर्वस्तु र रुप पक्षमा सन्तुलन हुनुपर्छ भन्ने कुरालाई अंगीकार गर्दै विचार, तर्क र कल्पनाको प्रस्तुति चमत्कारपूर्ण हुनुपर्छ भन्नेमा सहमती जुटेको छ । नेपाली गजलको विकास, समृद्धि र सम्मानका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानलाई राष्ट्रिय गजल महोत्सव वर्षमा एकपटक आयोजना गर्न अनुरोध गरिएको छ । महोत्सवका लागि गजलकारहरुको तर्फबाट गठन गरिएको घोषणा पत्र मस्यौदा समितिका तर्फबाट गरिएका यी पाँच बुँदा पारित भएको हो ।