भान्सेमा समावेशी कहिले ?

भान्सेमा समावेशी कहिले ?

‘सधैं हतार–हतार। फुर्सद एकछिन हुँदैन। अफिसको भन्दा बढी घरको कामले बेफुर्सदिलो बनाउने रहेछ। भान्सामा अरूले सहयोग गर्ने भए त मैले पनि सक्थें नि पीएचडी गर्न।’ सरकारी अफिसमा अधिकृत तहमा काम गर्ने एक महिला साथीको भनाइ हो यो। पैसा पनि कमाउनुपर्ने घरको यावत् काम सबै मैले नै गर्नुपर्ने, कति अचाक्ली हो। श्रीमान् महोदय उज्यालो भएदेखि अँध्यारो हुने बेलासम्म सिद्धान्तकै कुरा गर्न व्यस्त छन्। एउटा एनजीओमा काम गर्ने अर्की महिला साथीको दुखेसो हो यो। हुन पनि हो हिजोआज आयआर्जन गर्ने र आत्मनिर्भर हुने काममा महिलाको उपस्थिति बढ्न थालेको छ। महिला शिक्षित हुने क्रम र उनीहरूको जीवनस्तरमा पनि सुधार आउन थालेको छ तर घरको र भान्साकोठाका काममा भने महिलाले फुर्सद पाउने अवस्था पटक्कै सिर्जना हुन सकेको छैन।

महिलामैत्री कानुन निर्माण भएको छ। अंश र वंशमा महिला समान हुने कुरा भइरहेका छन्। जताततै महिलामैत्री आवाज बुलन्द हुँदा पनि किन भान्साकोठामा महिला मात्रै हुन्छन् ? खाना बनाउने, बालबालिकाको हेरविचार गर्ने, घरमा आउने पाहुनाको सेवा र सत्कार गर्ने काम महिलाको मात्रै हो भनेर कुन कानुनमा उल्लेख छ ? भान्साकोठाको कामलाई महिलाले गर्ने कामको पर्यायवाचीको रूपमा किन देखिन्छ ? महिला र पुरुषमध्ये जसलाई बढी फुर्सद छ, उसैले घरभित्रका सानातिना काम गर्न आजको युगमा रोकेको छ र ? आपूmले सक्ने काम गर्दा कोही पनि सानो हुँदैन भन्ने सोच कहिले विकास होला पुरुषमा ?

भान्साकोठा भन्नेबित्तिकै हाम्रो दिमागमा पुस्तौंपुस्ता अगाडिका हजुरआमाको सम्झना ताजा भइहाल्छ। सबैका हजुरआमाले पकाएको खाना मीठो हुन्थ्यो। सबैका आमा, भाउजू, माइजू, दिदीबहिनी नै हुन् सधैं भान्सामा भिडिरहने। हजुरबुवाले खाना पकाउनुहुन्छ हामीले कहिल्यै पढिएन। हामीले पढ्ने पाठ्यपुस्तकमै आमाले खाना पकाउनुहुन्छ भन्ने पढियो, त्यही सिकियो। आफ्ना बाबाले पकाएको खानेकुरा खाने रहर कहिल्यै लाएन। भाउजूले घरको सबै काम गरेर अरूलाई जागिरे बनाउँदा पनि उहाँलाई सधैं बेरोजगार मानियो। समस्त महिलाले सकिनसकी गर्ने घरको कामलाई काम हो भन्ने मानसिकता पनि विकास भएको छैन।

आजको शिक्षित समाजले पनि घरभित्रको काम गर्न महिलालाई ‘हाउस वाइफ’ को रूपमा मात्र देख्छ। पुरुषले घरबाहिर गएर जे गरे पनि काम गरेको भन्ने तर महिलाले घरभित्रका काम गरेर घरलाई सुन्दर घर बनाउँदा पनि काम गरेकै नदेख्ने हाम्रा आँखामा कुन रोग लागेको छ ? समावेशी कानुन बनाउने तर घरभित्रका काममा महिलाकै पेवा बनाइरहेर कस्तो उन्नति गर्लान् महिलाले ? सिद्धान्तमा समान हुने तर व्यावहारिकतामा कहीं पनि अवसर नै नपाई कसरी समान होलान् महिला ?

सबै कुरामा बराबरी गराउन सर्वप्रथम दुवैलाई समान अवसर दिन सक्नुपर्छ। छोरालाई खाएको थालका चुठेर पढ्न अवसर दिने हाम्रो समाजले छोरीलाई खाना बनाएर मात्रै समय बच्यो भने पढ् भन्ने हो भने दुवैले बराबरी प्रगति गर्न सक्लान् त ? जबसम्म घरभित्र गर्नुपर्ने सबै काममा महिला र पुरुषको समान सहभागिता गराइँदैन तबसम्म महिलाको सशक्तीकरण अगाडि बढ्न सक्दैन।

हाम्रो समाजमा अहिले पनि भन्ने, सुन्ने र अनि व्यवहारमा गर्ने कुरामा निकै अन्तर छ। समान तहमा समान काम गर्ने जोडीबीचमा पतिको काम आफ्नो ड्युटी सकेपछि पढ्ने, खेल्ने, साथीहरूसँग गफ गर्ने, समाचार हेर्ने, अनलाइनमा व्यस्त हुने आदि हुन्छ भने उसले बराबर जागिरको काम गरेकी पत्नीले आफ्नो घरपरिवार र छोराछोरीको हेरविचार गर्नकै लागि कार्यालयको समयभन्दा बढी समय खट्नुपर्छ। तीतो सत्य के हो भने भान्साकोठामा एक्लै भिड्नुपर्ने अहिलेसम्मकै सामाजिक बाध्यताले धेरै महिलालाई माथि उठ्न दिएको छैन। मनभित्रै अदम्य साहस, जोस जाँगर र हिम्मत हुँदा पनि भान्साकोठाकै कामले जीवन समाप्त पारिदिन्छ।

भान्साकोठा समावेशी हुने व्यावहारिक कानुन कहिले बन्ला ? समावेशी कानुनले जबर्जस्ती निर्माण गरेका महिलाको संख्यात्मक प्रतिनिधित्वले गुणात्मक फट्को कहिले मार्ला ? समान क्षमता र रहर हुँदा पनि भान्साकोठाले भत्काएका रहरलाई पतिको मृत्युपछि मात्र सहानुभूतिको कारणले अगाडि बढ्ने अवसर पाएका दुईजना विद्याजस्तै हाम्रो समाजमा तमाम विद्या छन्। उनीहरूले आफ्नै घर परिवारको पूर्णरूपमा सहयोग पाएर अगाडि बढ्ने वातावरण कहिले सिर्जना गर्ने ? पुरुषलाई सरह समान अवसर पाउने हो भने हामीलाई सहानुभूति आवश्यक पर्दैन भनेर कहिले होला देखाउने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.