ओझेलमा भक्तपुरको माधवनारायण व्रत
भक्तपुर : एक महिनासम्म बस्ने भक्तपुरको श्रीस्वस्थानी एवं माधवनारायणको व्रत ओझेलमा पर्दै आएको छ। मल्ल राजकुमारलेसमेत व्रत बसेको भक्तपुरको माधवनारायणको व्रतले चर्चा पाउन नसकेको हो।
भक्तपुरको माधवनारायण व्रत काठमाडौंको साँखुस्थित शाली नदीमा बस्ने व्रतभन्दा पुरानो मानिन्छ। तर यहाँ व्रत बस्नेको संख्या दिनानुदिन घटिरहेको छ। शाली नदीमा भने व्रतालुसँगै मेला भर्न पुग्ने भक्तजन निरन्तर बढिरहेका छन्। तर भक्तपुरमा पनि श्रीस्वस्थानी एवं माधवनारायणको व्रत बस्नेबारे धेरैलाई जानकारी छैन।
हिन्दू परम्पराअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दू नारीहरु माधवनारायणको एक महिना लामो कठिन व्रत बस्ने गर्छन्। जसअनुसार भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक हनुमानघाट तीर्थस्थलमा यो एकमहिने कठिन व्रत बस्ने प्रचलन रहँदै आएको छ। भक्तपुरको मूलबस्ती उत्तरतर्फ खासाङखुसुङ खोला र दक्षिणतर्फ हनुमन्ते खोलाले घेरिएर बीचमा शंख आकारमा बसेको छ। यसमध्ये हनुमन्ते खोला दक्षिण पूर्वबाट भद्रा र उत्तर पूर्वबाट बीरा (तब्या खुसी) नामका दुई खोला बग्दै हनुमानघाट पुगेपछि जमिन मुनिबाट उत्पत्ति भएको तमसा नदीसँग मेल भइ त्रिवेणी हुन्छ र पश्चिमतर्फ बग्दछ।
पवित्र धार्मिक, साँस्कृतिक तीर्थको रुपमा रहेको त्रिवेणीमा करिब ६ सय वर्षअघि माधवनारायणको व्रत बस्न थालिएको संस्कृतिविद्हरु बताउँछन्। उनीहरुका अनुसार माधवनारायण व्रतबारे मल्ल राजा जयस्थिति मल्लपछि उनका छोराहरु धर्म मल्ल, ज्योति मल्लको संयुक्त शासनकालमा ने.स. ५२८ मा भक्तपुर वाकुपति नारायणको गरुडस्तम्भमा स्पष्टसँग उल्लेख गरिएको छ।
उक्त स्तम्भमा उल्लेखित ‘माघ व्रत गोष्ठी’ तत्कालीन समयमा माघ महिनाभरि माधवनारायणको व्रत बस्ने, भजन गर्ने जस्ता विविध सांस्कृतिक मेला भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्। उनका अनुसार त्यसबेला माघ व्रत गोष्ठी सञ्चालन गर्न गुठीको व्यवस्था गरिएको थियो।
संस्कृतिकर्मी धौभडेलले ने.सं ७२२ देखि हनुमानघाटमा अझ व्यवस्थित रुपमा माधवनारायण व्रत चलेको देखिएको जानकारी बताए।
उक्त समयमा भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको पालामा उनका छोरा अजितसिंह मल्लको अगुवाइमा हनुमानघाटमा माधवनारायण व्रत सञ्चालन भएको इतिहास पाइएको उनले उल्लेख गरे।
‘मल्ल कालमा राजकीय तहबाटै हनुमानघाटमा हुने माधवनारायण व्रतको तयारी हुन्थ्यो’, उनले भने, ‘तर अहिले यसबारे थोरैले मात्रै चासो लिएको पाइन्छ।’
व्रत व्यवस्थापन गर्न भने माधवनारायण व्रत व्यवस्थापन समिति बनाइएको छ। हालसम्म सोही समितिको पहलमा व्रत निरन्तर चल्दै आएको छ। समितिका अनुसार यस वर्ष २० पुरुष र पाँच महिला गरी २५ जना व्रत बसेका छन्।
संस्कृतिकर्मी धौभडेलका अनुसार साँखुको माधवनारायण व्रतभन्दा भक्तपुर हनुमानघाटको व्रत अत्यन्त कठोर मानिन्छ।
यहाँ व्रत बस्नेले व्रतअवधिभर अरुलाई छुन नहुने जनविश्वास रहेको छ। त्यस्तै बाटोमा हिँड्दासमेत व्रतालुले अरुको छायाँ पर्न दिन नहुने प्रचलन रहेको उनले बताए।
‘हनुमानघाटमा व्रत बस्नेहरुलाई कुनै वस्तु दान दिनुपरे उक्त व्यक्तिले समेत त्रिवेणीमा स्नान गरी नङ छुवाउनुपर्ने कठोर नियम रहेको छ’, संस्कृतिकर्मी धौभडेलले भने, ‘त्यसैले यहाँ व्रत बस्नेको आकर्षण घट्दै गएको छ। अन्य भक्तजन पनि कम पुग्ने गरेका छन्।’
साँखुका व्रतालुले जस्तै यहाँका व्रतालुले पनि भक्तपुर नगरका विशेष गरी नारायण मन्दिरमा गइ पूजाआजा गर्नुपर्छ। यहाँका व्रतालु परदेश यात्राको लागि काठमाडौंको पशुपति र काभ्रेको पनौतीसम्म पुग्छन्। त्यस्तै भक्तपुर दरबार क्षेत्रस्थित तलेजुकहाँ पनि परदेश यात्रा गर्छन्।
साँखुको शालीनदीमा व्रत बस्नेहरु पनि परदेश यात्राको क्रममा पशुपतिनाथ, फर्पिङ, काभ्रेको पनौती र भक्तपुरको चाँगुनारायण पुग्छन्।