हिउँको घुम्टोभित्र मुक्तिनाथ (फोटो फिचर)
जोमसोम : हिमालपारीको जिल्लाले परिचित नाम हो मुस्ताङ । मुस्ताङ अरु आफैमा भर्जिन छ । यसको बखान र प्रचार-प्रसार जरुरी पर्दैन । मुस्ताङ पछिल्लो समय नामले नै विश्व बजारमा प्रसिद्ध छ । यहाँ पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ र अलौकिन धार्मिक तथा प्राकृतिक सम्पदा छन् । यसैले स्वदेश तथा विदेशी पर्यटकको ध्यान मुस्ताङतर्फ आर्कर्षित गराइदिन्छ ।
हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मानिएको मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि ३८ सय मिटरको उचाइमा अवस्थित छ । बर्खायाममा मुस्ताङ जिल्ला गुल्जार हुन्छ ।
हवाइ तथा धावनमार्गबाट आएका पर्यटकले मुक्तिनाथ क्षेत्र र यसआसपासका पर्यटकीय व्यवसाय केन्द्र पर्यटकले भरिन्छ । तर , हिउँदयामको डिसेम्बर तारिखदेखि मार्चसम्म पर्यटक तथा तीर्थालुको आउजाउ न्यून हुने गर्छ । हिमाली जिल्ला भएकाले हिउँदमा यहाँ हिमपात र चिसो हुन्छ ।यसैले यहाँ तीर्थालुको चाप कम भएको हो ।
यस याममा कतिपय पर्यटन व्यवसायी तथा स्थानीय जाडो छल्न बेशी झर्छन् । हिमपात र जाँडोले पर्यटकको उपस्थिती नभएपछि मुक्तिनाथ हिउँदको २ महिना सुनसान हुन्छ । उक्त बेला यहा कार्यरत कर्मचारी, पूजारी र आनी झुमा समेत बस्दैनन् ।
तर, केही सीमित मन्दिरका जनशक्तिले मुक्तिनाथ धानेका हुन्छन् ।मुस्ताङमा यसपाली लगातार ३ पटक हिउँ पर्यो । तर,वारागुङ मुक्तिक्षेत्रको कागबेनीदेखि तलको क्षेत्रमा धेरै हिउँ परेन ।
मुक्तिनाथ र उपल्लो मुस्ताङका २ पालिकामा भने बाँक्लो हिउँ परेकाले डाडाँकाँडा सेताम्मे बने । मुक्तिक्षेत्र जाने सडकको खिङ्गादेखि झारकोट ,रानीपौवा र मुक्तिनाथ परिसरको खेत ,पाखो र बाटोमा बाक्लो हिउँ पर्यो । हिउँले मुक्तिक्षेत्रको जनजीवन प्रभावित भएपनि यहाँको सौन्दर्यतालाई भने बढाइदियो ।
मुक्तिनाथ आसपासको पाखोमा ५ फिट बढी हिउँ छ । मन्दिर परिसर र मन्दिरको भुँइतलादेखि माथिको गजुरसम्म हिउँ टक्क अडिएको देख्दा जो कोही तीर्थालु मोहित हुन बाध्य हुन्छन्।
चाँदी झै टलक्क टल्किएको हिउँको घुम्टोभित्र सजिएको मुक्तिनाथको दृष्यले तीर्थालुको दर्शनलाई अझ पवित्र पारिदिन्छ । कैलास पर्वत हिमालको बीचमा छ ,जुन हिन्दु पुराणमा उल्लेख छ । विस्तारै गर्मीयाम छाउने क्रममा मुक्तिनाथलाइ हिउँले ढाकिदिएकाले कतिपयले यसलाई कैलाश पर्वतको संज्ञा दिन्छन् ।
मुक्तिनाथ परिसरमा बाँक्लो हिउँ जमेको छ । मुक्तिक्षेत्रको शिवजी मन्दिर ,स्वामी नारायण मन्दिर , नरसिह गुम्बा ,ज्वालामाइ र नजिकैको ठूलो बुद्ध स्तुपामा समेत हिउँले घुम्टो ओढाइदिएको छ। पात झरेका नाङ्गा रुखले परिसरको उज्यालोमा हिउँले सहयोग पुर्याउँछ ।
मुक्तिनाथमा विस्तारै तीर्थालुको रौनक छाउँदैछ । हिउँले मुक्तिनाथ आउजाउको यात्रामा चुनौति थपिए पनि हिउँको वातावरणी रौनकताले सबैको थकानलाई बिर्साउन बाध्य गराइदिन्छ । चारैतर्फ हिउँका दृष्य हेर्दै मुक्तिनाथ पुग्ने तीर्थालुले स्वर्गको अनुभूति गर्न पाउँछन् । अहिले मुक्तिनाथ दर्शन गर्ने र हिउँ खेल्ने पर्यटकको लर्को सुरु भइसकेको छ ।
सडक छेउको पाखोमा परेको हिउँ खेल्दै मुक्तिनाथ यात्रालाई अविस्मरणीय र जीवन्त तुल्याइदिन्छ । विस्तारै मुक्तिनाथमा बन्द भएका होटल तथा रेष्टुरेन्ट खुल्न थालेका छन् ।मुक्तिनाथ बसपार्कदेखि मन्दिरको दुरी ३ किमी छ,जहाँ सवारी जाँदैन । वृद्धवृद्धा र अशक्त अपांगहरु घोडा वा स्टेचरको सहयोगमा मुक्तिनाथ जान्छन् । मुक्तिनाथको रानीपौवामा पर्यटक लक्षित ५० भन्दा बढी होटल संञ्चालनमा छन्।
किन प्रसिद्ध छ मुक्तिनाथ ?
मुक्तिक्षेत्रलाई सनातन हिन्दुले भगवान नारायणको शक्तिपीठ मान्दछन् । यहा विष्णु शिला , मोक्ष वृक्ष , ज्वालामाइदेखि नरसिंह र शिव मन्दिर छन् । मुक्तिक्षेत्रमा भगवान विष्णुले तपस्या गर्दा तपतापले उनको गालाबाट चुहिएको पसिनाबाट गण्डकी नदी उत्पती भएको भन्ने धार्मिक ग्रन्थमा उल्लेख छ ।
कतिपयले यहाँ सतीदेवीको अंग पतन भएको स्थानका रुपमा बुझ्छन् । यसैले यसक्षेत्रमा विष्णु र शिवजीको बासस्थान भएको ठाउँको रुपमा लिएको पाइन्छ । मुक्तिनाथसँग ऐतिहासिक धेरै कथाले जोडिएको छ ,जसले मुक्तिनाथप्रति धेरैको आस्था र विश्वास बढाएको छ । त्यसो त मुक्तिनाथमा १५ औ शताब्दी ताका गुरु पद्यसम्भवले तिब्बत जाने क्रममा मुक्तिनाथमा ध्यान गरेको भन्ने भनाइ छ ।
पछिल्लो समय मुक्तिनाथमा स्वदेशी तीर्थालुका साथसाथै भारतीय तीर्थालुको आगमन पनि उक्तिकै बढेको पाइएको छ । भारतको ४ धामको दर्शन गरेपनि नेपालको मुक्तिनाथ दर्शन नगरे सबै ठाउँमा गरिएको दर्शन अपुरो हुने विश्वासले भारतीय तीर्थालु ज्यानै फालेर मुक्तिक्षेत्र आइपुग्छन् ।
त्यसो त तेश्रो मुलुकका पर्यटकले पनि मुक्तिनाथ क्षेत्रको अध्ययन अवलोकन गर्ने गरेको पाइएको छ । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर दर्शन गरेपछि यसक्षेत्रको चर्चा विश्व समुदायमा चुलिएको हो।