अब रानाथारूलाई अलग्गै पहिचान

अब रानाथारूलाई अलग्गै पहिचान

काठमाडौं : सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको रानाथारु समुदायलाई सरकारले अलग्गै पहिचान दिने निर्णय गरेको छ। दुई दशकदेखिको संघर्षपछि वर्तमान सरकारले रानाथारु समुदायलाई आदिवासी जनजातिका रूपमा अलग्गै पहिचान दिने निर्णय गरेको हो। बिहीबार (भोलि) सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गर्दा कैलाली र कञ्चनपुरमा दिपावली मनाउने तयारी गरिएको छ।

माघ २० गतेको मन्त्रिपरिषद् बैठकले रानाथारुको मागका आधारमा आदिवासी जनजातिको पहिचान दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयले रानाथारुलाई आदिवासी जनजातिमा सूचीकृत गरेको नेकपा नेता तथा प्रतिनिधिसभा सांसद नारमुनि रानाथारुले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। ‘२०५६ सालमा नै हामीले आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेका थियौं, तर त्यसबेला छुट्न पुग्यो,’ सांसद् रानाथारुले भने, ‘दुई दशकदेखिको संघर्ष अहिले आएर पूरा भएको छ। संख्या थोरै भए पनि हाम्रो पहिचान सरकारले सुरक्षित गरेको छ।’

यसअघिसम्म ५९ वटा आदिवासी जनजाति सूचीकृत भएकोमा अब रानाथारु पनि थपेर नेपालमा जग्गा ६० वटा आदिवासी जनजाति सूचीकृत भएका छन्। सांसद् रानाथारुले भने, ‘हाम्रो समुदायको माग पनि यही नै थियो, चुनावमा पनि जनताले रानाथारुको पहिचान स्थापीत गराउनकै लागि भोट दिएका थिए। जे होस ढिलै भए पनि सरकारले हाम्रो माग सुनेको छ। हाम्रो अलग्गै पहिचान स्थापीत भएको छ।’

कैलाली क्षेत्र नम्बर-५ बाट निर्वाचित नारमुनि रानाथारु यस समूदायबाट संघीय संसदमा एक्ला प्रतिनिधि हुन्। नेपालमै रानाथारुको बसोबास कैलाली र कञ्नपुरमा मात्रै छ। करिब साढे ३ लाख जनसंख्या रहेको यो समुदायलाई यसअघि अन्य थारु समुदायमै सूचीकृत गरेको थियो। तर अन्य थारुसँग कुनै पनि संस्कार, संस्कृति नमिल्ने र आफूहरुको पहिचान छुट्टै भएको भन्दै लामो समयदेखि पहिचान दिलाउन आन्दोलनरत थिए। 
विसं २०६८ को राष्ट्रिय जनगणनामा रानाथारुसहित गणना गर्दा हाल थारु समुदाय कूल १७ लाख ३७ हजार ४७० (जनसंख्याको ६ दशमलव ६ प्रतिशत) मानिएको छ।

‘सञ्चारमन्त्रीले यहाँ निर्णय सार्वजनिक गर्नुहुनेछ, त्यहाँ हाम्रो समुदायको बसोबास रहेका १३४ गाउँमा आफ्नो पहिचान पाएको अवसरमा दिपावली मनाइनेछ’, सांसद् रानाथारुले भने। विसं २०६४ मा डा. ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले रानाथारुसहित १० जातिको अध्ययन गरी सूची परिमार्जनका लागि सुझाव दिए पनि सरकारले हालसम्म यसबारे निर्णय गरेको थिएन।

यस्तै, विसं २०४३ मा तत्कालीन राजा वीरेन्द्रले पञ्चायती सरकारका भूमिसुधारमन्त्री लबरु रानालाई रानाथारुको पहिचान दिएपछि रानाबाट रानाथारु भएको बताइन्छ। तत्कालीन राजाले मन्त्रिपरिष्दमा रहेका दुई राना मन्त्रीलाई कुन राना भन्ने अन्योल भएकाले लबरुलाई रानाथारु भनि सम्बोधन गरेकोले आफूहरुको पहिचान नै रानाथारु भएको नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए।

इथ्नोलग डटकमले सन् २००६ मा गरेको अध्ययन गरेअनुसार नेपालमा तीन लाख ३६ हजार रानाथारुको जनसंख्या छ भने राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी) को प्रतिवेदन, २०१४ मा सो समुदायको जनसंख्या तीन लाख ६० हजार रहेको जनाइएको थियो। रानाथारुका भाषाविज्ञ कमलसिंह रानाथारुका अनुसार पाठ्यक्रम विकास केन्द्रले उक्त भाषाको कक्षा १ देखि ३ सम्मको मातृभाषाको पाठ्यक्रम तयार गरिसकेको छ। ‘हाम्रो भाषामा वर्ण निर्धारणसमेत भइसकेको छ, जसमा ६ स्वर र तीस वर्ण छन्,’ मलसिंह रानाथारुले भने।

गत कात्तिकमा नै भाषा आयोगले रानाथारुसहित ६ भाषा सूचीकृत गरेको थियो। उनले थारु र रानाथारुबीच जन्मेदेखि मृत्युसम्मका सबै संस्कारमा भिन्नता रहेकाले पनि आफूले सरकारसँग भिन्नै पहिचानको माग गर्दै आएको बताए। नेपालमा धेरै लामो समयसम्म होली पर्व रानाथारु समुदायले नै मनाउँछन्। होलीका दहनअघिको एक महिना र दहनपछिको ८ दिन गरी जम्मा ३८ दिनसम्म होली पर्व मनाउँदै आएका छन्। रानाथारुभित्रका पनि १६ वटा उपजाति रहेको समाजका अध्यक्ष कृपाराम रानाले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.