शान्त कुमालेको ‘क्रोधमूर्ति’
काठमाडौं : सातदोबाटोदेखि गोदावरी जाने रुटमा पर्छ, कर्मनाशा पुल। पुलको दाहिने छेउको गल्ली पछ्याएपछि दुई मिनेटमै पुगिन्छ मूर्तिकार कालु कुमालेको घर। जहाँ ८८ वर्षे कुमाल विभिन्न मूर्ति बनाइरहेका भेटिन्छन्। कुमालेका क्रोधमूर्ति आफैंमा नौलो प्रयोग हो। उनको घरभित्र पस्नासाथ उनले बनाएका कलाकृतिले स्वागत गर्छन्।
कतै बुद्धको मूर्ति सजाइएको छ त कतै रिसाएको भैरवको। उनका मूर्तिको समान विशेषता हो क्रोध। उनका छोरा राकेशले हाँस्दै सुनाए, ‘बुवाले बनाएको बुद्धको मूर्तिमा समेत रिसाएको अनुहार देखिन्छ। रिसाएको अनुहार नै उहाँको विशेषता हा।’ केही माटाका, केही मैनका त धेरैजसो मूर्ति धातुबाट बनाउने गर्छन् कालु। कतै टुटेका तामाका टुक्रा, कतै पानीमा डुबाइएका मूर्ति उनका घरमा रहेको कारखानाका सदावहार दृश्य हुन्।
मेघसम्वर, बज्रयोगिनी, कालभैरव, अजिमा, मञ्जु श्री आदि उनले बनाएका प्रसिद्ध मूर्ति हुन्। स्वयम्भूको बज्रयोगिनीको मूर्ति, बौद्धको सामतेलिङ गुम्बाको महांकाल, कपनको मेघसम्बर मण्डला, फर्पिङको बज्रपाणि बोधिसत्वलगायतका मूर्तिहरू उनका राम्रा मूर्तिमा पर्छन्। कालु आर्ट्स एन्ड ह्यान्डिक्राप्ट प्रालि लेखिएको स्टुडियोमा उनका मूर्ति प्रदर्शनमा छन्। जहाँ मूर्ति बनाउने प्रक्रिया पनि देखाइएको छ।
रिसाएका भगवान्का बीचमा कहीँ कतै शान्त बुद्धको मूर्ति पनि देख्न सकिन्छ। कतै बौद्ध लामाको आकृति छन् त कतै नेवारी समुदायको परम्परागत क्रोधमूर्ति। उनको मूर्ति कारखाना घुम्दा यस्तो लाग्छ, उनको घर नै विशाल संग्रहालय हो। जहा दुई दर्जन कामदारहरू प्रत्यक्ष, अप्रत्यक्ष मूर्ति बनाउने कर्ममा सक्रिय रहन्छन्।
कालुका बुवाले माटोको भाँडा बनाउथे। पाटनमा रातो मच्छिन्द्रनाथको जात्रा सुरु हुनुअघि जात्रामा चाहिने माटोको भाँडा बनाउने काम उनीहरूको थियो। उनी बाबाआमाले माटोमा काम गरेको देखेरै हुर्किएका हुन्। बाल्यकालमा एक दिन कालुलाई खेल्न भनी उनका बुवाले गिलो माटोको डल्ला दिए। त्यही डल्लोलाई उनले कहिले फूलको आकार दिन्थे त कहिले जनावर त कहिले चराको सुन्दर आकृतिमा ढाल्थे। यसरी उनमा चित्रकारिताको चस्का बढ्दै गयो। उनले बनाएका माटोका खेलौनाहरू साथीहरूले यसै लाने गर्थे। कसैले घरमा लगेर रङ लगाउथे र पसलमा बेच्थे।
निम्नवर्गीय परिवारमा जन्मिएका कालु कुमाले सामान्य साक्षर मात्रै छन्। पढाएबापत गुरुलाई दिनुपर्ने १० रुपैयाँ नभएका कारण उनले पढाइ छाड्नु पर्यो। मूर्ति बनाएर घर परिवार पाल्न सक्ने माहोल बनिसकेको थिएन। जीवन निर्वाहकै लागि कालुले घर बनाउने मिस्त्रीदेखि परालका चकटी बनाउने काम गरे।
कालु किशोर वयमा छँदा एकदिन उनलाई खोज्दै एक पसले उनको घर आइपुगे, उनी थिए पञ्चरत्न शाक्य। शाक्यले नै कालुलाई जान्ने मान्छेसँग सिकेर मूर्ति बनायो भने यसबाट पनि आम्दानी गर्न सकिन्छ भनेर बताए। त्यसपछि उनी त्यतिबेलाका चर्चित मूर्तिकार चिरीकाजीसँग केही दिन मूर्ति बनाउन सिके। त्यसपछि उनको जीवन फेरियो।
क्रोधमूर्ति बनाएर देश विदेशमा चर्चा कमाएका कुमाले नेपाली भाषा भने उति साह्रो बुझ्दैनन्। उनीसँग कुरा गर्न उनका छोरा राकेश अवालेले दोभाषेको काम गरे। प्रश्न गर्नासाथ उनी शान्त देखिन्थे, सोचमग्न हुँदै नेवारी भाषामा जवाफ दिन्थे। राजेशले मुस्कुराउँदै नेवारीबाट नेपालीमा उल्था गरेर सुनाउँथे।
कालु कुमाले युवावस्थामा पाटनमै बसेर मूर्ति बनाइरहन्थे। उनको हातमा परेको माटोको डल्ला होस् कि मैनको लेदो वा तामाकै टुक्रा किन नहोस् कलात्मक आकारमा मूर्तिमा बदलिन्थ्यो।
करिव ७० वर्षअघि तिब्बतमा राजनैतिक द्वन्द्व चर्किएको थियो। दलाई लामाका अनुयायीहरू तिब्बतबाट भागेर शरणार्थीको रूपमा नेपालमा शरण लिइरहेका थिए। उनीहरू आफ्नो देश छाड्दा आफूले पुज्ने गरेको भगवान्को मूर्तिसँगै लिएर आए। नेपाल आइपुग्दा ती मूर्तिको कुनैको हात भाच्चिएको थियो त कुनैको शिर नै थिएन। पाटनका मूर्ति व्यापारी संघरत्न शाक्यको सहयोगमा ती मूर्तिलाई पुनर्निर्माण गर्ने काम कालु कुमालेको जिम्मामा आइपुग्यो।
बौद्ध धर्मको सेक्रेट गडका रूपमा पुजिने यी मूर्तिका अधिकांश अनुहार रिसाएका, क्रोध शैलीमा थिए। कालु यी मूर्तिहरूबाट प्रभावित भए। अन्ततः उनले जीवनभर यही शैली पछ्याउँदै हजारौ मूर्ति बनाए। उनका अनुसार हरेक समुदायमा गुह्य देवता वा सेक्रेट गड हुन्छन्। आराध्यदेवको रूपमा यिनीहरूको पूजा हुन्छ। हामीले हेर्न मिल्दैन। विशेष दीक्षा प्राप्त गरेकाले मात्रै यस्ता देवतालाई हेर्न र पूजा गर्न पाउँछन्। यी देवताले सम्पूर्ण समुदाय र भगवान्को रक्षा गर्छन् भन्ने मान्यता छ।
नेवारी समुदायको सेक्रेट गडका रूपमा भयंकररूपी रौद्रभावको भैरवलाई पूजा गरिन्छ।
पाटनमा कात्तिकमा अष्टमात्रिकाको नाच हुन्छ। नाचमा देखाइने भैरव र वाराहीको रूप उनलाई खुब मन पथ्र्यो। फुर्सदको समय भैरव र वाराहीलाई मूर्तिमा आकार दिन्थे। कालुले जीवनभर क्रोधमूर्तिलाई नै आफ्नो पेसा बनाए। कहिले बज्रपाणि देवता बनाए त कहिले महिषसंवरको मूर्ति बनाए। धर्ममाथि धावा बोल्न कोही आएका मन्दिर र धर्मको रक्षार्थ खटिएका यस्ता क्रोधमूर्तिहरू साक्षात् रूपमा प्रकट हुन्छन् भन्ने मान्यता छ।
कालुले बनाएका अधिकांश मूर्ति गुम्बा, चैत्य, मन्दिरमा सजाइएको छ। गुम्बामा लामाहरूले पूजा गर्ने गोप्य कक्षमा यी मूर्ति स्थापित छन्। क्रोधमूर्तिमा लुकको दर्शन र धार्मिक मान्यता बेग्लै छ। कुमाले एक पटक सुनेको वा देखेकै भरमा भीमकाय शरीर भएका मूर्ति बनाउन सक्छन्। नेपाली मूर्तिकलाको क्षेत्रमा क्रोधमूर्तिका पर्याय बनेका कुमाले दक्ष र अग्रज मूर्तिकार हुन्।